
- जापानको सुपरमार्केट र अन्य क्षेत्रमा भालुको आक्रमणबाट दुई जना घाइते भएका र एक जनाको मृत्यु भएको छ ।
- घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तनका कारण जापानका आवासीय क्षेत्रमा जङ्गली भालुहरू बढेका छन् ।
- अप्रिल देखि सेप्टेम्बरसम्म जापानमा भालु आक्रमणमा १०८ जना घाइते र पाँच जनाको मृत्यु भएको छ ।
जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिस घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेको अधिकारीहरूका साथै मिडिया रिपोर्टहरूले बुधबार जनाएका छन् ।
पछिल्लो समयमा जापानका आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारकहरूका कारण अत्यधिक जङ्गली भालुहरू देखिएका छन् ।
सार्वजनिक प्रसारणकर्ता एन. एच. के.–ले प्रहरीलार्ई उद्धृत गर्दै अर्को छुट्टै भालु आक्रमण परी उत्तरी इवाटे क्षेत्रको पाहाडमा बुधबार एकजना मानिस मृत फेला परेको जनाएको छ ।
सुपरमार्केट पाहाडी क्षेत्रको नजिक भए पनि यस अघि कहिल्यै भालुहरू यसरी मानिस नजिक नआएको किराना पसल सङ्घका व्यवस्थापन योजना अधिकारी हिरोशी होरिकावालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
भालु पसलको मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गरी लगभग चार मिनेट भित्रै आक्रमण गरेको उनले जनाएका छन् ।
पसलका सञ्चालकले स्थानीय मिडियालाई बताए अनुसार त्यस समयमा करिब ३० देखि ४० जना ग्राहक भित्र भएका कारण बाहिर निस्कन गाह्रो भएकाले भालु धेरै आक्रोशित भएको थियो ।
वातावरण मन्त्रालयका अनुसार जापानमा अप्रिल र सेप्टेम्बरको बिचमा राष्ट्रव्यापी रुपमा १०८ जना मानिसहरू भालुको आक्रमणका कारण घाइते भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो ।
मङ्गलबार पनि, इवाटे क्षेत्रका एक किसानलाई उनकै घर बाहिर एउटा बच्चासहित भालुले आक्रमण गरेको जनाइएको छ । मध्यजापानको सुन्दर शिराकावा–गो गाउँको बस स्टपमा आइतबार एक स्पेनी पर्यटकलाई भालुले आक्रमण गरेको थियो ।