
पोखरा – यो समाचारको सुरुवात गरौं, तनहुँको शुक्लागण्डकी नगरपालिकाले बनाएको उत्खनन् सम्बन्धि कार्यविधिबाट।
शुक्लागण्डकी नगरपालिकाको निजी जग्गाको ढुंगा, गिट्टि, बालुवा, माटो आदि उत्खनन्, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७७ गएको हिउँदे नगरसभाले शंसोधन गर्यो।
दफा ६ मा १ रोपनी भन्दा बढी अथवा ३०० घनमिटर भन्दा बढी ढुंगा, गिट्टी, बालुुवा, माटो आदिको उत्खनन् हुन सक्ने क्षेत्रफलको अनिवार्य रुपमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भनिएको छ। पुस २५ गते भएको १६ औं नगर सभा ९अधिवेशन०ले पास गरेको शंसोधनसहितको कार्यविधि नगरपालिकाले डेढ महिना नबित्दै रद्दी बनाएर मनमौजी तरिकाले उत्खनन् गर्न दिएको छ।
शुुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको गौसंरक्षणको केन्द्रमा भएको ढुंगा उत्खनन् अहिले उत्कर्षमा छ। दुलेगौंडा–लिलाचोक सडक स्तरोन्नतीको ठेक्का पाएको बानियाँ निर्माण सेवालाई गौसंरक्षणको ढुंगा उत्खनन्का गर्न नगरपालिकाले आफ्नै कार्यविधिमा भएको प्रारम्भिक वातावरणीय परीक्षणको नियम कुुल्चिएर अनुमति दिएको खुलेको छ। अर्कोतर्फ तोकिएको परिणाम भन्दा बढी उत्खनन् हुँदासमेत नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मौन हुदाँ मिलेमतोको आशंकाले घेरिएका छन्। उत्खनन् भएको स्थान शुुक्लागण्डकी नगरपालिका–९ को कार्यालय नजिकै हो।
नगरपालिकाका सूचना अधिकारी लक्ष्मण लम्सालका अनुसार बानियाँ निर्माण सेवाले एक हजार १९० घनमिटर ढुंगा संकलन र ढुवानीको अनुमति लिएको हो। त्यसका लागि ३ लाख ७८ हजार ४०२ रुपैयाँ राजस्व, ५ हजार ६७६ रुपैयाँ अग्रिम आयकर ठेकेदार कम्पनिले बुझाएको थियो। ढुंगा संकलन गर्न दिएपनि उत्खनन् गर्न अनुमित नदिइएको लम्सालले बताए।
तर, गौसंरक्षण केन्द्रमा मान्छे डुबाउने खाल्टो खनेर ढुंगा निकालको देखिन्छ। गौसंरक्षण सञ्चालनको जिम्मा लिएको शुक्लागण्डकी मुुक्तिनाथ च्यवनधामले राखेको रेकर्डअनुसार १०५ टिप ढुंगा ठेकेदारले लगिसकेको छ।
बानियाँ निर्माण सेवाका प्रतिनिधि नवीन पराजुलीका अनुसार १ टिपमा १२ घनमिटर ढुंगा ढुवानी हुन्छ। उनको भनाइलाई आधार मान्दा अनुमति लिएको भन्दा ५८ घनमिटर बढी ढुंगा लगिसकिएको छ। त्यहाँ निकालेर राखिएको ढुंगा थुुप्रो पनि ठूलै देखिन्छ। सरोकारवालाले विरोध गरेपछि मात्रै बानियाँले ढुंगा लैजान रोकेको हो। यसले पनि मिलेमतोको आशंका उब्जाएको स्थानीय सरकोरवाला बताउँछन्।
शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित गौसंरक्षणमा घाँस उमार्न ढुंगा उत्खनन्को अनुमति मागेपछि दिइएको बताउँछन्। ‘ढुंगाहरु हटाउनुपर्यो खेती गर्नुप¥यो भनेपछि प्राविधिक गएर त्यहाँको स्टेमेट गरेर त्यसको राजस्व प्रदेशको कानुन अनुुसार नगरपालिकामा बुझाएर बाँकी डेढ लाख रुपैयाँ गौसंरक्षणलाई चाहिने पराल दिएर समितिमार्फत भएको हो’, मेयर पण्डितले भने।
शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष बाबुराम पुलामीसहित गौसंरक्षण केन्द्र सञ्चालन गर्ने समितिको सहमतिमा उत्खनन् गर्न दिएको मेयर पण्डितको दाबी छ। कानुन, प्रक्रिया पु¥याएर उत्खनन् गर्न अनुमति दिएको उनले दाबी गरे। संकलन भएको ढुंगा नगरपालिकाको प्राविधिकले नापजाँच गरेपछि ढुवानी गर्ने सम्झौता भएको उनी बताउँछन्। उत्खनन्को विवाद उत्कर्षमा पुग्दा पनि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अनुगमनसँगै नापजाँचमा पुगेका छैनन्।
‘यदि बढी खनेको रहेछ भने जरिवाना तिराउँछौं। प्रदेशको राजस्व अनुुसार तिराएर थप जरिवाना लिन्छौं’, मेयर पण्डितको दाबी छ, ‘गलत काम गरेको भए त कारबाही गर्छौं हामी।’ गलत काम गर्ने कारबाहीको भागिदार हुनपर्ने उनको जिकिर छ।
यता गौसंरक्षण सञ्चालनको जिम्मा पाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमनाथ लम्साल ‘अर्जुन’ नगरपालिकाले उत्खनन्को अनुमति दिएको पत्र पठाएपछि मात्रै दिइएको बताउँछन्। उत्खनन्मा समितिको कुनै हात नभएको उनले दाबी गरे।
नगरपालिकाले पठाएको पत्रमा वडा कार्यालयले पठाएको सिफारिस अनुसार ढुंगा संकलन गर्न अनुमति दिइएको खुलाइएको छ। मेयर पण्डितले पठाएको पत्रमा भनिएको छ, ‘।।।वडा कार्याको प्राविधिकबाट नापजाँच गराइ परिणाम एकिन भएपश्चात मात्र नगरपालिकामा राजस्व बुझाइसकेपछि बानियाँ कन्स्ट्रक्सनलाई ढुंगा संकलन गर्न दिनुहुन अनुरोध छ।’
सुरुमा बानियाँ निर्माण सेवाका प्रतिनिधि गतवर्ष घाँस रोप्ने बेलामा संकलन गरिएको ढुंगा खरिद गर्नलाई गौसंरक्षणमा आएका थिए। नगरपालिकालाई राजस्व तिरेर राखेको ढुंगा समितिले विक्री गर्यो।
ढुंगा निकालेर घाँस लगाउनलाई माटोसमेत हालेर सम्याउने प्रतिबद्धतासहित उत्खनन् गर्न दिएको बुझिन्छ। बानियाँ निर्माण सेवाका प्रतिनिधि नविन पराजुलीले अनुमति लिएको मात्रै ढुंगा लगेको दाबी गर्छन्। विवाद नआउदै आफूले ढुंगा ढुवानी गर्न रोकेको बताए। ‘कसैले विवाद गरेर रोक्या होइन मैले। मैले स्पष्ट पारे’, उनको ठोकुवा छ। खनेर चाल्नेबेलामा तोकिएको परिणाम नाघेपछि आफूले बन्द गराएको पराजुलीको जिकिर छ।