परान: परिवार, सम्बन्ध र सङ्घर्षको कथा

परान: परिवार, सम्बन्ध र सङ्घर्षको कथा
+
-
देशसञ्चार AI सारांश
  • धर्मनाथ कान्छा छोराबुहारी गाउँमै बसेकोमा गर्व गर्छन् र विदेश नजाने उपदेश दिन्छन्।
  • ‘परान’ सिनेमा पारिवारिक सम्बन्ध र संघर्षमा केन्द्रित भए पनि पटकथा केही कमजोर देखिन्छ।
  • फिल्ममा पात्रहरुको अनावश्यकता र कान्छो छोरोको डिभीमा आधारित ढाँचा थोरै अविश्वसनीय लाग्छ।

धर्मनाथ (नीर शाह) का तीन भाइ छोरा छन्। जेठो सन्तान अष्ट्रेलियाको सिड्नी बस्छ। माइलो छोरो लक्ष्मीनाथ (प्रविण खतिवडा) आफ्नी श्रीमती (केकी अधिकारी) र छोरोसँग काठमाडौँ बस्छ। कान्छो छोराबुहारी (महेश त्रिपाठी र अन्जना बराइली) बाआमासँगै गाउँमा बस्छन्। धर्मनाथ कान्छा छोराबुहारी गाउँमा भएकोमा खुसी छन्। कुखुरा पालन, गाईपालन गर्ने कान्छो छोरो र शिक्षिण पेशा गर्ने बुहारीप्रति धर्मनाथलाई गर्व छ। त्यसैले धर्मनाथ गाउँमा जो कोहीलाई विदेश नपठाउनु भन्ने अर्ती उपदेश दिन्छन्। गाउँमै केही न केही गर्न सुझाउँछन्। कान्छो छोरोप्रति अगाध विश्वास छ धर्मनाथलाई। उनलाई लाग्छ—कान्छोले मलाई केही लुकाउँदैन र कहिल्यै टाढ्दैन।

आफ्नो परान ठानेको छोरोले ढाँटेको थाहा पाएपछि धर्मनाथको जिन्दगीमा कस्तो मानसिक असर पर्ला? त्यस्तो के ढाँटेको होला छोरोले? यसका लागि चलचित्र ‘परान’ हेर्नै पर्छ। बाबुछोराको सम्बन्धको जगमा लेखिएको भावनात्मक पारिवारिक कथा हो, परान। सिनेमाको बलियो पक्ष संवाद हो, जसले दर्शकलाई गम्भीर बनाउँछ। कतिखेर रुवाउँछ पनि।

परानको कथा राम्रो हुँदा पनि पटकथा भड्कियो भन्न कुनै धक लाग्दैन। बाबु छाेराेकाे सम्बन्धमा आएकाे माेडले हरेकपटक रुवाउने कोसिस नगरेको होइन। रुवाएर मात्रै पनि सिनेमा पूर्ण पक्कै नहोला। सिनेमा आँसु मात्रै पनि हाेइन।

सन्तानका खातिर बा धर्मनाथाले कति घामपानी सहे भन्ने कुरा चलचित्र परानको दृष्यमा त देखिन्न तर संवादले स्पष्ट पार्ने कोसिस नगरेको भने होइन।

कार्तिक १४ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘परान’को मुख्य पात्र नीर शाह दमदार देखिएका छन्। उनीद्धारा निर्देशित चलचित्र ‘बासुदेव’पछि उनको अब्बल काम देख्न पाइन्छ ‘परान’मा। परानको हिरो नै शाह हुन्। उनले कतै भनेका छन्, ‘मैले चलचित्रमा धर्मनाथको भूमिका निर्वाह गरेको छु। यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ। मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ। यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ।’

नेपाली समाजकाे चित्रण पनि सही गरिदियाे भने चलचित्र हेर्नुकाे स्वादै फरक भइजान्छ। किनकि सिनेमा कथा मात्रै पनि होइन, कथामा आउने संघर्ष पनि होला। सिनेमा संवाद मात्रै नभएर प्रस्तूति पनि होला। परानको कथा राम्रो हुँदा पनि पटकथा भड्कियो भन्न कुनै धक लाग्दैन। बाबु छाेराेकाे सम्बन्धमा आएकाे माेडले हरेकपटक रुवाउने कोसिस नगरेको होइन। रुवाएर मात्रै पनि सिनेमा पूर्ण पक्कै नहोला। सिनेमा आँसु मात्रै पनि हाेइन।

पारनमा मुख्य पात्र धर्मनाथकोे उपस्थिति विराट छ तर संघर्ष कमजोर। बलिया—बलिया संवाद हुँदा पनि प्रस्तूति फितलो देखिन्छ। मेकरहरू ‘स—साना त्रुटि त दर्शकले पचाउँछन्’ भन्लान् । तर स्पष्ट देखिने त्रुटीलाई दर्शकले पचाउँदैनन् भन्ने हेक्का मेकरले बिर्सिनु हुँदैन कि!

बाका लागि सन्तान सबै बराबर हुन्। तर बाआमाले त्यो सन्तानलाई अलि बढी माया देखाउँछन् जुन छोरोमा केही कमी छ। जस्तै शारीरिक मानसिक अपाङ्ग या कुनै दुर्घटनाबाट बाँचेको होस्। अन्य थुप्रै परम्परागत सामाजिक कारण हुन सक्छ।

तर धर्मनाथ तीन भाइ छोरो मध्ये कान्छो छोरोलाई अत्यन्तै माया देखाउँछन्। जब कि तीन भाइ छोरा शारीरिक मानसिक रूपमा ठीकठाक छन्। धर्मनाथ मृत्युको अन्तिम घडीमा पनि कान्छो छोरोकै नाम लिन्छन्। त्यसरी नामै लिनु पर्ने कारण पाइन्न।

कान्छो छोराबुहारीबाट सन्तानको रहर गरेर भोटो र टोक्रो बनाउने हजुरबा हजुरआमाले सहरमा बस्ने माइलो छोरोको हुर्किएको सन्तानसँग एकपटक पनि संवाद गर्दैनन्। माइलोको सन्तान पनि त नाति हो।

अष्ट्रेलिया बस्ने जेठाे छोरोसँग बाको सम्बन्ध किन सुमधुर छैन? त्याे देखिँदैन। साथै अष्ट्रेलिया बस्ने जेठो छोरो र काठमाडौँमा बस्ने माइलो छोरोले आफ्नै भाइ कान्छोसँग बाको चिन्ता गर्दै उपचार गर्न भन्छन्। ती दुवैले बासँग आफैले फोन संवाद गर्दैनन्। जेठो र माइलाले एउटा मोबाइल किनेर बालाई दिनै नसक्ने अवस्थामा त थिएनन्। कान्छो छोरोले नै किनेर बाको खल्तीमा हाल्दिनु पर्थ्याे र?

कान्छाे छाेराे गोपालले नचाहेरै डिभी भरेको हुन्छ। अचानक एकदिन डिभी पर्छ। पोष्टरमा उसले बधाइ पाउँछ। पोष्टर टाँसेको घरकै गोठालेले देख्छ र घरमा बालाई कुरा लगाइदिन्छ। बाले बधाई पोष्टर देख्छन् र गुटमुटाएर कोटको खोल्तीमा हाल्छन्। कान्छो छोरोलाई डिभी परेको थाहा पाएर पनि मौन बस्दै उसलाई अमेरिका जाने पैसा खोज्दिने काम गर्छन्। तर डिभी परेपछि अमेरिका जाने तयारीमा कम्तीमा एक वर्ष लाग्छ। कान्छो छोरोले विदेश जाने बेला मोबाइल बाको कोटको खोल्तीमा हाल्दा बधाई पोष्टर निकाल्छ। अचम्म एक वर्षदेखि के त्यो कोट धोइएन?

देशको प्रतिष्ठित व्यापारिक समूह गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानी तथा साझेदारीमा स्थापित ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको फिल्म परानमा थुप्रै पात्रहरु अनावश्यक लादिएका छन्।

बुढेसकालका बाआमाले सन्तानलाई गाउँ फर्कियोस् भन्ने आस गर्छन्। फर्काउने कोसिस पनि गर्छन्। जब कोसिसहरू असफल हुन्छन् अनि बासँग निराश हुनुको विकल्प हुँदैन।

मदनकृष्णको भूमिका बलियो हुँदाहुँदै पनि विचमा छुट्छन्। केकी अधिकारीलाई दोस्रो सन्तानको तयारीमा लाग्न किन आवश्यक थियो? गाउँमा जमिन्दार भन्दा माथिकाे सामाजिक हैसियत भएका धर्मनाथले सहरलाई कत्ति बुझेका छैनन् जस्ताे गरियाे। जब कि तिनैका पुस्ना सबै भन्दा बढी सहर पसेका थिए।

गालामा लागेको भातको सिता टिप्ने बाको कथालाई सहरमा ल्याएर नलम्बाइदिएको भए हुन्थ्यो कि भन्ने लाग्छ।

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गर्न खोजिएको परानलाई टेलिश्रृंखलामा अभिनय र सांगीतिक श्रव्यदृश्य निर्देशनको अनुभव बटुलेका कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेको हुन्। उनकै कथा समेत रहेको परानमा टेलिश्रृंखलाको अनुभव कम लादेको भए हुन्थ्यो कि भन्ने लागिरहन्छ।

नेपाली समाज विस्तारै एक्लिदै गएको, गाउँ रित्तिदै गएकाे आजको तितो यथार्थ हो। चलचित्र ‘परान’ले आफ्ना सन्तानलाई गाउँ फर्किन आह्वान गर्छ। अर्थात बुढेसकालका बाआमाले सन्तानलाई गाउँ फर्कियोस् भन्ने आस गर्छन्। फर्काउने कोसिस पनि गर्छन्। जब कोसिसहरू असफल हुन्छन् अनि बासँग निराश हुनुको विकल्प हुँदैन।

अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’