
काठमाडौं- महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ। यस अवसरमा आज राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
महाशिवरात्रि पर्वका लागि भारतबाटसमेत साधुसन्तहरू पशुपतिनाथ आएका छन्। शिवरात्रि पर्वमा पशुपति क्षेत्रलाई फूल र झिलिमिलि बत्तीले सिँगारिएको छ।
तस्बिरहरू: