‘दाजुभाइको दीर्घायुको कामनाले मात्रै हुन्न, फूल पनि स्वस्थ हुनुपर्छ’ (फोटो/भिडियो)

+
-

पोखरा – ढकमक्क फूलेका सयपत्री टिप्दै डालोमा राख्दै। उनलाई निकै हतारो छ टिपेर बजार पुर्‍याउन। कोहीले फोन गरेर मगाएका छन् त कोही बारीमै लिन आउँछन्। खेती किसानीको चाजोपाँजो मिलाउँदा उनलाई सकस छ।

कात्तिकको पहिलो हप्तामै परेको तिहारले उनलाई मंसिरको चटारो महशुस गराएको छ। ‘मंसिर लागेको हेर्नु न। धान थन्क्याउने यही बेला। तिहार पनि यही बेलामा भयो’, फूल टिप्दै गरेकी मञ्जु श्रेष्ठले सुनाइन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जु श्रेष्ठले तिहारलाई लक्षित गर्दै दुई रोपनी खेतमा सयपत्री लगाएकी थिइन्। दसैँलगत्तै ढकमक्क फूल्न थाले। तिहार भित्रिएसँगै उनलाई फूल टिपेर ग्राहकसमक्ष पुर्‍याउन हम्मे परेको छ। बजारको समस्या नभएको उनी बताउँछिन्।

‘ग्राहक आइरहनुभएको छ। मगाइरहनुभएको छ। बजारको समस्या छैन। यही बेला धान थन्क्याउने चटारो छ पो। फूल टिपेर पुर्‍याउन धौ भयो’, उनले भनिन्।

मञ्जुले लगाएको सयपत्री फूलको माग धेरै हुनुको कारण हो, रासायानिक विषादी र मलरहित फूलाउनु। उनले घरमै बनाइएको जैविक मल र झारपातको समिश्रण मिलाएर बनाइएको झोल मल प्रयोग गर्छिन। मानव स्वास्थ्यलाई असर नगर्ने गरी कृषि कर्म गर्नुपर्ने उनको तर्क छ। त्यसैमाथि तिहारमा दाजुभाइको दीर्घायुको कामना गर्दै लगाइदिने सयपत्री स्वच्छ र स्वस्थ हुनुपर्ने उनी बताउँछिन्।

‘तिहारमा त दाजुभाइको सु–स्वाथ्यको कामना गर्ने। धनकी देवी लक्ष्मीको पूजा गर्ने हो। यो बेला त स्वस्थ, अर्गानिक फूलहरु प्रयोग गर्नुपर्छ’, मञ्जु भन्छिन्, ‘भाइकै दीर्घायुको लागि पनि स्वच्छ फूल गलामा लगाइदिएम् भने पो भाइ स्वस्थ हुन्छ। बाहिरबाट ल्याएको विषादी हालेको फूलहरु प्रयोग गर्‍यौँ भने मनले कामना गरेर मात्रै हुन्छ र!’

तिहारमा दाजुभाइलाई लगाइदिने माला खरिद गर्नुको सट्टामा घरमै फूलाएर लगाइदिनुपर्ने उनको तर्क छ। घरमै फूलाउन सम्भव नभए स्थानीय उत्पादन, रासायनिक मल र विषादीरहित तवरले उत्पादन गरेको मात्रै प्रयोग गर्न मञ्जुले सुझाइन्।

‘हुन त अहिले फेसन नै छ आमाबुवाले पनि छोराछोरीलाई माया गरेको देखाउन बजारका जंकफुड दिने गाउँघरका रैथाने खान्कीलाई हेला गर्ने। गाउँघरमै उत्पादन गरेको रैथाने खानपान दिए पो स्वास्थ्यको हिसाबले माया गरेको भो’, उनले भनिन्।

५ वर्षदेखि मञ्जुले व्यावसायिक तवरले फूल खेती गरिरहेकी छन्। यो वर्ष १ लाख रुपैयाँ मुनाफा हुने उनको अनुमान छ। तिहार लागेपछि मञ्जुले फूलको थुंगाको ५ रुपैयाँ र किलोको ४०० रुपैयाँमा बिक्री गरेकी छन्। ५ हजार रुपैयाँको बिउ मगाएर बेर्ना जमाएकी उनले बेर्ना बिक्रीबाट मात्रै १० हजार रुपैयाँ आम्दानी गरेको बताइन्।

बेर्ना जमाउनेदेखि बजार पुर्‍याउनसम्म आफैं मेहनत गर्ने मञ्जुलाई न अनुदानको लोभ छ न बजारमा नबिक्ला भन्ने पीर नै। उनको प्राथमिकतामा सधैं पर्छ स्थानीय बजार र ग्राहक।

उनले भनिन्, ‘बजारको समस्या छैन। स्थानीय बजारमै खपत हुन्छ फूल। टाढाटाढाबाट पनि अर्डर आ’को थियो। मैले स्थानीयलाई छोडेर टाढाका ग्राहलाई दिन्न कहिल्यै पनि।’

उनले थोक विक्रेताभन्दा सकभर खुद्रामा किन्ने ग्राहकलाई प्राथमिकता दिन्छिन्। त्यसो हुदाँ दुवैलाई फाइदा हुने उनको भनाइ छ। आफूले उत्पादन गरेको फूल बजारमा पुग्दा दोब्बर मूल्यमा बिक्री हुँदा उपभोक्ता मारमा पर्ने उनले बताइन्।

‘किसानले यत्रो दुःख गर्‍यो मूल्य त छैन नि हामीलाई। बजार पुग्नेबित्तिकै डबल हुन्छ यसको मूल्य। त्यसो हुदाँ स्थानीयलाई यहीँकै मूल्यमा बेच्दा ठीक जस्तो लाग्छ’, उनले भनिन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’