
काठमाडौँ– उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ललितपुरका केही गाउँलाई निवारणीय अन्धोपन मुक्त क्षेत्र घोषणा गरेका छन्। शुक्रबार नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २२ र गोदावरी नगरपालिका वडा नं ९ का गरी जम्मा १० ओटा गाउँलाई निवारणीय अन्धोपन मुक्त क्षेत्र घोषणा गरिएको हो।
गोदावरी नगरपालिकाका वडा नं ९ को ढाईछाप र सुन्तलाघारी यस्तै ललितपुर महानगरपालिका वडा नं २२ का महादेवस्थान, भण्डारीटोल, चारघरे, अनन्त मार्ग, डाँडा गाउँ, चुनीपाखा, गैरीगाउँ र लप्टन गाउँलाई निवारणीय अन्धोपन मुक्त क्षेत्र घोषणा गरिएको हो।
नेपाल आँखा अस्पताल र अपरेशनल आइसाइट युनिभर्सल, क्यानडाको सहकार्यमा गएको दुई वर्षदेखि निवारणीय अन्धोपन मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको थियो। जसमा काठमाडौँको टोखा, साँखु, थानकोट र खोकना थिए। यहाँ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हस्पिटल बेस्ड कम्युनिटि आई हेल्थ प्रोगाम सञ्चालन हुँदै आएको थियो।