- मोरङमा छठ पर्वको पूर्वसन्ध्यामा आवश्यक सामानको मूल्य अत्यधिक महँगो भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्।
- सुनवर्षीबाट आएका सुनिल यादवले नरिवल, कुन्या, र ढाकीलगायतको मूल्य अत्यधिक बढेको बताएका छन्।
- सम्बन्धित निकायको ध्यान नजानुका कारण धेरै खरिददार भारतको जोगबनीतर्फ जान बाध्य भएको गुनासो छ।
मोरङ – तराई क्षेत्रमा विशेष गरी मनाइने छठ पर्वको पूर्वसन्ध्यामा पूजा गरिने सरसामान अत्यधिक महँगो भएको उपभोक्ताले गुनासो गरेका छन्।
आइतबार खर्नाबाट विशेष रुपमा सुरु हुने छठका लागि आवश्यक सामान खरिद गर्न विराटनगर बजार आएका सुनवर्षी नगरपालिकाका सुनिल यादवले बजार महँगो भएको बताए।
छठका लागि सुनवर्षीस्थित घर जाने योजनामा रहेका यादवले नरिवल, कुन्या, ढाकीलगायत सामानमा अत्यधिक मूल्य बढेको गुनासो गरेका छन्। उनका अनुसार बजारमा नरिवल प्रतिगोटा १ सयदेखि १ सय २० रुपैयाँसम्म ब्यापारीले दिँदै आएका छन्। त्यसैगरी, छठमा अत्यन्त आवश्यक हुने कुन्याको मूल्य पनि १ सय ५० भन्दा बढी रहेको उनको भनाइ छ।

तर, बजारमा छठका सामानमा भएको मूल्यवृद्धिप्रति सम्बन्धित निकायको ध्यान जान नसकेको उनको गुनासो छ। उनका अनुसार विराटनगर बजारमा मूल्य बढी भएपछि धेरै मानिस भारतको सीमा क्षेत्र जोगबनीतर्फ जाने गरेका छन्।
कन्चनरुप नगरपालिका घर भएका शंकर परिहस्तका अनुसार बजारमा एउटा ढाकीको मूल्य २ सय रुपैया बढि परेको छ। उनले भने, ‘केही दिनअघि लिँदा केही मूल्य सस्तो थियो। तर आज बजारमा सबैको मूल्य बढेको छ। सबैलाई यस्तै बेला कमाउने होड छ। यसबारे बोल्ने र समन्वय गर्ने कोही छैन।’
सोही क्रममा शनिबार व्रतालुले विधिवत् रुपमा नदी वा पोखरीमा नुहाएर अरुवा अर्बाइन भोजन गर्ने परम्परा रहेको उनले बताए। सूर्यदेवको आराधना गरी चार दिनसम्म छठ पूजा मनाइन्छ। बिहानदेखि बेलुकासम्म नै विराटनगर बजारमा छठका सामान खरिदका लागि सर्वसाधारणको घुइँचो बढेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































