हुम्ला- हुम्लाको चंखेली गाउँपालिका- ६, पुमा गाउँका ३५ वर्षीय रामे बुढा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी आफ्नै ढुङ्गा-माटोले बनेको घरको माथिल्लो तलामा रहेको काठको बलोमा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
बिहीबार अपराह्न करिब पाँच बजेतिर बुढाका बुबा च्याखुले बुढाले उनलाई झुण्डिएको अवस्थामा देखेका थिए । बिहान मदिरा सेवन गरिरहेका रामेलाई दिउँसो बुबाले सो अवस्थामा भेटेको वडा अध्यक्ष जयबहादुर सिराले बताए ।
वडा अध्यक्ष सिराले आफूलाई घटनाको जानकारी आउने बित्तिकै प्रहरी चौकीमा खबर गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटाइएको थियो ।
प्रहरीको टोली राति नै घटनास्थल पुगेर मुचुल्का तयार पारिसकेको छ भने अहिले शवको पोस्टमार्टम गर्ने काम भइरहेको छ । मृतक बुढाका दुई छोरा र एक छोरी अध्ययनका लागि काठमाडौँमा छन् भने घरमा श्रीमती पनि छिन् ।
बुढाले आत्महत्या गर्नुको कारण र कसरी घटना भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































