
सिन्धुपाल्चोक – जिल्लाकाे लिसंखुपाखर गाउँपालिकाअन्तर्गतको मुडे बजारका अधिकांश घर र पसलमा बेच्न राखिएका छुर्पी र आलुकाे माग धान्न नसकिएकाे व्यापारीले बताएका छन्।
मुडेमा रहेका सबैजसो पसलमा चौँरीको दूधबाट बनाइएका छुर्पी र घ्यू बेच्न राखिएको व्यापारी करण श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘मुडे बजारमा बेच्न राखिएको छुर्पी र आलुको माग राजधानी र आसपासका क्षेत्रमा निर्यात हुने गर्छ। हामीले मागअनुसार सामान निर्यात गर्नै सकेका छैनौँ।’
यहाँको छुर्पी दोलखा भीमसेन, कालिञ्चोकलगायत मन्दिर दर्शन गर्न आउने तीर्थालु र अन्तर्राष्ट्रिय फिल्म नगरीमा खरिढुंगा र विभिन्न पर्यटकीय क्षेत्र भ्रमणमा आएका पर्यटकको रोजाइमा समेत पर्ने गरेको उनले बताए।
हिमाली क्षेत्रका चौँरीले जडीबुटी खाएका कारण दूध पोषिलो हुने र सोही दूधबाट छुर्पी उत्पादन गरिएका कारण छुर्पीको माग बढेको श्रेष्ठले बताए।
मुडेमा छुर्पी, आलु, घ्यू, कोइरी मूला र खरिढुंगाबाट कुँदिएका कलात्मक सामग्रीसमेत पाइन्छ। मुडेको छुर्पी स्वादिलो र मीठो भएका कारण राजधानीबाट छुर्पीको माग आउने गरेको उनको भनाइ छ।
मुडेबाट दैनिक सयौँ किलो छुर्पी बिक्री हुने गर्छ। दोलखाको शैलुंगेश्वरी गाउँपालिकाको लेकाली क्षेत्रबाट चौंरीपालक किसानले शुद्ध दूधलाई फटाएर छुर्पी बनाई मुडे बजारमा बिक्रीका लागि ल्याउने गर्छन्। किसानबाट मुडे बजारका व्यापारीले सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन्।

सिन्धुपाल्चोकको मुडे बजारमा राखिएका छुर्पी। तस्बिर: बर्षा शाह/देशसञ्चार।