मोरङ – केही महिनाअघि ‘ए’ डिभिजनमा स्तरोन्नती भएको काठमाडौँको प्लानिङ ब्वाइज युनाइटेड मोरङको बेलबारीमा जारी मेजर स्वर्गीय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
बेलबारीको लक्ष्मीमार्गस्थित खेल मैदानमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा धनकुटा राजारानीको रारा फुटबल क्लबलाई १–० ले पराजित गर्दै प्लानिङले अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफमा थप गरिएको दुई मिनेटको अतिरिक्त समयमा प्लानिङले गोल गरेको थियो।
प्लानिङका लागि खेलको ४७ औँ मिनेटमा सविन लुङ्गेलीले गोल गरेका थिए। सोही गोल नै प्लानिङको जितका लागि निर्णायक बनेको थियो।
जित हात पारेको प्लानिङले अब बिहीबार हुने सेमिफाइनलमा आयोजक एलएक्स सिटी फुटबल क्लबको सामना गर्नेछ।
गोल्डकपअन्तर्गत बुधबार हुने अन्तिम क्वार्टरफाइनलमा साविक उपविजेता सिरहाको सहलेश युथ क्लबले ‘ए’ डिभिजन लिग विजेता क्लब चर्च ब्वाइज युनाइटेडको सामना गर्ने गोल्डकप आयोजक क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए।
अध्यक्ष राईका अनुसार गोल्डकप विजेता क्लबले आठ लाख रुपैयाँसहित रनिङ शिल्ड र उपविजेता हुने क्लबले चार लाख रूपैयाँसहित पुरस्कार हात पार्नेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































