
सिमकोट – पछिल्लो वर्षहरुमा स्याउ तथा ओखरका बिरुवाको नर्सरी आम्दानीको राम्रो स्रोत देखिएको छ। बिरुवामा अनुदान दिने सरकार तथा गैरसरकारी निकायहरुले जिल्ला मै किसानले उत्पादन गरेका बिरुवा खरिद गरेर बितरण गर्ने नीति लिएपछि बिरुवा उत्पादन कार्य आम्दानीको स्रोत भएको हो।
जिल्ला कै नमूना कृषकका रुपमा नाम कमाउनु भएका सिमकोट गाउँपालिका– ३ को लाङ्दु गाउँका गोबिन्द लामाले आफ्नो आम्दानीको मुख्य स्रोत नर्सरीमा बिरुवा उत्पादन कार्य भएको बताउनुभयो। पछिल्लो २१ महिनादेखि उहाँको वडामा लागु भएको जलवायु उत्थानशील हरित कृषि तथा उत्पादनशील पारिस्थितकीय पद्धती ( ग्रेप ) परियोजनाको लागि स्थानीय स्रोत ब्यक्ति समेत छनौट हुन सफल भएका थिए ।
यो तालिमका क्रममा उनले स्याउ ओखर नर्सरी स्थापना, कटिङ, ग्राफ्टीङ लगाएतका सीपहरु सिक्न सफल भएको थियो। यो क्रममा एक वर्ष अगाडी उहाँले ग्राफ्टीङ गरिएका दुई हजार पाँच सय बोट स्याउँका बिरुवा गत चैत महिनामा बिक्री गरेर आम्दानी गर्दै आएका छन्। यी बिक्री गरिएका बिरुवाहरुमा एक हजार २५० बोट प्रतिबोट ७० रुपैयाँमा गाउँपालिकाको कार्यालयलाई बिक्री गरेर ८५ हजार पाँच सय रुपैयाँ बमाउनु भएको थियो भने यता कृषि विकास कार्यालयसंग एक हजार २५० बोट स्याउ प्रतिबोट एक सय रुपैयाँमा बिक्री गरेर एक लाख पच्चीस हजार गरि दुई लाख दश हजार पाँच सय रुपैयाँ कमाउन सफल भएका थिए ।
त्यसैगरी लामाले तीस हजारको तरकारी बिक्री गरेका थिए। यसवर्ष पनि चैत महिनामा बिक्री गर्ने गरि दुई हजार पाँच सय बोट स्याउ र आठ सय बोट ओखर तयारी अवस्थामा नर्सरीमा रहेका छन्। ओखरको मुल्य प्रतिबोट एक हजार रुपैयाँ पर्ने गर्छ। गतवर्ष माघ महिनामा लामाले स्थापना गरेको नर्सरीमा दश हजार भन्दा बढी इडिमेलका बिरुवा उम्रिएका छन्।
सिमकोट गाउँपालिका– ५ को जिआर कृषि तथा पशु अर्गानिक फर्मकी सञ्चालक गीता रोकायाले पनि गतवर्ष एक हजार बिरुवा स्याउ र नौ सय बिरुवा ओखर बिक्री गरेर आम्दानी गरेको बताइन्। यसवर्ष पनि उनले नौ सय बोट स्याउ र सात सय बोट ओखर बिक्री गर्ने तयारी गरि रहेकी छन्। सिमकोट गाउँपालिकामा मात्र यसरी स्याउ ओखर नर्सरीबाट बिरुवा उत्पादन गरेर बिक्री गरि कमाई गर्ने सात जना अरु किसान पनि छन्। जिल्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोटका किसानले पनि बिरुवा उप्तादन गर्न थालेको कृषि बिकास कार्यालयले जनाएको छ।
पहिले बिरुवाका क्षेत्रमा काम गर्ने सेवा प्रदायक निकायहरुले जिल्ला बाहिरबाट बिरुवा ल्याएर बितरण गर्ने गर्दा किसानले उत्पादन गरेका बिरुवाले बजार पाउने समस्या रहेको थियो। बिरुवा उत्पादन गर्ने किसानको यो समस्या सार्वजनिक भए पनि यी निकायहरुले जिल्ला मै उत्पादन भएका बिरुवालाई प्राथमिकताका साथ खरिद गर्न थालेपछि भने किसानको आम्दानी राम्रो स्रोत बिरुवा नर्सरी भएको छ।