
जनकपुरधाम— रिंकुकुमारी सदायको घटनामा प्रहरीले मुख्य आरोपितसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले करणीसम्बन्धी कसुरमा मिलापत्र गराउने र मुख्य अभियुक्तसहित ८ जनालाई विभिन्न मितिमा पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले फागुन ११ गते चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२७ क (करणीसम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने) बमोजिमको कसूरमा नियन्त्रणमा लिएको थियो।
यस्तै, घटनाका मुख्य आरोपित रुपेश मण्डललाई बुधबार नेपाल भारत सीमा नजिकबाट नियन्त्रणमा लिएको थियो। शुक्रबार वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, बिन्देश्वर साह र राजेन्द्र मण्डललाई पक्राउ गरीएको प्रवक्ता पासवानले जानकारी दिए।
यस घटनामा अहिलेसम्म ८ जना पक्राउ परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
माघ २७ गते राति करिब ९ बजे शौच गर्न निस्किएकी रिंकुको सामूहिक बलात्कार भएको थियो। बलात्कारपछि गाउँमा हल्ला भएपछि केही स्थानीयको पहलमा घटनालाई मिलाउन गाउँमै पञ्चायती बसेको थियो। पञ्चायतीले १ लाख ४० लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। पञ्चायतीको निर्णयपछि रिंकु माघ ३० गते आफ्नै घरमा मृत फेला परेकी थिइन्।
यस घटनामा सुरुमा मृतककी काकाले आत्महत्या दुरुत्साहन शीर्षकमा मुद्दा दर्ता गराएकोमा पछि मृतककी आमाले सामूहिक तबरबाट जबरजस्ती करणी गरी हत्या गरेको, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको अन्तर्गतको कसूर शीर्षकमा ८ जनाविरुद्ध पूरक जाहेरी दिएकी थिइन्।