
काठमाडाैं- निर्माणको चरणमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिले जंगल फडानीको चपेटामा परेको छ। रुख धेरै काट्न लागिएको भन्दै कतिपयले विरोध जनाइरहेका छन्। सुरुमा झण्डै २५ लाख विरुवा काट्नुपर्ने बताइए पनि हाल पर्यटनमन्त्री रबीन्द्र अधिकारीले २ लाख ५० हजार जति रुख काटे पुग्ने बताएका छन्।
विमानस्थलको डीपीआर नै तयार नगरी रुख काट्ने निर्णय भएको भन्दै चौतर्फी विरोध भइरहेको छ। तर स्थानीयले भने अहिले विभिन्न नाममा बहाना गरेर विमानस्थल नबनाउने खेलको रुपमा बुझेका छन्। विमानस्थल सार्न लागिएको स्थानीयको चिन्ता छ। विमानस्थल निर्माणमा देखिएको विवाद र स्थानीयको माग बारे हामीले संघीय समाजवादी फोरम नेपालका बारा क्षेत्र नम्बर ३ का सांसद रामबाबु यादवसँग कुराकानी गरेका छौं।
निजगढमा देखिएको विवादको कारण के हो ?
खासमा विवाद नहुनुपर्ने हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प आवश्यक भइसकेको छ। तर यहाँ राजनीति गर्न खोजिँदैछ।
सांसददेखि अरु नेताहरुकै स्वार्थका कारण विवाद भइरहेको छ। यहाँ विवाद निकालेर पश्चिमतिरका साथीहरुलाई आफ्नो क्षेत्रमा सार्ने दाउ छ। पूर्वतिरका साथीहरु पनि जनकपुरदेखि विराटनगरको बीचमा सार्न खोजिरहनु भएको छ। त्यसैले विमानस्थल सार्ने, नभए बन्नै नदिने भन्ने हो। रुखको त नाम मात्रै हो, भइरहेको राजनीति नै हो।
यो अन्तर्राष्टिय विमानस्थल हो। बहाना मात्रै हो, वन मासिने चिन्ता उहाँहरुलाई होइन, विमानस्थल बन्ला भन्ने चिन्ता हो। आफ्नो ठाउँको विकास गर्न नसकेकाहरुले यहाँको डाहा गरेका हुन्। २५ लाख रुख काट्ने कुरा मिडियामा आएपछि पहिले पनि धेरै रुख काटियो काम भएन, वातावरण खराब हुन्छ भनेर कुरा उठाएका हुन्। यसका लागि उनीहरुले जनकपुरमा जग्गा पनि खोजिसकेको थाहा हुन आएको छ।
तपाईँलगायत त्यस क्षेत्रका सांसदको धारणाचाहिँ के हो?
बारा, पर्सा र रौतहटका सांसदको धारणा भनेको कुनै पनि बहानामा एयरपोर्टको काम रोक्नु हुँदैन। रुख काट्ने कुरामा पनि जति हामीलाई आवश्यक छ, त्यति रुख काट्दा हुन्छ। तर रुख काट्नुभन्दा पहिले डीपीआर तयार गरौं। अनि डीपीआर तयार भैसकेपछि थाहा हुन्छ कहाँ कहाँ आवश्यक हो भन्ने त्यही अनुसार गरौं। रुख काट्ने हतारो गर्नु पर्ने कारण नै छैन।
काठ बेच्ने निउँले रुख काटेर त कसरी हुन्छ? मनपरि त गर्नु भएन नि। तर काम तत्काल अगाडि बढाउनु पर्छ । यो विमानस्थल पाँच वर्षको कार्यकालमा पूरा गर्नुपर्छ।
यही कुरा मन्त्रालयमा गर्नु भएन ?
हामीले पर्यटनमन्त्री रबीन्द्र अधिकारीलाई भेटेर कुरा गरिसकेका छौं। वन मन्त्रीलाई पनि भेट्न खोज्यौं, तीन दिन अगाडि बाराका सबै सांसदले। तर उहाँले पछि कल गरेर बोलाउँछु अहिले समय छैन भन्नु भएको थियो। अहिलेसम्म उहाँको फोन आएको छैन। तर हामी फेरि भेटेर डीपीए अनुसार रुख काट्न आग्रह गर्छौं। काठमाडौं बाहेक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ। त्यसमा पनि सबैभन्दा उत्तम ठाउँनै निजगढ हो।
फास्ट ट्र्याक निर्माण हुँदैछ। यो निर्माण भएपछि काठमाडौं टाढा हुँदैन। भौगोलिक अवस्थाले काठमाडौं दुई घण्टामा पुग्न सकिन्छ । भौगोलिक हिसावले पनि त्यहाँको माटो विमानस्थलका लागि सही छ।
तपाईहरुको भूमिकाचाहिँ के त आफ्नो ठाउँमा विमानस्थल बन्दै गर्दा?
यो विमानस्थल हामीले अहिले मागेको होइन। पहिलेदेखि नै यहाँ धेरै लगानी भएको छ र काम पनि अगाडि बढिसकेको छ। अब एउटा अन्तर्राष्ट्रिय चलखेल के हुन सक्छ र आफ्नो ठाउँको प्रगति हुन नदिन वादविवादमा अल्झाएर डिले गर्ने खेल भैरहेको छ। पर्यटनका हिसावले पनि हाम्रो लागि राम्रो अवसर हो। कसैको अन्तर्राष्टियको स्वार्थमा होला, कसैको तत्काल काम रोकिदिएर कुनै स्वार्थ होला काम रोक्न तर हामी निरन्तर खबरदारी गर्छौं। स्थानीय स्तरमा पनि सहजीकरण गर्छौं।
स्वार्थचाहिँ कसको छ त विमानस्थल नबनाउने?
देश नै कसले चलाइरहेको छ त्यो बुझ्नुस् न। को कहाँबाट गाइडेन्स हुन्छ कहाँबाट चलिरहेको हुन्छ र कसका लागि काम गरिरहेको हुन्छ, भन्ने नै थाहा हुन्न। यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, पूर्वाधारको विकास भयो, विजुली, खानेपानी जस्ता सुविधा भयो भने कसलाई घाटा हुन्छ उनीहरु लागिरहेका छन् यसलाई असफल बनाउन।
हाम्रै देशका मान्छे प्रयोग भैरहेका छन्। हामीलाई लडाएर स्वार्थ फिड गरिदिन्छन् त्यो बुझ्नुपर्छ। अहिले जहाँ बनाउने भनिएको छ, त्यो भन्दा थोरै उँभो सार्यो भने जंगल पनि धेरै काट्नु पर्दैन। माओवादीको द्धन्द्धकालमा धेरै जंगल काटिएको छ। त्यही जग्गालाई पनि प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा रुख झन कम काट्दा हुन्छ तर पहिले डीपीआर तयार गर्नुपर्छ।
अनि अब तपाईहरुको माग के हो त?
अब जति रुख काटेपनि काटोस् तर एयरपोर्ट बन्नुपर्छ। स्थानीयले मानिसकेका छन्। दुई वटा गाउँ परेका छन् त्यो गाउँ छाड्न उनीहरु राजी छन्। काँठ गाउँको मुआब्जा निर्णय भैसकेको अवस्था छ। टानियाँ बस्ती पूरै सुकुमबासी बस्ती हो। उनीहरुले हामीले मौलिक हकमै व्यवस्था गरेको कुरा मागिरहेका छन्। हामीलाई जग्गा दिनुस्, हामीलाई घर दिनुस् भनिरहेका छन्। त्यसो भए उनीहरु सर्न तयार छन्।
हाम्रै बारा जिल्लामा उनीहरुलाई बसोबास गराउन सक्ने थुप्रै ठाउँहरु छन्। तर यहाँ हाम्रो समस्या त्यो होइन। विमानस्थल रोक्न खोजिरहेकाहरुसँग लड्नु पर्ने भएको छ। अल्झाउने जाल झेल गर्ने र आफ्नो क्षेत्रमा लाने, नभए मेरो बनेन भने यहाँ किन बनाउने भन्ने मनसायका मान्छेलाई रोक्नु नै अहिलेको हाम्रो आवश्यकता हो। साँच्चै आवश्यक हो भने जतिपर्छ रुख काट्नु पर्छ। हाम्रो ठाउँको विकासलाई रोक्ने प्रयत्न गलत छ।