- मीना देउवाको पाँच गोलको मद्दतले नेपाल पुलिस क्लबले खेलको ठुलो अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश गर्यो।
- पुलिस क्लबको दोस्रो हाफमा सात गोल गर्दै चर्च ब्वाइज युनाइटेडलाई ८–० को पराजय भोग्नु पर्यो।
- गोल्डकपका विजेताले १० लाख १० हजार रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ।
मोरङ – मीना देउवाको पाँच गोलसहित नेपाल पुलिस क्लबले झापाको शिवसताक्षी नगरपालिकामा सुरु भएको झापा महिला गोल्डकपमा सुखद सुरुवात गरेको छ।
सोमबारबाट सुरु भएको गोल्डकपको उद्घाटन खेलमा देउवाको पाँच गोलसहित जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको पुलिस क्लबले काठमाडौंको चर्च ब्वाइज युनाइटेडलाई ८ शून्यले स्तब्ध बनाएको छ।
यस क्रममा राष्ट्रिय महिला टोलीकी रेखा पौडेलले ह्याट्रिक पूरा गरेकी थिइन्। दूधे रंगशालामा भएको गोल्डकपको पहिलो क्वार्टरफाइलनमा जित हात पारेको पुलिका लागि मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरेकी थिइन्।
त्यसैगरी, रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन्। एकपक्षीय बनेको खेलको ३७ औँ मिनेटमा रेखाले गोल गर्दै पुलिसका लागि गोलको खाता खोलेकी थिइन्। खेलअवधिभर मैदानमा रेखा र मिनाबीचको तालमेल लोभलाग्दो रहेको थियो। यसक्रममा चर्च ब्वाईजको फितलो रक्षा पंक्ति चिर्न दुवै खेलाडीलाई धेरै समय लागेन।
पहिलो हाफमा १ शुन्यले पछि परेको चर्च ब्वाईजको टोली दोस्रो हाफमा थप दबावमा परेको थियो। एक शुन्यले अग्रता बनाएको पुलिसले भने दोस्रो हाफमो खेल रणनीतिमा सुधार गर्दै गोलको वर्षा गरेको थियो। पुलिस क्लबले सात गोल दोस्रो हाफमा गरेको थियो। खेलमा पाँच गोल गरेकी मिना प्लेयर अफ दि म्याच भइन्। गोल्डकप अन्तर्गत मंगलबार हुने दोस्रो क्वार्टर फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ एफसी र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबबीच स्पर्धा हुनेछ।
गोल्डकपको उपाधि भिडन्त भने कात्तिक २४ गते हुनेछ। गोल्डकपमा विजेता टोललिे ट्रफीसहित १० लाख १० हजार रुपैयाँ पाउनेछ। त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछन्।
आठ वटा क्लबको सहभागिता रहेका गोल्डकपमा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































