‘रैयाँ चाँदीको…. ‘
पछिल्लो समयमा यो गीत नसुन्ने सायदै होलान्। चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समेटिएको यस गीतका रचयिता, एरेन्ज, कम्पोज र स्वर आशिष अबिरलको हो। गायिका मेलिना राईले साथ दिए पनि चर्चामा आशिष चुलिए।
रेकर्डिस्ट, एरेन्ज, कम्पोज र गायनको यात्रामा धेरै हण्डर खाए आशिषले। काठमाडाैँका गल्लीहरूमा भौतारिए। र पनि जीवनको ४५ वर्षीय यात्रामा संगीत क्षेत्रमै २५ वर्ष बिताए आशिषले।
लामाे यात्रा गर्नेहरू निरन्तर हिँड्छन्। थाक्नेकाे नाम लिँदैनन्। यस्तै अविरल सांगीतिक यात्रामा छन् आशिष।
यात्रा एकनासकाे हुँदैन। अनेकन दु:ख हुन्छ र नचिताएकाे हण्डर खानुपर्छ। यस्तै जाेखिमपूर्ण सांगीतिक यात्रा गरे आशिषले र कमाए लाेकप्रिय। तर गीतसंगीत क्षेत्रमा आफूलाई विद्यार्थी नै ठान्ने आशिष भन्छन्, ‘संगीत महासागर रहेछ जति सिके पनि नसकिने। सिक्दै काम गर्दै जानु पर्दाेरहेछ।’
बुवाको पछि लागेर विवाहमा बाजा बजाउन गएको थिएँ। नाच्ने निहुँमा जन्तीले मलाई कुटे, लात्तीले पनि हाने। त्यसपछि अरूको घरमा बाजा बजाउन गइनँ।’ उनले ती पुराना दिनमा भाेगेकाे एक घटना सुनाए।
गीतसंगीतमा प्रतिभाशाली कलाकार जन्माउने जिल्ला पनि हो, बाग्लुङ। त्यही प्रतिभा हुन् आशिष, जाे बागलुङको मल्म गाविसमा जन्मे- हुर्किए। गाउँघरमा गीतसंगीत उनको परिवारकाे नसानसामा थियो। उनका बुवाबाजे परम्परागत पेशा अन्तरगत पञ्जेबाजा बजाउँथे। तर आशिष ती दिनताका बाजा बजाउँदा स्याबासी नभएर अपमान सहनु परेकाे अनेक घटना छन् उनीसँग। ‘बुबाको पछि लागेर विवाहमा बाजा बजाउन गएको थिएँ। नाच्ने निहुँमा जन्तीले मलाई कुटे, लात्तीले पनि हाने। त्यसपछि अरूको घरमा बाजा बजाउन गइनँ।’ उनले ती पुराना दिनमा भाेगेकाे एक घटना सुनाए।
विभेदकाे मारमा परेका आशिष बाल्यकालमा बाहिर बाजा बजाउन नहिँडे पनि राेदी तथा मेलापर्वमा हुने सांगीतिक कार्यक्रममा पुग्थे,आफ्नै दाजुलाई पच्छाएर। उनका दाजु उम्दा लाेकदाेहाेरी गाउँछन्। गाउने रहरले त उनी समूहमा भेला हुन पुग्थे तर बजाउन रहर पुरा गर्न आफ्नै घर धेरैपटक ढुकेका छन्। घरमा काेही नभएकाे अवसर खाेज्नु पर्थ्याे। आशिष भन्छन्, ‘मलाई सहनाइ बजाउन खुब मन पर्छ। राम्रै बजाउँछुजस्ताे पनि लाग्छ अहिले त। तर त्याे बाल्यकालमा सहनाइ बजाउन घरका मान्छे खेततिर या कतै काममा निस्किएकाे माैका छाेपेर घरभित्र सहनाइ बजाउँथेँ। पछि आमाले कराएपछि छाेडिदिन्थेँ।’
सहनाइ बजेको सुनेर खाँदाखाँदैको भात छोडेर कुद्ने आशिष गाउन भने छाेड्थेनन्। गाउने रहरैरहरमा उनले गाउँ छाेडे। एसएलसी पास गरेसँगै उनी बागलुङ सदरमुकाम झरे । उच्च शिक्षाका अध्ययन गर्ने क्रममा बजाउने रहरले ‘रक्तिम सांस्कृतिक अभियान’मा जाेडिए। बाजा बजाउन जान्ने कलाकार चाहिएको ठाउँ पाएर रक्तिम समूहम जाेडिएका आशिषलाई गाउने रहरले छाेडेन अनि पाँच वर्षकाे अन्तरालमा उनी काठमाडाैँ आए । संगीतको आधारभूत ज्ञान बाेकेर काठमाडाैँ आएका आशिषलाई गाउने सपना पुरा हुने भयाे भनेर उत्साहित नै भए। उनी भन्छन्, ‘अब त गायक बनिने भइयाे भनेर कम्ता उत्साहित भएकाे थिएँ।’
‘साेचेकाे थिएँ काठमाडाैँमा पुगेपछि गायक भइन्छ। पछि सहरले भ्रम त ताेड्याे साथै संगीत बुझ्ने अवसर पनि दियाे।’
गायनमा फड्को मार्ने सपना बाेकेर ०५७ तिर काठमाडाैमा एक दलित तन्नेरीलाई गाह्राे नहुने कुरै भएन। तर आशिषले हरेश खाएनन्। गाउने तीब्र अभिलाषासहित सांगीतिक यात्रा पहिल्याउन थाले। त्यही साल रेडियो नेपालमा लोकगीत प्रतियोगितामा भाग लिए। उनी भन्छन्, ‘साेचेकाे थिएँ काठमाडाैँमा पुगेपछि गायक भइन्छ। पछि सहरले भ्रम त ताेड्याे साथै संगीत बुझ्ने अवसर पनि दियाे।’
सहरमा संगीतमा लाग्न गतिला गुरु चाहिन्थ्याे नै उनले ती गुरुहरु खाेजे संगीत सिके। अनि गायनमा निमग्न भए। गाउँघरमा जति दाेहाेरी गीत गाए पनि उनलाई तान्थ्याे आधुनिक गीतले। आधुनिक गीत गाउने कलाकारकाे इज्जत सम्मान र लाेकप्रियताकाे उचाइ बेग्लै थियाे र आशिषले लाेकगीत गाए पनि आधुनिक गीत चासाे राख्थे। र पनि उनले काठमाडाैँ आएकाे केही वर्षमै लोकदोहोरीको एल्बम निकाल्न थाले। यसबाट धेरै फाइदा त भएन तर स्टुडियाेमा गाउने धाेकाे पुरा गरे।
घरबाट आधुनिक गायक बन्न हिँडेको थिएँ। तर जसले पनि स्वर जमेन भनेपछि निराश भएँ। कतिसम्म निराश भएँ भने सांगीतिक क्षेत्र नै छोडेर गाउँ फर्किने बारे सोचें।
आधुनिक गीतकाे रन्काे लागिरहेकाे बेला उनले आफ्ना सर्कलमा कुरा गर्थे। तर सबैले उनकाे गलामा कमेण्ट गर्थ- याे स्वर लाेकगीतका लागि त ठीक हाे आधुनिक गीतका लागि त खासै जम्दैन। उनी त्यतिखेरकाे निराशा सुनाउछन्, ‘घरबाट आधुनिक गायक बन्न हिँडेको थिएँ। तर जसले पनि स्वर जमेन भनेपछि निराश भएँ। कतिसम्म निराश भएँ भने सांगीतिकक्षेत्र नै छोडेर गाउँ फर्किनु बारे सोचें।’
तर उनी फर्किएनन्। किनकि उनलाई निराश हुन दिएनन् सांगीतिक क्षेत्रकै अग्रजहरूले। संगीतकार बिबी अनुरागी भन्छन्, ‘सुरुवातीतिर उहाँ स्टुडियोहरूमा बाजा बजाउने र एरेन्ज गर्नुहुन्थ्यो। तर निरन्तर गायक बन्न खोज्दा बढी निराश हुनुभयो। अनि हामीले नै गायक मात्रै बनेर सांगीतिक क्षेत्रमा काम गरिन्छ भन्ने होइन। संगीतकार हुन सकिन्छ। एरेन्जर हुन सकिन्छ भनेर सल्लाह दियौँ। अनि उहाँले गायनलाई पछाडि राखेर निरन्तर संगीतमा काम गर्नुभयाे।’

स्टुडियाेमा आशिष अबिरल।
सुरुवाती दिनमा संगीतकार बिबी अनुरागीको स्टुडियोमा काम गर्थे आशिष। काम गर्दै गाउने अभिलाषा पालेका आशिषको गायनमा भन्दा संगीत कम्पोज र एरेन्जले मन जित्न थाल्याे। उनी पनि रमाउन थाले। बिबी अनुरागीका अनुसार आशिषले समय अनुसार मिहेनत गर्दै गएकै कारण नै यो लोकप्रियता कमाए। अनुरागीले भन्छन्, ‘आशिष एकदम मेहनती हुनुहुन्छ। उहाँले डेरामा सहनाइ बजाउँदा छरछिमेकमा अरूलाई अप्ठ्यारो हुन्छ भनेर स्टुडियो पुग्नुहुन्थ्यो र बिहानको समय सहनाइ बजाउनुहुन्थ्यो। सिक्नका लागि पछि नहट्ने मान्छेले नै हो प्रगति गर्ने।’
स्टुडियोमा काम गर्दै दर्जनौँ लोकगीत एरेन्ज गरे र आधुनिक गीतको कम्पोज पनि। अनि एक दिन आँट गरे एलबम निकाल्ने। ‘बास्ना’ नाम राखेर उनले २०६३ सालतिर एलबम निकालेपछि उनी आशिष आधुनिक गीतमा राम्रै नाम कहलिए। संगीत र संयोजनका लागि उनलाई खोज्न थाले। आनन्द अधिकारीको शब्द नरेन्द्र प्यासीको स्वरलाई दर्शक श्रोताले अत्यधिक मन पराइदिए, जसमा ‘तिमीबिनाको जीवन,’ ‘तिम्ले दिने माया,’ ‘फूलको दिलमा पनि,’ ‘माया ओ माया,’ ‘जाम क्यारे उडेर’ बोलको गीत लोकप्रिय छन्।
‘मेरो स्वर आधुनिक गीतमा भन्दा लोकगीतमा जम्दोरहेछ । पछिल्लो समय म लोक गीतमा आधारित चलचित्रका गीत गाइरहेको छु ।’
गीत लोकप्रिय भएपनि तीन सर्जकले थप ‘सृष्टि’ र ‘वाणी’ नामको एलबम पनि निकाले। उनी भन्छन्, ‘साठीको दशकको समय आधुनिक गीतको दबदबा थियो। त्यस्तोमा राम्रै चलिदियो गीतहरू अनि लाग्यो । गायकको परिचय स्थापित गर्न नसके पनि कम्पोजमा राम्रै परिचय बनाइयो भन्ने लाग्दैगयाे।’
आधुनिकतर्फ संगीतमा ‘तिम्ले दिने माया’ उनको डेब्यु गीत थियो, जसलाई नरेन्द्र प्यासीले गाएका छन्। संगीत बजार संक्रमण अवस्थामा भएको बेला आएको यो गीतले सिआरबिटीमा पनि राम्रै गर्यो। अनि आशिषले पछाडि फर्केर हेर्नुपरेन, नेपाली सांगीतिक बजारमा उनी सधैँ बिकाउ बने। आधुनिक, लोक, चलचित्र सबै क्षेत्रको संगीतमा अब्बल दरिए। ‘मेरो स्वर आधुनिक गीतमा भन्दा लोकगीतमा जम्दोरहेछ । पछिल्लो समय म लोक गीतमा आधारित चलचित्रका गीत गाइरहेको छु ।’
एउटा संगीतकारको स्वरै नभए पनि कम्पोजको सिलसिलामा निरन्तर गाउनु त पर्थ्याे नै । गायक बनेर दुनियाँले नचिने पनि संगीकारका रूपमा उनी स्थापित हुँदै गए। भन्छन्, ‘संगीतमा आफूलाईं स्थापित गर्नका लागि गायनबाहेक अरू पनि थुप्रै विधा रहेछन् जसलाई पछि चिन्न सकेँ।
रेकर्डिस्ट, एरेन्ज, कम्पोज वा मिक्सिङ, मास्टरिङमा पनि काम गर्दै आएका आशिष फेरि गायनमा फर्किए।
त्यो सम्भव कसरी भयो ?
‘हा हा हा,’ उनी एकछिन हाँसे र भने, ‘मलाई गलाले साथ दिएन भनेर साह्रै पिरिएकाे थिएँ। जुन गीत गाए पनि तिम्रो आवाज म्याच भएन भन्थे । त्यसपछि मैले दर्शक स्रोताका लागि गाउन छोडेको थिएँ, तर संगीत कम्पोजले मेरो रियाज बढाइदियो, जसका कारण मेरो स्वर निखारिदै गयो । अनि गाउन थालेँ ।’
ए मेरो हजुर- ३ बाट चलचित्रकाे गीतमा डेब्यु गरेका थिए। अन्जु पन्तसँग गाएको ‘परान परान’ बोलको गीतले युट्युबमा राम्रो भ्युज पायो । भन्छन्, ‘अहिले चलचित्रकर्मीहरुले खोज्नुहुन्छ।’
‘नाइ मलाई थाछैन, मीठो साह्रै मीठो, लाउनेले नजर लगायो त, माया लुकीलुकी मेरो दुनियाँ बेग्लै छ, यो कुरा गोप्य तिमी नै मेरो सास हौ म बाँचेको बोलको गीतमा उनको संगीत तथा एरेन्ज रहेको छ।
संगीतमा लागेर हरेश खाएका आशिष संगीतमै भविष्य देख्ने भएका छन्। आफ्नाे जीवनमा सारा खर्चपानी संगीतबाटै पूरा गरेका छन्। कुनै समय रेकर्डिस्ट स्टुडियाेमा काम गर्न आशिष अहिले राग स्टुडियाेकाे सञ्चचालक भएका छन्। संगीतका लागि भारतका विभिन्न सहर पुगे। सिके र पनि कुनै नयाँ काम गर्दा आफूलाई विद्यार्थी ठान्छन्।
‘हरेक नयाँ गीतमा गायक संगीतकारलाई चुनाैती छ। याे एकपटक पढेर आजीवन हस्ताक्षर गरी खाने जागिरजस्ताे रहेनछ। हरेक पटक परीक्षा हुन्छ नयाँ गीत। एउटा गीत चल्याे अर्काे चलेन भने खस्किनुपर्छ,’ उनले अनुभव सुनाए।
‘सालको पात टपरी हुने’,’लालुमै’ ‘माया लुकी लुकी,’ जस्ता लाेकप्रीय गीतकाे संगीत संयाेजक हुन आशिष । तर गायनलाई बिचमा थाँती राखेर संगीत कर्ममा लागेका आशिष गायनमा स्थापित भए।
संगीतको साधना कहिल्यै नसकिने तर्क गर्ने आशिष लाेकशैलीकै गीतमा रमाउने बानी बसालेका छन्। आधुनिक गीत कम्पाेज नै गरे पनि गायनमा उनी लाेकैशैली खाेज्छन् । सकेसम्म आफ्नै कम्पाेजमा गाउँछन्। भन्छन्, दर्शक स्राेताले जे खाेजेका छन् त्यहीँ दिन सकियाे भने राम्राे।’
लाेकशैली र डान्सबिटकाे दबदबा चलिरहेकाे बेला चलचित्रमा पनि उनकाे उपस्थित प्रभावकारी बन्दै गएका छ। नयाँ चलचित्रकर्मीले उनकाे संगीत र स्वर खाेज्न थालेका छन्।
‘सालको पात टपरी हुने,”लालुमै’ ‘माया लुकी लुकी,’ जस्ता लाेकप्रीय गीतकाे संगीत संयाेजक हुन आशिष । तर गायनलाई बिचमा थाँती राखेर संगीत कर्ममा लागेका आशिष गायनमा स्थापित भए।
मेलोडियस संगीतबाटै उदाएका आशिष लाेकशैलीका गीतमा आवाज दिँदै आएका आशिषका गीत चल्छ मात्र हाेइन भाइरल नै हुन्छ। भनिन्छ आफ्नाे प्रतिभा चिन्न समय लाग्छ । या कसैले चिनाइदियाे भने बुझाइदियाे भने त्याे बाटाे लाग्न सक्छन्। आशिषले पनि बाटाे देखाउनेहरू पाए र आफूलाई निखार्दै पनि लगे। र आजकाे दिनमा रैयाँ चाँदीकाे जस्ता गीतहरूमा उनी गुन्जिन्छन्। आधुनिक गीतका संगीतकार लाेकशैलीका गीत गाएर लाेकप्रियता कमाए।
गायनमा स्थापित नाम आशिषलाई अहिले स्टुडियो र संगीतकारले मात्रै होइन देशमा हुने मेला महोत्सव र सांगीतिक कार्यक्रमले पनि निम्दो दिन थालेको छ । ‘अहिले मेला महोत्सवले पनि मलाई खोज्न थालेको छ,’ उनले भने, ‘संगीतकार एरेन्ज हुँदा बाहिरी संसारले खोजेको थिएन तर चलचित्रका केही गीत चलेपछि मेला महोत्सवमा पनि पुग्न पाएको छु ।’
पूरा भिडियो: