
दोलखा- हिँउ नपरेपछि अहिले हिमाली क्षेत्र र हिमाल काला पहाडजस्ता देखिएका छन्। गौरीशंकर हिमाल पनि अन्य हिमाल जस्तै कालो देखिएको छ।
शैलुङ डाँडाबाट प्रष्ट देखिने गौरीशंकर यतिबेला हिमाल भन्दा पनि कालो पहाड जस्तो देखिएको हो। पहिला यस हिमालमा फेदसम्मनै हिँउले भरिने गरेको तर अहिले हिमालको उच्च भागसम्मै कालो देखिने गरेको शैलुङ गाउँपालिका वाड ८ का अध्यक्ष धनबहादुर तामाङले बताए।
उनले भने, ‘हामीले त यो हिमाल सानोदेखि यसलाई देखेर हुर्केको हो। पहिला त धेरै तलसम्म हिँउ हुन्थ्यो। तर अहिले माथि टुप्पामा अली अली देखिन्छ।’
यस्तै हो भने आउने पुस्ताले हिँउसहितको हिमाल देख्न नपाउने उनको भनाइ छ। उनका अनुसार यो जलवायु परिवर्तनकै असर हो।
उनले भने, ‘यसरी हिमाल कालो देखिँदै जाँदा पर्यटकको आकर्षणको केन्द्र पनि घटन सक्छ र त्यसको असर हामीलाई पनि पर्न सक्छ पकै पनि।’
शैलुङ डाँडाबाट गौरीशंकर हिमालसहित ७५ प्रतिशत हिमालहरू देखिने गर्दछ। एउटै हिमाल कालो किन देखियो भन्नका लागि अध्ययन गर्न जरुरी रहेको जलवायु क्षेत्रका विज्ञ मन्जित ढकाल बताउँछन्। ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार हुन्।
विश्वको तापक्रम वृद्धि भइरहेकाले यस्तो भएको हुनसक्ने उनको भनाइ छ। उनले भने, ‘हाम्रा हिमालहरूले औसत ०.३ डिग्री बढीले तापक्रम वृद्धिको मार खेपिरहेका छन्। जस्का कारण हिमालहरू पग्लिन थाले ।’
कालो गौरीशंकर हिमालका तस्बिरहरूः