
- पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न सुरक्षा निकायका प्रमुखले असहमति जनाएका छन्।
- प्रधानमन्त्री कार्कीले चारवटै सुरक्षा निकायको बैठकमा नेताहरूलाई पक्राउको विषयमा अदालती कारबाहीको महत्वमा जोड दिए।
- सुरक्षा निकायका प्रमुखहरूले छानबिन आयोगको प्रतिवेदनका आधारमा मात्र कदम चाल्न सुझाव दिएका छन्।
काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीसहित तीन सुरक्षा निकायका प्रमुखले असहमति जनाएका छन्।
सोमबार राति बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको चारवटै सुरक्षा प्रमुखहरुको बैठकमा ओली र लेखकलाई पक्राउ गर्ने विषयमा गम्भीर ढंगले छलफल भएको थियो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए।
छलफलमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले उनीहरुलाई पक्राउ गर्ने विषयमा प्रष्ट भाषामा विमति राखेको विश्वस्त स्रोतले जानकारी दियो।
आफूलाई जेनजीको प्रतिनिधिका रुपमा प्रस्तुत गरिरहेका सुधन गुरुङसहित व्यक्तिहरुले सोमबार काठमाडौँ प्रहरी परिसर पुगेर ओली लेखकविरुद्ध भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा युवाहरुको हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराउन खोजेका थिए। प्रहरीले जाहेरी दर्ता नगरी फर्काएपछि गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललाई जाहेर दर्ता गरेर पक्राउ गर्न चर्को दबाब दिएका थिए।
गुरुङ नेतृत्वको समूह मंगलबार पनि परिसर पुगेर जोहरी दर्ताका लागि दबाब दिइरहेको छ।
दबाब थेग्न नसकेपछि राति प्रधानमन्त्री कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव दंगाल, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख चन्दकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसहितको बैठक राखेकी हुन्। बैठकमा चारवटै सुरक्षा निकायका दोस्रो तहका अधिकारीहरु समेत सहभागी भएको स्रोतले बतायो।
बैठकमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले जेनजीको मागअनुसार ओली-लेखकलाई कसरी पक्राउ गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। स्रोतका अनुसार बैठकमा नेताहरुलाई पक्राउ गर्ने विषयमा प्रधानसेनापति सिग्देलले ठोस धारणा राखेनन्। उनले पक्राउ गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा मौन बसेको एक अधिकारीले बताए।
तरऽ प्रहरी प्रमुख खापुङ, सशस्त्र प्रहरी प्रमुख अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र काकीले भने प्रष्ट भाषामा ओली लेखकलाई पक्राउ गर्दा परिस्थिति थप जटिल बन्ने, चुनावी वातावरण बिग्रने भएकाले छानबिन आयोगको प्रतिवेदनका आधारमा मात्रै अघि बढ्नु पर्ने धारणा राखेका थिए। तीन मध्ये पनि खापुङ चर्को रुपमा नेताहरुलाई पक्राउ गर्ने प्रस्तावको विक्षमा उभिएका थिए।
उनले अहिले ओली-लेखकलाई पक्राउ गर्दा अरु व्यक्तिहरुमाथि पनि जाहेरी पर्ने र त्यस्तो अवस्थामा पक्राउ गर्ने कि नगर्ने भनेर सोधेका थिए।
उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले हामीले उहाँहरुलाई पक्राउ गर्दा भोलि प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूविरुद्ध पनि जाहेर आउन सक्छ। त्यस्तो अवस्थामा के गर्ने?’
महानिरीक्षक खापुङले जेनजी आन्दोलनमा दमन हुँदा आफू पनि पदमा रहेकाले ‘मविरुद्ध जाहेरी परे के गर्ने’ भनेर समेत प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग प्रतिप्रश्न गरेका थिए।
खापुङ, अर्याल र कार्की तीनै जनाले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनका आधारमा पूर्ववर्ती सरकारका पदाधिकारीमाथि कारबाही अघि बढाउँदा उपयुक्त हुने सुझाव राखेको बालुवाटार स्रोतले बतायो।
सुरक्षा निकायका अधिकारीहरुले नै साथ नदिएपछि तत्कालका लागि प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल ओली-लेखकलाई नियन्त्रणमा लिने कामबाट पछि हटेका छन्। तर, उनीहरुमाथि जेनजीको एउटा समूहले तत्काल पक्राउ गर्न दबाब दिइरहेको छ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भएको छ भने अबौैँको सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त पारिएको छ।