 
                            -  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै ७० भन्दा बढी बिरामीले दैनिक परामर्श प्राप्त गरिरहेका छन्।
 
-  स्थानीय विशेषज्ञ उपचार सेवा उपलब्ध भएकाले युरोलोजीसम्बन्धी शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरिएको छ।
 
- नयाँ सेवाले जिल्लाका बिरामीलाई बाहिर जानुपर्ने बाध्यता हटाएर उनीहरूलाई खुसी तुल्याएको छ।
दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सुरु भएपछि सेवा क्रमशः प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक डा. विवेक थापा, डा. पंकज नेपालीसहित नर्स तथा स्वास्थ्यकर्मीहरूको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
प्रतिष्ठानका अनुसार युरोलोजी ओपीडी (बाह्य बिरामी विभाग) मार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। गएको जेठदेखि असोज मसान्तसम्म २७७ जना बिरामीले युरोलोजी सेवा प्राप्त गरेका छन्।
यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो। तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ।
डा. खनियाका अनुसार १५७ जना मिर्गौलामा पत्थरी भएका बिरामीको जटिल प्रकृतिको शल्यक्रिया, २२ जनाको मध्यम स्तरको र ९९ जनाको सामान्य शल्यक्रिया सफलतापूर्वक गरिएको छ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाबको नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने डा. खनियाले जानकारी दिए। उनका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनदिनै बढ्दो क्रममा छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउँदै, स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू खुसी भएको जानकारी दिए।
डा. खनियाँ यसअघि लामो समयदेखि राप्ती प्रादेशिक अस्पतालमा युरोलोजी सेवा प्रदान गर्दै आएका अनुभवी चिकित्सक हुन्।

 
                                                                                                                     
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































