विकासको गतिः ठेकेदारको ‘मति’ देखाउने दुलेगौंडा–हर्कपुर सडक

विकासको गतिः ठेकेदारको ‘मति’ देखाउने दुलेगौंडा–हर्कपुर सडक
+
-

पोखरा- १० किलोमिटर सडक कालोपत्रे गर्न कति समय लाग्ला ? एकैछिन सोचेर अनुमान लगाउनुस् त । १ वर्ष, २ वर्ष या ३ वर्षसम्म । दुई किलोमिटरको दरले काम भए पनि ढिलोमा त ५ बर्षमा सकिन्छ ।

तपाईंले गरेका यी सबै अनुमानले फेल खान्छ तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्गको सवालमा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा बजारदेखि म्याग्दे गाउँपालिकाको हर्कपुरसम्म जोड्ने १०.१८ किलोमिटर दूरी सडकले नेपालमा विकासको गति र ठेकेदारको मति छर्लंगै देखाइरहेको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत स्तरोन्नती सुरु गरेको यो सडकको काम ५ वर्षमा आधा पनि पूरा हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार २०७६ कात्तिक ४ गते सडक स्तरोन्नती गर्न शंकरमाली निर्माण सेवा प्रालि काठमाडौंले ठेक्का लिएको हो ।

२०७८ माघ १६ गतेभित्र सडकको काम सक्ने कबुल गरेको शंकरमालीले पाँच बर्ष पूरा हुँदा पनि जम्माजम्मी ४१ प्रतिशत मात्रै काम सकाएको छ । ५ वर्ष बित्दासम्म भएको कामको प्रगतिलाई बार्षिक रुपमा भाग लगाउने हो भने अझै ७ वर्ष बढी उपभोक्ताले सास्ती खेप्नुपर्ने हुन सक्छ ।

२०५१ सालमा स्थानीय विकास मन्त्री सीपी मैनाली पालामा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्दै सडकको ट्रयाक खोलिएको थियो । ट्रयाक खुलेको २५ वर्ष बित्दा सडक स्तरोन्नती भएन । २०७६ मंसिर २४ गते सडक स्तरोन्नती गर्नलाई आयोजना गरिएको शिलन्यास कार्यक्रममा पञ्चेबाजामा नाचेर खुशीयाली मनाएका स्थानीय हिजोआज निराश/आक्रोशित छन् ।

बर्खामा हिलो र पहिरोको सास्ती भोग्छन् । हिउँदमा बुङ्बुङ्ती धुलोले आजित स्थानीय सडकको अनुगमनमा आउने हरेक मन्त्री र नेतासँग आक्रोश पोख्छन् । बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसी गण्डकीकै पूर्वअर्थमन्त्री किरण गुरुङलाई साथमा लिएर मोटरमार्गको निरीक्षण गर्न पुगे । निरीक्षणमा आएका मन्त्री, कर्मचारी, स्थानीय नेता र ठेकेदारका प्रनिनिधिसँग उपभोक्ताले कुण्ठाका स्वरहरु पोखे ।

दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउनारायण श्रेष्ठ राजनीतिककरणले काममा ढिलाइ भएको आरोप लगाए । मन्त्री र नेताले भाषणमा सडक कालोपत्रेको आश्वासन दिएपनि पूरा नगरेको उनी बताउँछन् । ‘प्रत्येक चुनावमा वडा सदस्यदेखि लिएर माथि संसदसम्म दुलेगौंडा हर्कपुर बाटोको कागजपत्र घरघरमा बाँडिन्छ । अहिले होइन हिजैदेखि । प्रत्येक पार्टीका साथीहरुले हामीले बनाउँछु भन्छन् गएपछि बिर्सन्छन् ।’ आफूहरुलाई झुठा आश्वासन नभइ काम चाहिएको उनले बताए ।

स्थानीय विष्णुहरि गर्तौलाले सडक निर्माणमा सम्बन्धित निकायको चासो कम दिएको बताए । ‘हाम्रो आवाज एउटै मात्रै छ । जनताले चाहेको मोटरमार्ग कालोपत्रे हो । हाम्रो राइसकुकरमा, प्रेसरकुकुरमा चामल ल्याइदिउ भनेर हामीले कसैलाई पनि भनेका छैनौं’, उनले भने ।

शंकरमाली सेवाका प्रतिनिधि श्याम लामाले पूर्वाधार विकास कार्यालयले भुक्तानी दिनलाई आनाकानी गरेकाले पनि ढिलाइ भएको बताए । कोरोना महामारीसँगै निर्माण कम्पनीले व्यहोरेको नोक्सानीलेसमेत समस्या भएको उनको भनाइ थियो । ‘अहिले काम भइरहेको छ । भएको बिललाई प्राथमिकता दिएर १० लाख हुन्छ की २० लाख हुन्छ भुक्तानी दिएर काम सरासर भयो भने हुन्छ । नत्र काम यस्तै हो’, पूर्वाधार विकास कार्यालयसँग असन्तुष्टि पोख्दै लामाले थपे, ‘पैसा नभएसम्म कसैले १ रुप्पेको सामान दिदैन । काम गरेपछि त पैसा पाए पो अगाढि बढ्छ ।’ उनले काम अनुसारको भुक्तानी नपाएपनि यात्रुलाई सहज वातावरण बनाइदिएको दाबी गर्छन् ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख इञ्जिनियर रविन्द्र तिवारीले हालसम्म १० करोड ५८ लाख ४ हजार ५०९ रुपैयाँ ९९ पैसा भुक्तान गरिएको जानकारी दिए । उनका अनुसार २५ करोड १० लाख ६० हजार ५० रुपैयाँ ६५ पैसा भ्याटसहितमा ठेक्का सम्झौता भएको हो । निर्माण कम्पनीले काम गरेको खण्डमा सहजीकरण गर्न पूर्वाधार विकास कार्यालय तत्पर रहेको इञ्जिनियर तिवारीको दाबी छ । उनी भन्छन्, ‘तपाईंले ५० जना मान्छे झार्नुस हामीले १० देखि २० लाख विल पनि उठाइदिन्छौं । नभए वाहानाबाजी गरेर काम ढिला नगर्नुस् ।’

गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले कामलाई तिब्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरे । ‘तपाईंले ५० जना मान्छे झारेर काम गर्नुस’, निर्देशन दिदै उनले भने, ‘डिइ साबले उहाँको जे छ त्यो भुक्तानीलाई अगाडि बढाएर यो कामलाई गति दिनुहोला ।’

दुलेगौंडा हर्कपुर मोटरमार्गको सम्झौता अवधि सकिएपछि पहिलो पटक २०७९ असार ३० गतेसम्मलाई म्याद थपिएको थियो । त्यो अवधिमा पनि पूरा नहुँदा दोस्रो पटक २०८० जेठ १४ गतेसम्मलाई थप भयो । तेस्रो पटक थपिएको म्याद आगमी असार १३ गते सकिँदैछ ।

गण्डकी प्रदेश सरकारलाई समेत गिज्याइरहेको यो योजना पछिल्लो म्यादमा सकिनेमा स्थानीय आशंकित छन् । आशंकाको प्रश्नसहित भन्छन्, ‘बाटोको विषय लिएर असारपछि अर्को टोली आउँछ की आउदैन ?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?