जनकपुरधाम – छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।
आस्था एवं निष्ठापूर्वक चार दिनसम्म मनाइने लोकपर्वको तेस्रो दिन आज जनकपुरधामसहित देशभर विभिन्न पोखरी, नदी, इनारलगायतका जलाशय भएका ठाउँमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको हो। उक्त अवसरमा जनकपुरधाममा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी भएका छन्।

शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा आएका गृहमन्त्री अर्याल गंगासागर छठ घाटमा सहभागी भएका हुन्।
छठ पर्वको मुख्य दिनको लागि एक हप्ता अगाडिदेखि जनकपुरधामसहितका यस क्षेत्रका पोखरीहरुलाई सजावट गरिएको थियो। पोखरी घाटहरुमा आज हजरौँको संख्यामा श्रद्धालु भक्तजनहरु पुगेका छन्।
अब छठको अन्तिम दिन भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा यस वर्षको लागि छठ पर्व सम्पन्न हुनेछ।

शनिबारदेखि सुरु भएको छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइनेछ।


भर्खरै
लोकप्रिय






































































































































































































