
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन्। सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र संघर्ष माक्र्सवादी लेनिनवाद सिद्धान्तअनुरुप नभएको उनले बताए। व्यवस्था र मुलुक परिवर्तनका निम्ति सशस्त्र संघर्ष अनिवार्य भए पनि त्यसको विधि पद्धति हुने उनको तर्क छ।
‘दूध खानुस्, घ्यूू खानुस् अझ औषधिको प्रयोग गर्नुस्। समय परिस्थितिको ख्याल गर्नुपर्छ। तसर्थ सशस्त्र संघर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौँ। त्यो गल्ती कहाँ भयो भने माक्र्सवादी लेनिनवादी सिद्धान्तले संघर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ। त्यसलाई उहाँहरूले सही किसिमले प्रयोग गर्नुभएन’, मोहनविक्रमले थपे, त्यसकारण त्यो संघर्ष गलत भो। त्यसैले हामीले उग्रवामपन्थी भन्यौँ। कतिपय अवस्थामा आतंकवाद पनि ग्रहण ग¥यौँ। त्यो गलत हो। सशस्त्र संघर्षको सिद्धान्त नै गलत भएको छैन। उहाँले जुन प्रयोग गर्नुभो त्यो माक्र्सवादी सिद्धान्त अनुरुप थिएन त्यसकारण त्यो गलत थियो।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी नेता कृष्णबहादुर महरालाई आफ्ना शिष्य भन्दा पनि कुनै बेलाको आन्दोलनका सहकर्मीका रुपमा लिने उनले सुनाए। उनै मोहनविक्रमसँग गरिएको कुराकानीकाे सम्पादित अंश
तपाईं हिजोआज अर्धभूमिगत हुनुहुन्छ कि भूमिगत ?
अर्धभूमिगत छु। मेरो ९० वर्षको जीवन त्योमध्ये लामो समय नेपालको प्रजातान्त्रिक आन्दोलन र वामपन्थी अन्दोलनमा बितेको छ। जीवनको लामो सयम म जेलमा बसें। भूमिगत भए। अहिले म अर्धभूमिगत अवस्थामा छु।
अर्धभूमिगत यस मानेमा कि मलाई अहिले सरकारबाट कुनै वारेन्ट छैन। हाम्रो पार्टी हो नेकपा मसाललाई हामीले भूमिगत नै राखेका छौँ। त्यसको महामन्त्रीको हैसियतले म अर्धभूूमिगत छु। पूरै भूमिगत पनि छैन, पूरै खुला पनि छैन।
तपाईं भीष्मपितामह हुनुहुन्छ नेपाली कम्युनिष्ट आन्दोलनको ? तपाईंका शिष्यहरू ठुल्ठूला नाम छन् प्रचण्डजी, बाबुरामजी, महराजी… यो लिष्ट लामो बन्दै जान्छ। आज तपाईंका शिष्यलाई देखेर गर्व महसुस हुन्छ कि ग्लानि ? कि होइन, जीवन यस्तै हो लाग्छ ?
पहिला त हामीले गुरु र शिष्यको सम्बन्धको उल्लेख गरौँ। यो सम्बन्धलाई हामीले गुरु र शिष्यको सम्बन्ध मान्दैनौँ। पार्टीमा कोही केही दिन पहिला आयो कोही केही पछि आयो। गुरु र शिष्यको सम्बन्ध होइन, हाम्रो साथीको सम्बन्ध हो। यसरी देशका हजारौँ साथीसँग मैले पार्टीमा काम गरेँ।
कतिपय साथी हामीबाट अलग भएर जानुभो। त्यसलाई मैले शिष्य पनि ठान्दिनँ। मैले आफूलाई गुरु पनि मान्दिनँ। हामी नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा सहयोद्धा हौँ। र, हाम्रा दृष्टिकोण बेग्लै छन्। त्यही पनि जसले जहाँ जुन रुपमा देशको प्रजातान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलनका लागि जति सहयोग गरिराख्नुभा’छ त्यसका लागि सबलाई धन्यवाद दिन्छु।
० तपाईंलाई उनीहरूप्रति कुनै गुनासो छ ?
नाइँ, धेरै मतभेद छ। त्यो मतभेद र मतभेद भन्नुको अर्थ हो हामीले अरु साथीले अपनाएको कतिपय नीति, कार्यक्रमलाई गलत मानेका छौँ। हामीले उनीहरूलाई गलत मानेका छौँ, उनीहरूले हामीलाई गलत मानेका छन्। त्यसकारण को असल छ को गलत छ? इतिहासको लामो धारामा दर्ज हुँदै जाने कुरा हो।
० तपाईंले आज फेरि शिक्षा दिनुभयो भने पुरानै शिक्षा दिनुहुन्छ कि नयाँ? अथवा त्यो बखतका लागि त्यही शिक्षा ठीक थियो, आजको युगका लागि बेग्लै शिक्षा चाहिन्छ?
के सही थियो के गलत थियो। जति पुराना कुरा थिए। मूलभूत सिद्धान्त अहिले पनि सही छन्। तर, व्यवहार इतिहासका विभिन्न कालखण्डमा हामीले नीति अपनायौँ। कैयौँ पुराना भए। कैयौँ गलत भए। नयाँ परिस्थितिमा नयाँ विचार हामीले अपनाउँदै आएका छौँ। त्यो इतिहासमा परिवर्तन हुँदै जानेछ। र, पुराना सबै विचार हामीले गलत पनि भन्दैनौँ। आफ्नो समयमा ती सही थिए, त्यसै गरे। त्योमध्ये कैयौँ गलत पनि भएका छन्। हामीले अपनाएका विचार कति गलत छन्। अरु साथीले अपनाएका विचार कति गलत छन्। त्यो इतिहासले र व्यवहारले पहिचान गर्दै जानेछ।
तपाईंले हमेसा लामो समयसम्म सशस्त्र संघर्षको वकालत गर्नुभयो मुलुकमा। तपाईंका शिष्यहरूले कार्यान्वयनमा ल्याए। आजको दिनमा तपाईंले शिक्षा दिनुपर्दा नयाँ अध्याय जोड्नुहुन्छ कि पुरानोले पुग्छ ?
सशस्त्र संघर्षको जुन सिद्धान्त हो, माक्र्सवाद लेनिनवादले के भन्छ भने अहिलेको व्यवस्था र मुलुक परिवर्तनका लागि सशस्त्र संघर्ष अनिवार्य छ। त्यसका विधि छन्। दूध खानुस्, घ्यू खानुस् अझ औषधिको प्रयोग गर्नुस्। समय परिस्थितिको ख्याल गर्नुपर्छ। तसर्थ सशस्त्र संघर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौँ। त्यो गल्ती कहाँ भयो भने माक्र्सवादी लेनिनवादी सिद्धान्तले संघर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ। त्यसलाई उहाँहरूले सही किसिमले प्रयोग गर्नुभएन। त्यसकारण त्यो संघर्ष गलत भो। त्यसैले हामीले उग्रवामपन्थी भन्यौँ। कतिपय अवस्थामा आतंकवाद पनि ग्रहण ग¥यौँ। त्यो गलत हो। सशस्त्र संघर्षको सिद्धान्त नै गलत भएको छैन। उहाँले जुन प्रयोग गर्नुभो त्यो माक्र्सवादी सिद्धान्तअनुरुप थिएन त्यसकारण त्यो गलत थियो।
तपाईंका शिष्य उनीहरूले जीवनमा जे–जस्तो तरिकाले गतिविधि गरे, जसरी उनीहरूको जीवनशैली कायकल्प भयो। जसरी जायज/नाजायज तरिकाले उनीहरूले आर्जन गरे। कि कैयौँ कम्युनिष्ट कुनै दिन ठगौंला भनेर निस्किएका थिए यात्रामा या बाटोमा हिँड्दा हिँड्दै मान्छे त्यस्तो भएको हो ?
यो नेपालमा मात्रै होइन, संसारमा पनि कैयौँ संख्यामा कम्युनिष्टको पतन भएको छ। विचलन भएका छन्। भ्रष्ट भएका छन्। यो संसार विश्वव्यापी रुपमा हो। त्यसको असर नेपालमा पनि पर्छ। जस्तो कि भनौँ एउटा मुुसलमान हुन्छ। एउटा बुद्धिस्ट हुन्छ, हिन्दू हुन्छ। कर्मचारी हुन्छ शिक्षक हुन्छ। यो सबैले के गर्नुपर्छ भन्ने नियम छन्। मान्छेहरू नियमबाट विचलन हुन्छ।
कम्युनिष्टले पनि ठीक त्यसै गरे। के गर्नुपर्छ ? के–का लागि कम्युनिष्ट भाका हौँ यो भन्नका लागि सिद्धान्त छन्। नियम छन्। तर, ठूलो संख्यामा कम्युनिष्ट त्यो सिद्धान्त, आचरण, नियमबाट विचलन भएको छ। संसारभरमा त्यस्ता प्रकारका विचलन देखा परेका छन्।
नेपालमा पनि त्यसको असर कम्युुनिष्टमा ठूलो संख्यामा कम्युनिष्टजस्तो हुनुपर्छ त्यस्तो भएको छैन। जस्तो बुद्धिस्ट हुनेहरू बुद्धिस्ट नभएर त्यसबाट विचलन भएको छ। मुसलमानहरू, बौद्धहरू, सैबहरू त्यही प्रकारले कम्युनिष्टहरू ठूलो संख्यामा पतन भएका छन्। भ्रष्ट भएका छन्। त्यो कुरा नेपालमा पनि भएको छ। जो कम्युुनिष्टको सिद्धान्तबाट विचलन भएका छन् तिनीहरू कम्युनिष्ट होइनन्। तिनीहरूलाई हामीले कम्युनिष्ट भन्न सक्दैनौँ। त्यो कम्युनिष्टका नाममा उनीहरूले भ्रम दिएका छन्।
तपाईं दार्शनिक पनि हुनुहुन्छ। आजको दिन कम्युनिष्ट ‘कम्युनिष्ट’ जस्तो पनि छैन। डेमोक्रेट ‘डेमोक्रेट’ जस्तो छैन। राजावादी ‘राजावादी’ जस्तो छैन। सबै नक्कलीजस्ता छन्। नक्कली राजावादी, नक्कली कम्युनिष्ट, नक्कली कांग्रेस भएको हो कि ? अहिलेको समाज नै अन्तरघुलनको मिसमासको सप्तरंगी भएको हुनाले कम्युनिष्टमा लाग्नु स्वाभाविक हो? कि कम्युनिष्टले आफ्नो एउटा विशिष्टकृत किसिमको चरित्र निर्माण गर्नुपर्छ ? एउटा कम्युनिष्ट बेग्लै हुन सक्छ कि सक्दैन?
यो संसारमा लाखौं कम्युनिष्ट छन्। जो कम्युनिष्टजस्ता छन्। उनीहरूले त्याग गरेका छन्। बलिदान गरेका छन्। देश, जनताको हितका लागि काम गरेका छन्। बुर्जुवा नै भन्नुस् नेपाली कांग्रेस नै भन्नुस् अरु कुनै पार्टी भन्नुस् संसार र नेपालमा पनि धेरै बुर्जुवा नेता छन्, कलाकार, साहित्यकार छन्। जसले सिद्धान्तमा लेखिएअनुसार आफ्नो जिम्मेवारी पूरा गरेका छन्। राजाको कुरा भन्नुहोस् हामीसँग पृथ्वीनारायणजस्ता राजा पनि इतिहासमा पाइन्छ। जसले नेपालमा छरिएको राज्यलाई मिलाएर एकीकृत गरे। त्यस्ता राजा विश्वर पाइन्छन्। जो देशभक्त छन्।
नेपालका राजालाई हेर्नुभयो भने धेरै भ्रष्ट भएका, व्यक्तिगत स्वार्थमा लाग्ने, तस्करी गर्ने, गलत प्रकृतिका नीति अपनाउने, स्वार्थका लागि गलत नीति अपनाउने राजा पनि नेपालमा देखा परेका छन्। संसारभर देखा परेका छन्।
त्यसकारण कम्युनिष्टहरू कुरा गर्दाखेरि संसारमा ठूलो संख्यामा कम्युनिष्ट छन्। र, आफ्ना सिद्धान्त र नीतिअनुसार आफ्ना क्रान्तिका लागि त्याग, बलिदान गरेका छन्। र त्यसका लागि जीवन सर्मपण गरेका छन्। यो दुवै प्रवृत्ति सबै क्षेत्रमा देख्न पाइन्छ। कर्मचारीमा पाउनुुहुन्छ।
भगवान् त तपाईं सायद मान्नुहुन्न क्यारे ! तर, प्रकृति त मान्नुहुन्छ। तपाईंले आफ्नो जीवनलाई पछाडि फर्केर हेर्दा कुनै पछुतो हुन्छ? कि तपाईंका चेला कहाँ पुगिसके। सांसारिक भाषामा उनीहरूले कत्रो–कत्रो प्रगति गरिसके। तपाईंलाई पछुतो छ कि आफ्नो जीवनमा ?
जीवनमा कैयौँ गल्ती मैले पनि गरेको छु। त्यसको मूल्यांकन गर्नुप¥यो भने बेग्लै पाटो छ। र, मुख्य जुन कुरा मलाई अवसर छ, प्रसंग छ, गौरव छ। त्यो कि आफ्नो सिद्धान्त र त्यसका लागि मैले लगातार अघि बढिरहेको छु। त्यसैले मलाई पश्चात्ताप छैन।
अहिले पनि म आफ्नो सिद्धान्त, उद्देश्यका लागि लगातार अगाडि बढिरहेको छु। तर, मैले बारम्बार भनिरहेँ मैले धेरै साथी हुनुहुन्छ जो पार्टीको सिद्धान्त अपनाएर विचलित हुनुभएको छ। त्यसै गरेर बुर्जुवा पार्टी, प्रजातान्त्रिक पार्टीलगायत नेपालका पार्टीले जुन सिद्धान्त अपनाए त्यसबाट विचलित भ्रष्ट भएका थुप्रै छन्।
कर्मचारी एउटा इमानदार कम्युनिष्ट कस्तो हुनुपर्छ हामीले देखेका छौँ। तर, भ्रष्टाचार कम्युनिष्ट कर्मचारी धेरै छन्। यस्तै हामीले प्रहरी, सेना, साहित्यकार, कलाकारमा देख्छौँ। जसले आफ्नो जुन सिद्धान्त, आस्था हो त्यसबाट विचलित भएका थुप्रै उदाहरण छन्। त्यसकारण त्यो चिज गलत हो।
मैले आफ्नो जलजला उपन्यासमा पनि त्यही प्रकारको दृष्टिकोण, दर्शन दिने प्रयत्न गरेको छुु। विश्वका लागि र स्वयं हाम्रो नेपालका लागि र कम्युनिष्टका लागि केही आदर्श मैले पेस गर्ने प्रयत्न गरेको छु।
लेखकको रुपमा तपाईंले जीवन, जगत् र राजनीतिलाई हेर्नुभयो। कृतिको नाम छ ‘कमरेड जलजला’ मान्छेहरू भन्छन् कि त्यो तपाईंले आफ्नो प्रेमिकाको नाममा लेख्नुभएको हो। त्यो साँचो कुरा हो ?
यो प्रयास हो। मूल उपाय त्यसको पक्ष हो। जीवनप्रतिको दृष्टिकोण, दर्शन, पूरा समाजको विषयमा त्यसलाई प्रस्तुत गर्न मेरो प्रयत्न हो। त्यसमा त्यो जीवन पूरै काल्पनिक छैन। यद्यपि, कल्पनाको पनि त्यसमा मद्दत लिएको छु। जीवनका कैयौँ वास्तविक घटना पनि छन् मेरा। समाजका, हाम्रा साथीहरूका कैयौँ वास्तविक घटनालाई पनि मैले दिने प्रयत्न गरेको छु। त्यसैले वास्तविकता, सत्य र कल्पनाको एउटा मिश्रण हो। त्यो सबैको निष्कर्ष हो।
तपाईंले लेखकको रुपमा जीवन, जगतलाई राजनीतिज्ञको रुपमा जसरी हेर्नुहुुन्छ केही सपाट छ की भिन्नता छ ? तपाईंका लागि लेखन राजनीतिको विस्तार हो कि होइन ?
जलजला उपन्यासको पहिलो प्राक्थनमै एउटा वाक्य छ, ‘यो विश्व र व्यक्ति बीचको जुन सम्बन्ध हो त्यो अन्तरसम्बन्ध हुन्छ। घनिष्ठ हुन्छ।’ मेरो जीवनबारे पनि सत्य हो। साहित्य र राजनीतिबारे सम्बन्ध दुवै जीवनका अंग हुन्। त्यसकारण ती सबै एकअर्काबाट अलग हँुदैनन्। जो मेरो राजनीतिक जीवन रहेको छ करिब ७० वर्षको राजनीतिक जीवन त्योसँग साहित्य पनि जोडिएको छ। राजनीति पनि जोडिएको छ। यी दुवै एउटै कुराको बेग्लाबेग्लै पक्ष हुन्। तर, उनीहरूको आपसमा अन्तरघुलन छ। आपसमा घनिष्ठ सम्बन्ध छ।
जुन उद्देश्यले मैले आफ्नो राजनीतिक जीवनमा प्रयत्न गरेको छु ठीक त्यही साहित्यद्वारा पनि गरेको छु। अहिले मेरो उपन्यास ‘कमरेड जलजला’ योभन्दा पहिले पाँच वटा उपन्यास लेखेको थिएँं। ती सबै हराए। प्रकाशित हुन सकेनन्। राजनीतिक क्षेत्रमा थुप्रै किताब, लेख लेखेको छु। त्यसका रूप बेग्लै ठाउँमा बेग्लै होलान्। तर, मूलरुपमा हेर्ने हो भने साहित्य र राजनीति जीवनका, समाजका, विश्वका आपसमा सम्बन्धित अंग हुन्। एकअर्कासँग जोडिएका छन्। बेग्लै गराएर हेर्न मिल्दैन। बेग्लै पनि छन्, एउटै पनि हुन्। हामी प्रत्येक व्यक्ति अलग्गै छौँ।
(पोखराको बाराहीघाटमा जारी १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीति र साहित्यको आयाम’ सेसनमा पत्रकार वियजकुमारले मोनविक्रमसँग गरेको कुराकानीमा आधारित)