- मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत–साधनबीच पनि योजनाहरूलाई प्रभावकारी बनाउन सरकारले प्रतिबद्धता देखाएको बताएका छन्।
- सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सरकार उच्च प्राथमिकता दिँदै योजनाहरू अघि बढाइरहेको छ।
- विकास निर्माणका कार्यहरूमा उनले दृढता देखाउँदै आगामी दिनहरूमा पनि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।
अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताएका छन्।
नेकपा (एमाले)ले सन्धिखर्क–५, वाङ्गलामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्रोत–साधनको सिमितताबीच पनि विकास योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।
‘हामी चाहन्छौं, जनताको आवश्यकता र समस्या छिटो समाधान होस्। तर साधन–स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन सकिरहेका छैनन्,’ उनले भने, ‘यद्यपि, थालनी भएका योजनाहरूलाई पूरा गर्ने लक्ष्यसहित सरकार निरन्तर लागिपरेको छ।’
मुख्यमन्त्री आचार्यका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ। उनले कुँडुले खानेपानी आयोजना कार्यान्वयन गरी पूरा गर्नेगरी सरकार अघि बढेको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिएका छन्।
‘विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म अलिकति पनि विचलित भएको छैन,’ उनले थपे, ‘विकास निर्माणकाे कामलाई अगाडि बढाउने सवालमा दृढताका साथ लागिरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहने छु।’
कार्यक्रममा एमालेका जिल्ला सदस्य शुष्मा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडे लगायतले सम्बोधन गरेका थिए। कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीले गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































