
नेपाली यु-१९ महिला टोलीले ऐतिहासिक रुपमा विश्वकपमा सहभागिता जनायो। इतिहासमा नेपाली महिला क्रिकेट टिमले कुनै पनि उमेर समूहमा विश्वकप खेलेको यो पहिलो अवसर हो।
प्रतियोगितामा नेपालले समूह चरणमा ३ खेल खेल्यो। जितनजिक पुगेर स्कटल्यान्डसँग पराजित हुँदा नेपालले एतिहासिक रुपमा सुपर सिक्स पुग्ने अवसर गुमाउन पुग्यो। समूह चरणका तीनै खेल हारे पनि ‘प्लेअफ’ मा आयोजक मलेसियालाई हराएर प्रतियोगितामा एक जितसहित सुखद् अन्त्य गर्न नेपाल सफल भयो।
समग्रमा नेपालले विश्वकपको पहिलो अनुभवमा आफूलाई मैदानमा उतार्दा कप्तान पूजा महतोको प्रदर्शन लोभलाग्दो रह्यो।
सुरुवातबाटै राम्रो लयमा देखिएकी पूजाले टिमका हरेकजसो खेलमा नेपाललाई टेस्ट राष्ट्रविरुद्ध बलियो फाइटिङ स्प्रिटका साथ उतारिन्। उनै कप्तान पूजा महतोसँग विश्वकप सहभागिता र आगामी दिनमा नेपालले सुधार्नुपर्ने पक्षका बारेमा देशसञ्चारले कुराकानी गरेको छ।
समग्रमा नेपालको विश्वकप सहभागिता कस्तो रह्यो?
एकदम राम्रो रह्यो। हामीले सबै टिमविरुद्ध बलियो फाइट दियौँ। समग्रमा पहिलो सहभागिता सबै हिसाबले सम्झनयोग्य रह्यो। हामी सबै खेलाडीहरुले शतप्रतिशत प्रयास गर्यौँ। यो हाम्रो लागि सुखद् र नौलो अनुभवका रुपमा रह्यो।
सुपर सिक्सका लागि निर्णायक मानिएको खेलमा स्कटल्यान्डसँग नेपालले टस जितेर ब्याटिङ रोज्यो। धेरैले कप्तानको यो निर्णयको आलोचना गरेका छन्। खास निर्णायक मानिएको खेलमा नेपालको तयारी कस्तो थियो?
त्यो बेलाको अवस्था त्यस्तै थियो। हामीले परिस्थितिअनुसार पहिले ब्याटिङ गर्ने र हाम्रो बलियो बलिङ लाइनअपले उनीहरुलाई रोक्न सक्ने विश्वास थियो। हाम्रो योजनाअनुसार नै बलिङ भए पनि अन्तिम समयमा हामी चुक्न पुग्यौँ।
यु–१९ महिला टोली नेपाली महिला क्रिकेटको इतिहासमा पहिलो विश्वकप खेल्ने टिम बन्यो र ऐतिहासिक टिमको नेतृत्व गर्दा कस्तो महसुस भयो?
मलाई एकदम गौरवान्वित महसुस भइरहेको छ। किनकि यत्रो ठूलो प्लेटफर्ममा कप्तानको जिम्मेवारी प्राप्त गर्नु आफैमा ठूलो चुनौती थियो। अझ त्यसलाई निभाउन पाउनु मेरो लागि अवसरका रुपमा रह्यो। यो अवसरमा मलाई विश्वास गर्नुहुने सबैप्रति आभारी छु। मेरो लागि यो ‘प्राउड’ मोमेन्ट सधैँ सम्झनामा रहिरहने छ।
आगामी दिनमा नेपालले उमेर समूहमा के कस्तो तयारी गर्नुपर्छ?
यो विश्वकप सहभागितापछि हाम्रो अनुभव र प्रदर्शनलाई हेर्दा आगामी दिनमा देखिएका कमजोर पक्षहरुमा धेरै सुधार गर्न जरुरी छ। सबैभन्दा सुधार्नुपर्ने पक्षका रुपमा भनेको हाम्रो ब्याटिङ नै हो। ब्याटिङका लागि अहिलेभन्दा धेरै मिहिनेत गर्नुपर्छ र ब्याटिङका लागि हामीले धेरै काम गर्नुपर्छ। धेरैभन्दा धेरै खेलहरु र अभ्यासले ब्याटिङ सुधार्न सहयोग पुग्ने विश्वास छ।
अर्को विश्वकप नेपालले नै आयोजना गर्दै छ, २०२७ मा यसको तयारीका लागि तपाईंको सुझाव के छ?
२०२७ को विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नै ध्यान केन्द्रित गर्नुपर्छ। घरेलु मैदानमा हुने प्रतियोगितामा अलि बढी फोकस हुन सक्नुपर्छ। राम्रो टिमहरुसँग एक्सपोज गर्नुपर्छ। यो प्रतियोगिताका लागि अहिलेबाटै निश्चित योजनाहरु बनाएर अघि बढ्नु जरुरी छ। अहिलेबाट एउटा प्लान बनाएर काम गरेमा स्वभाविक रुपमा हामी बलियो टोलीका रुपमा फाइट दिन सक्षम हुनेछौँ।
उमेर समूहमा तपाईंले हरेकजस्तो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभयो, अब राष्ट्रिय टिममा तपाईंको सम्भावना र लक्ष्य के छ?
मैले मेरोतर्फबाट यु-१९ स्तरमा शतप्रतिशत दिएर खेलेँ। देशका लागि कन्ट्रिब्युसन गर्न पाउनु गर्वको कुरा हो। जसरी यु-१९ टिममा कन्ट्रिब्युट गरे अब त्यसरी नै सिनियर स्तरमा पनि आफ्नो योगदान दिन चाहन्छु।
मलाई अब सिनियर स्तरबाट पनि विश्वकपमा सहभागिता जनाउन मन छ। जसरी यु-१९ बाट विश्वकपमा सहभागी भएर इतिहास बनायौँ, अब मलाई सिनियर स्तरमा पनि विश्वकपमा सहभागी भएर खेल्न मन छ।