ठेकेदारको मनलाग्दी उत्खनन्, मौन जनप्रतिनिधि !

ठेकेदारको मनलाग्दी उत्खनन्, मौन जनप्रतिनिधि !
+
-

पोखरा- बुङबुङ्ती धूलो उडाउँदै ढुुंगा बोकेको टिपर हुँइकिन्छन् । ढुंगा खन्याएर फर्किहाल्छन् । झण्डै दुई किलोमिटर टिपर पछ्याउँदै पुग्दा पहरोमा डोजरले डोब लगाइरहेको दृश्य भेटिन्छ ।

शुक्लागण्डकी नगरपालिका–११ कौढुंगा गाउँको फेदीमा रहेको खेत सम्याउने भन्दै मस्त ढुंगाको उत्खनन् भइरहेको छ । ढोरवाराही मोटरमार्ग अन्तर्गत साँखे–थुम्कीडाँडा सडक खण्डको कालापत्रेको ठेक्का पाएको अकेला एटलन्टिक जेभीले खेतसँगै रहेको पहरोलाई भत्काएर ढुंगा उत्खनन् गरिरहेको हो ।

उत्खनन् भइरहेको स्थान हेर्दा महिनौं दिनदेखि काम भइरहे जस्तै देखिन्छ । ढल्याबरको विशाल पहरो भत्काएर उत्खनन् भइरहँदा शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि बेखबर जस्तै छन् । उत्खनन् गर्ने ठेकेदार र जग्गावालाले न अनुमति लिएका छन् । न त प्रारम्भिक वातावरणीय परीक्षण गरेका छन् ।

सबैभन्दा नजिकको सरोकारवाला वडा कार्यालयदेखि नगरपालिकासम्म यो विषयमा तैचुपमैचुप छन् । वडाध्यक्ष शालिकराम भट्टराई उत्खनन्को अनुमतिबारे वडालाई कुनै जानकारी नभएको गैरजिम्मेवार प्रतिक्रिया दिन्छन् ।

‘ढुंगाको व्यवस्था गरिपाउँ भनेर नगरपालिकामा पुर्जा र व्यक्तिको निवेदन लिएर नगरपालिकामा बुझाउने काम भाको हो । नगरपालिकाले अनुमति द्याछ, छैन त्यो बारेमा जानकारी छैन’, उनले भने ।

उत्खनन् भइरहेको विषयमा भने आफू जानकार रहेको भट्टराईले सुनाए ।

‘हामीले वडाध्यक्ष भट्टराईलाई प्रश्न गर्यौं अनुमति लिएर भएको हो या नलिइ यसबारे किन चासो रहेन ? निवेदन दिइसकेपछि नगरपालिकाको उपमेयरको नेतृत्वमा एउटा अनुुगमन टोली आएर निरीक्षण गरेर गइसक्नुभाको छ’, उनले भने ।

शुक्लागण्डकीका अनुगमन समितिका संयोजक उपमेयर खुमबहादुर विक (राजु) भने खन्न सुरु नहुँदै पुगेको बताउँछन् । ‘निवेदन दिइसकेको थियो । विधिवत् छ कि छैन कसो छ । व्यक्तिको हो की सार्वजनिक छ भनेर हेरेर आएका हौं’, उनले भने ।

अनुगमनमा सँगै गएका थपलाई सम्पर्क गर्दा भने उत्खनन् सुरु भइसकेको सुनाए । त्यसपछि वडाध्यक्ष भट्टराईसँग यो विषयमा थप बुझ्नलाई पटक पटक सम्पर्क गर्दा फोन उठाएनन् ।

शुक्लागण्डकी नगरपालिका–११ कौढुुंगाको ढल्याबरमा उत्खनन् गर्नलाई नगरपालिकाले अनुमति नदिएको मेयर कृष्णराज पण्डित र सूचना अधिकारी लक्ष्मण लम्सालले जानकारी गराए ।

दुवैको एउटै भनाइ थियो, ‘उत्खनन्का लागि अनुमति नगरपालिकाले दिएको छैन ।’ शुक्लागण्डकी नगरपालिकाको निजी जग्गाको ढुंगा, गिटी, बालुवा, माटो आदि उत्खनन्, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धि आफ्नै कार्यविधि छ ।

हालैको हिउँदे नगरसभाले संशोधन गरेको कार्यविधिको दफा ६ मा १ रोपनी भन्दा बढी अथवा ३०० घनमिटर भन्दा बढी ढुंगा, गिटी, बालुवा, माटो आदिको उत्खनन् हुन सक्ने क्षेत्रफलको अनिवार्य रुपमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भनिएको छ ।

ढल्याबरको उत्खनन्मा न अनुमति छ न कार्यविधिमा भनिएको जस्तो प्रारम्भिक वातावरणीय परीक्षण भएको छ । पहरो नै भत्काउने गरेर भएको उत्खनन्मा वडा कार्यालयदेखि नगरपालिकाले मौन साथ दिएका छन् ।

उत्खनन्को विषयमा हामीले चासो देखाएपछि भने नगरपालिकाले इञ्जिनियर र अमिनसहितको अनुगमन टोली स्थलगत निरीक्षण गर्न खटाएको छ । सोमबार अनुगमन टोली पुगेपनि कति परिमाणमा उत्खनन् भएको छ ? सार्वजनिक जग्गामा उत्खनन् भएको हो या होइन भन्ने विषय अझै एकिन भएको छैन ।

ढल्याबरमा मात्रै होइन शुक्लागण्डकीमा सडक निर्माणको ठेक्का पाएका अन्य निर्माण कम्पनीले खेतबारी सम्याउने नाममा मनलाग्दी उत्खनन् गरिरहेका छन् । संघ, प्रदेश र स्थानीय तहको बजेटबाट सडक स्तरोन्नती गर्न ठेक्का लिएकाले जग्गा सम्याइदिने, बाटो बनाइदिने नाममा अनुमति नलिइकन उत्खनन् गरेको खुलेको छ ।

शुक्लागण्डकी नगरपालिका–१० छापामा ढोरवाराही मोटरमार्गको सडकको केही तल पनि त्यसैगरि उत्खनन् भइरहेको छ । सडक डिभिजन कार्यालय अन्तर्गत मान्द्रे–साँखे सडक मर्मतको जिम्मा लिएको बागेश्वरी बिल्डर्स प्रालिले उत्खनन् गरेको हो ।

बिल्डर्सले सुरुमा नगरपालिकाबाट अनुमति लिएर उत्खनन् गरेको बताएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । नगरपालिकाले अनुमति नदिएको थाहा पाएपछि आफूले रोकेको उनले बताए ।

बागेश्वरी बिल्डर्सका प्रतिनिधि दीपक रैसवालले बारी सम्याउनलाई एउटा ठूलो ढुंगा मात्रै फुटाएको बताउँछन् । तर, त्यहाँ सडकको तलपट्टि उत्खनन् भएकाले बर्खामा भीषण बर्षा हुँदा पहिरो खस्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

शुक्लागण्डकी नगरपालिका–१ थप्रेक पुग्ने लालध्वज सडक निर्माणका लागि तल्लीपोखरी नजिकै पनि उसैगरि निर्माण व्यवसायीले उत्खनन् गरेको छ ।

थप्रेककै सिम्लेमा पनि सडक स्तरोन्नती गर्न उत्खनन् भएको छ । तर, त्यहाँ पनि कसैको नजर परेको छैन । केही दिन अघि मात्रै शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा दुलेगौंडा लिलचोक मोटरबाटो निर्माणको जिम्मा पाएको बानियाँ निर्माण सेवाले ढुंगा संकलनको अनुमति लिएर उत्खनन् नै गरेको थियो ।

त्यहाँको उत्खनन्को विषय निकै विवादमा छ । बानियाँ निर्माण सेवाले संकलनको वाहानामा तोकिएको भन्दा बढी ढुंगा उत्खनन् गरेपनि कारबाहीतर्फ नगरपालिकाले चासो दिएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?