
काठमाडौँ- धनकुटा जिल्ला अस्पताल नजिकै छ ‘अञ्जुली होटल एण्ड लज’ होटल छिर्नासाथ धेरैले अनुमान गरिहाल्छन् कि यो पक्कै पनि फुटबलर सुजल श्रेष्ठको आफन्तको घर हो भनेर। नगरुन पनि किन? उनले राष्ट्रिय र क्लब स्तरमा गरेको गोल र सेलिब्रेसन तथा ट्रफी जितेका फोटाहरू भित्र पस्ने बितिक्कैदेखि सिँडी चढ्दा नजर ठोक्किने ठाउँमा फ्रेम बनाएर जतनसाथ सजाइएको छ।
फुटबलमा चासो राख्नेहरूले सुजल श्रेष्ठलाई नचिन्ने कुरै हुन्न। अझ धनकुटाको आत्मीयता फरक छ। धनकुटा बजारका उत्पादन सुजलले राष्ट्रिय टिममा लामो समय खेलेर ‘सन्नयास’ लिएर अन्य फुटबलर जस्तै उनी पनि अस्ट्रेलिया पलायन भए। तर उनले जति नेपाली फुटबलका लागि खेले त्यो पुस्ताको उपलब्धिमा उनको नाम सँधै जोडिन्छ। एएफसी सोलिडारिटी कपदेखि २०१९ को साग गोल्ड मेडल जित्दासम्म उनी टिमको महत्वपूर्ण सदस्य बने।
तर उनको सन्न्याससँगै एउटा स्वर्णीम पुस्ताको नियति बनेको अस्ट्रेलियामा बाँकी जीवनलाई अघि बढाइरहेका छन्। तीनै सुजललाई धनकुटाको यो होटल पुग्दा जो कोहीले फेरी एकपटक उनका खेलहरूलाई सम्झिन्छन्। सुजलका तस्बिरहरू देखेसँगै मैले सोधिहालें ‘तपाईंहरू सुजलको आफन्त हो?’ सञ्चालकले भने ‘हो यो सुजलको घर हो, म उसको बुबा।’
सुजलका बुबा राजु श्रेष्ठ धनकुटा बस्न थालेको चौथो पुस्ता हो। राणाहरूले ललितपुरबाट उनका पुर्खालाई भरिया बनाएर धनकुटा ल्याएका थिए। राणाको दरबारमा काम गर्दा गर्दै विस्तारै उनको पुस्ताहरूले धनकुटालाई आफ्नो ‘मुकाम’ बनाए। श्रेष्ठ भन्छन् ‘हामी गरिब परिवारबाट संघर्ष गर्दै आएका हौं। अहिलेको यो होटल मेरो पसिनाले बनाएको हो। बुबाको अगाडीपट्टि सानो घर थियो।’ सुरुमा सामान्य किराना पसल गरेका श्रेष्ठले लगाव र संघर्षले धनकुटाको मुटुमा आफ्नै व्यवसायको बलियो जग बसाएका छन्।
तिनै राजु श्रेष्ठ र आमा रिमा श्रेष्ठको कोखमा जन्मिएका जेठा सन्तान सुजलको सुरुवाती फुटबल जीवनबारे जिज्ञासा लाग्नु स्वभाविक थियो। श्रेष्ठ भन्छन् ‘मलाई छोरा फुटबलर बनाउने रहर कहाँ हुन्थ्यो र पढिदेओस् भन्ने चाहना थियो तर उसको आफ्नै संघर्षले देशको नाम राख्न सफल भयो।’ हुन पनि सानैदेखि फुटबलमा लगाव राखेका सुजल एकतले सानो घरको छतबाट भागेर टुँडिखेल पुगेको बा-आमालाई पत्तै हुँदैनथ्यो। तीन कक्षामा पढ्दा घरमा ट्युसन पढाउन शिक्षक आउँथे सुजल भने भागेर मैदान पुगिसकेका हुन्थे। आमा रिमालाई अहिले पनि छोराको बाल्यकाल आँखाभरी ताजै छ।
भागेर फुटबल खेलेको बदलामा बुबाको गाली स्वभाविक थियो, तर आमाको मायाको आडले उनलाई हौसाउँथ्यो। विस्तारै उनी जिल्ला स्तरीय फुटबलमा सहभागिता जनाउन थाले। यस्तै सिलसिलामा एकपटक एन्फा एकेडेमीका लागि जिल्ला छनोटको अवसर आयो। उमेर अनुसार छनोट योग्य भएका सुजलले पनि उक्त मौकामा ट्रायल दिए। उनी र अर्को एकजना गोलकिपर धनकुटाबाट काठमाडौँमा रहेको एन्फा एकेडेमीका लागि ट्रायल दिन छानिए। एन्फा एकेडेमीमा ट्रायलपछि सुजल एकेडेमीकै लागि छानिने धनकुटाका एक्ला फुटबलर बने।
एन्फा एकेडेमीमा छानिएको खबर जिल्ला खेलकुदले बुबालाई जानकरी दियो। तर उनमा त्यो कुराले कुनै उत्साह या खुसी सञ्चार गर्न सकेन। बुबालाई पढाइ छाडेर छोरालाई एन्फा एकेडेमीमा पठाउने मन भएन। श्रेष्ठ भन्छन् ‘एक त फुटबल खेल्न मैदानमा जाँदा सानैमा विग्रियो भनेर सबैले कुरा गर्थे, अब काठमाडौँ नै पठाएपछि त झन के-के भन्ने हुन्। के-के सुन्नु पर्ने हो अझ! नेपालमा फुटबल खेलेर के नै हुन्छ र त्यसमा पनि राष्ट्रिय टिममा पर्ने सम्भावनानै कम त्यसमा पनि राजनीति हुन्छ भन्ने सुनेको थिएँ।’
उनी भन्छन् ‘मैले हुँदैन भनेर नै पटक-पटक अस्विकार गरें। तर सुजलको जिद्दी आमासँग बढ्न थाल्यो। बिरामी भएर बेडमा थलिएकी आमासँग सुजलले रात-दिन काठमाडौँ पठाइदिन आग्रह गर्न थाले।’ आमा रिमा भन्छिन् ‘उसको हरेक समयको जिद्दीले गर्दा मैले जा भनेर अनुमति दिँए।’ उता बुबालाई पनि जिल्ला खेलकुद विकास समितिमा रहेका आफ्नै मान्छेले पठाउन पटक-पटक सम्झाए। अन्ततः सुजलले प्रारम्भिक लडाइँ जिते। पहिलो पटक विराटनगरबाट प्लेन चढाएर छोरालाई एन्फा एकेडेमी पठाउन श्रेष्ठ परिवार राजी भयो।
एन्फा एकेडेमीमा एन्फाले खेलाउनेसँगै पढाउने जिम्मेवारी पनि लियो। बुबालाई त्यति बेला खुसी लाग्यो, जब छोरो ग्यालेक्सी स्कुलमा एडमिसन भएको खबर आयो। ‘पढ्न पाउँदैनकी भन्ने लागेको थियो। तर जब ग्यालेक्सी स्कुलमा उसको एडमिसन भएको खबर पाएँ। म निकै खुसी भएको थिएँ।’
यता आमालाई भने अनेकन हल्लाहरू सुनाइन्थ्यो। खेल्नेले एसएलसी पास गर्न सक्दैन। एसएलसीनै पास नगरेपछि त्यसको भविष्य विग्रिन्छ। भनेर उनलाई सुनाउनेहरूको कमी थिएन। आमालाई मनमा ठूलो डर थियो कतै छोरा फेल हुने हो कि भन्नेमा । रिमा भन्छिन् ‘फेल हुने डरले मैले छोरासँग सर्त राखें। एसएलसी पास गरिस् भने मोबाइल किन्दिन्छु भनेर, त्यो बेला मोबाइल त निकै ठूलो कुरा थियो।’
जवाफमा सुजलले आफूले मिहिनेत गरेर पढिरहेको जानकारी गराउँथे। पछि एसएलसी पास भएको खबर आयो। परिवारले गाउँमा एउटा युद्ध जित्यो, अनि सुजलले मोबाइल।
बिस्तारै सुजल खेलसँगै राष्ट्रिय टिममा पर्न थालेपछि समाजको नजर परिवर्तन भयो। सुजलको सफलताले परिवारमा खुसी छायो। नियमित रुपमा राष्ट्रिय टिममा पर्न थालेपछि भने बुबालाई एकप्रकारको ढुक्क भयो। तर आमाको पीर भने अर्कै थियो।
आमालाई छोराको खेल छ भनेपछि मुटु दुख्न थाल्थ्यो। घाइते हुने हो कि, चोटपटक लाग्ने हो कि। उनले कति खेलाडीहरूको चोटले करिअर सकिएको सुनेकी थिइन्। त्यही भएर उनी सुजलको खेल टिभी अगाडी बसेर हेर्ने आँट गर्दिनथिन्। आमा भन्छिन् ‘मलाई मैदानमा छोरा खेलेको भन्दा बढी लड्छ कि भन्ने डरले सताउँथ्यो। घाइते होला कि या केही होलाकी भन्ने पीरले सताउँथ्यो। त्यही भएर मैले उसको खेल टिभीमा हेर्ने आँटनै गरिन।’
तर उनलाई छोराको खेल हेर्नका लागि हौसाउनेहरूको कमी थिएन। रिमा भन्छिन् ‘मैले सारै मुटु मिचेर सागको फाइनल भने दशरथ रङ्गशालामा गएर हेरें। भुटानसँगको त्यो खेलमा हार्दा पनि नेपाल रजत पदक जित्न सक्थ्यो। जित्दा खेरी स्वर्ण चुम्थ्यो। जे भए पनि मैले रङ्गशालमा प्रत्यक्ष हेरेको त्यही खेल हो।’ उनले हेरेको खेलमा नेपालले एतिहासिक स्वर्ण चुमेको थियो।
देशले जितेको यो खुसी धनकुटा त झनै रमाउने नै भयो। देशले ऐतिहासिक रुपमा फुटबलमा स्वर्ण जित्दा जिल्लाका सिडीओ, राजनीतिक दलका नेता तथा सेना प्रहरीका उच्च पदस्थहरूले फोन गरेर बुबालाई बधाइ दिए। ‘सबैले फोन गरेर बधाई दिएका थिए।’ त्यसको एक महिना पछि सुजललाई जिल्लामा नागरिक अभिनन्दन गरियो। उनलाई नगरपरिक्रमा गराइएको थियो। आमा रिमा सम्झिन्छिन् ‘त्यति ठूलो सम्मान पाएको देख्दा हर्षका आँशु झरेका थिए।’ तर यति ठूलो नागरिक सम्मान र अभिनन्दन हुँदा पनि समाजमा कतिपयलाई भने यो कुरामा चासो थिएन। रिमा भन्छिन् ‘सायद खेलकुदलाई हेर्ने नजर अझै धेरै पछि छ। अझै पनि कसैले खेलेर करिअर बनाउँछु र नाम कमाउँछु भन्दा पत्याउँदैन समाजले। हेयको नजरले हेर्ने र खिसीट्युरी गर्ने चलन अहिले पनि उतिकै छ।’
रिमा भन्छिन् ‘त्यत्रो ठूलो नागरिक अभिनन्दन हुँदा पनि आफ्नै समाजका मानिसहरूले थाहा नपाएजस्तो गर्थे। सायद यो समाज परिवर्तन हुन अझै दशकौं लाग्ने छ।’ अहिले होटलमा आउने खेलकुदप्रति चासो राख्नेको स्वभाविक जिज्ञासा हुने गर्छ। विशेष गरेर आर्मी, पुलिस तथा खेलकुदमा चासो राख्नेहरूले उनको होटल प्रवेश गर्नासाथ सुजलका बारेमा थाहा पाइहाल्छन्। अनि उनलाई नसोधी रहन सक्दैनन् ‘यहाँ आउने र चासो राख्नेहरूले सोध्छन्।’
गाउँबाट एउटा अवसर पाएर एन्फा एकेडेमीको उत्पादनका रुपमा राष्ट्रिय स्तरमा ठूलो उपल्बिध पाएका सुजलले संघर्षको यात्रामा सँधै उत्तीर्ण हुँदै गए। यस्तोमा सुजल एक समय चोटले केही महिना मैदान बाहिर रहे। उनले त्यो कुरा घरमा सुनाएका थिएनन्। तर बिस्तारै सुजल इन्जुरीमा रहेको खबर पुगिहाल्यो। आमालाई त्यसै पीर पर्ने, त्यसमा पनि इन्जुरीको खबरले निकै चिन्तित बनिन्। उनी भन्छिन् ‘हामीलाई पीर पर्छ भनेर भनेन, पछि हल्ला सुनेपछि फोन गरेको ठूलो होइन सामान्य हो भन्यो। तर फोटा हेरेपछि भने ढाँट्या रैछ भनेर थाहा भयो।’
त्यसो त रिमाले छोराको सानै देखीको खुसी र दुखी पलको बारेमा जानकारी राखेकी थिइन्। उनलाई सुजलको अन्तरमुखी स्वभावबारे जानकारी छ। उनी भन्छिन् ‘धेरै बोल्न चाँहदैन। खर्च चाहिए पनि सानैबाट मसँग मात्र हो कुरा गर्ने तर अरुसँग त्यस्तो कुरा गर्दैन।’ सुजलको मेडलहरूलाई छोरालाई जस्तै माया गरेर राखेकी रिमाले उनका जर्सीहरूलाई पनि सुरक्षित राखेकी छिन् ‘अब छोराले चाहेर पनि यो देशको जर्सी फेरी कहाँ लगाउन पाँउछ। यो जर्सीहरूलाई पनि फ्रेमिङ गरेर राख्नु पर्ने छ।’ उनले महत्वपूर्ण मेडलहरू हराउँछन कि भनेर आफ्नो सबैभन्दा सुरक्षित स्थानमा राखेकी छिन्। मेडलहरुले भरिएको दराज देखाँउँदै रिमा भन्छिन् ‘यो चाँही उसले पाएका मेडलहरू मात्र राखिदिएकी छु। अब जुत्ताहरु र जर्सीहरूका लागि पनि ठाँउ बनाएर व्यवस्थित गर्छु।’
सँधै नेपालमानै बसेर नेपालकै लागि खेल्ने र खेल जीवनपछि नेपालमै केही गर्छु भन्ने सुजल साथीहरू एकपछि अर्को गर्दै अस्ट्रेलिया गएसँगै उनलाई पनि नेपालमा बस्न मन भएन तर उनले कहिले पनि परिवारमा अस्ट्रेलिया जाने तयारीबारे खबर गरेनन् । आमा भन्छिन् ‘उसको सारै मिल्ने साथीहरू अस्ट्रेलिया गएपछि उसलाई पनि उनीहरूले कन्भिन्स गरे। अझ उसको सारै नजिकको साथी विशाल राई अस्ट्रेलिया गएपछि भने सुजलले उसको सारै कुरा गर्थ्यो। सायद विशाल नगएको भए सुजल पनि जाँदैन थियो कि।’
तर अहिले अस्ट्रेलियामा सुजलको राम्रो छ। रिमा भन्छिन् ‘नेपालमा राम्रो स्तरको खेलाडी भए पनि आफैलाई खर्च चलाउन हम्मे थियो। अहिले उसले आफ्ना बालबच्चा पढाउन सकेको छ। आफूलाई खर्च गरेको छ। सायद उसले हामीलाई नभनी लगाएको ऋणहरू तिरेको छ। विस्तारै उसले आफ्नो भविष्य सुरक्षित गर्दै गएको देख्दा खुसी लाग्छ।’ अस्ट्रेलिया जाँदा आमाबुवाको आँशु देख्नु पर्छ भनेर एक्लै गएका थिए, सुजल। सायद अब केही महिनापछि उनी आउने छन् नेपाल। जहिले आउने छन्, उनकी सानी छोरी र आमाको खुसीले पुनः एकपटक सुजल पुलकित हुने छन्।