
काठमाडौँ – ग्रामीण तथा केही पहाडी जिल्लाहरुमा स्क्रब टाइफसको संक्रमणको प्रकोप पछिल्ला वर्षहरुमा अत्याधिक मात्रामा देखिएको चिकित्सक बताउछन् ।
सुक्रराज टपिकल तथा सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार यो रोग “रिकेटसीया” भनिने एक सुक्ष्म ब्याक्टेरियाले गर्दा मानिसमा लाग्छ । संक्रमित भुसुना, किर्ना, मुसा, छुचुन्द्रो लगायतका जीवहरु यो ब्याक्टेरियाको भण्डार हुन ।
ति जीवबाट ससाना “माइट” भनिने किर्नाले मान्छेमा रोग सार्ने काम गर्छ । झार, चौर, घाँसपात, पुरानो काठहरुमा बस्ने यो किर्नाले सो व्याक्टेरिया मुसाहरुबाट मान्छेमा सारेपछि स्वस्थ मानिस यो रोगबाट संक्रमित हुने डाक्टर पुन बताउछन् ।

डा. शेरबहादुर पुन ।
अमेरिकी बिभागको स्वास्थ्य र मानविकि सेवा (युयस डिपाटमेन्ट अफ हेल्थ अण्ड हुमन सर्भिस) का अनुसार रिकेटसीयाबाट संक्रमित जुम्राको टोकाइबाट समेत यो संक्रमण हुन्छ । यो स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यत झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइने गर्छ ।
त्यसैगरी वर्षायाममा पनि शहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग भने होइन ।
स्क्रब टाइफसका लक्षण
- अत्याधिक टाउको दुख्नु
- १०२ देखि १०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउने
- आँखा रातो हुने
- सास फेर्नमा समस्या हुनु
- शरीर बाउँडिनु
- जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु
- खोकी, वाकवाक, वान्ता, पेट दुखाइ र पखालाले सताउनु
- बढी संक्रमण हुँदा गर्दन, पाखुरामा गाँठो देखिनु
- बिरामीको गम्भीरता अनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु
- छाती, पाखुरा, हातखुट्ठासम्म फैलिने गुलाबी बीबिरा देखिनु
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको दाग देखेर पनि गरिन्छ । यसमा रगत परीक्षण अन्तर्गत ( सीबीसी काउन्ट,) लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट पनि गरिन्छ ।
संक्रमितलाई एन्टिबायोटिकका माध्यमले उपयुक्त रुपले उपचार गरिए धेरै जसो बिरामीमा ३८ देखि ४८ घण्टाभित्रै सुधार देखिने गरेको डा पुन बताउछन् ।
स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रुपमा निम्न रक्तचाप, निमोनियाको संक्रमण देखिनु, सुन्ने क्षमता गुम्नु, अगंमा क्षति र मृगौला फेल हुन सक्ने छारे रोगको लक्षण, अन्योल, सुस्त हुने, आदि समस्या देखिन सक्ने चिकित्सकहरु बताउछन् । यस्ता बिरामी बहुअंग विकार मल्टि अर्गान डिसअर्डर को अवस्थामा पुग्छन् ।
हाल यो संक्रमण देशका विभिन्न जिल्ला, धादिङ, चितवन, नुवाकोट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, धनकुटा, संखुवासभा भोजपुर, सुनसरी, इलाम राजधानी काठमाडौँ लगायत २० जिल्लाहरुमा सबैभन्दा बढी देखिएको छ ।
हाम्रो मुलुकमा स्क्रब टाइफस बढी मात्रामा बालबालिकामा पाइए पनि यो संक्रमण सबै उमेर समूहमा देखिन्छ ।
स्क्रब टाइफसबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, खानपानमा विशेष होसीयारी, किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनु पर्छ । संक्रमणको सुरुमै उपयुक्त एन्टिबायोटिकले उपचार गर्दा रोग निको हुने डाक्टर पुन बताउछन् ।