
मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रप्रसाद भण्डारीले संसदलाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्थाविरोधी क्रियाकलाप भएको बताएका छन्।
पितृशोकमा परेका कांग्रेस नेता गुरुराज घिमिरेको घर पुगेर फर्कने क्रममा आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता भण्डारीले संसद रहेको अवस्थामा संसदलाई नै छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्थाविरोधी काम भएको बताए।
बहुदलीय व्यवस्था, विधिको शासन र संसदीय व्यवस्था लामो समय लडेर ल्याएको हँुदा संसदलाई नै छल गरी अध्यादेश ल्याउनु सांसदहरूकै अपमान भएको उनले बताए।
उनले काम गर्नका लागि कानुनको आवश्यक हुँदा द्रुतमार्गबाट संसद अधिवेशन राखेर अघि बढ्दा सबैलाई सहज हुने उल्लेख गरे। उनले भने, ‘संसदमा कुनै एकको मात्र नभएर सबैको कुरा सुन्न सक्नुपर्छ। यहाँ बहुमत र अल्पमतका आधारमा मात्रै निर्णय हुनुपर्छ।’