
पोखरा– चीन–पोखरा नियमित उडान हुने भएको छ। चीनको छेङदुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन लागेको हो।
नियमित उडानका लागि यही चैत ५ गते चीनको सिचुवान एयरलाइन्सले छेङ्दु–पोखरा उडान भर्न लागेको छ।दु
सिचुवानको जहाज १२७ जना पर्यटक बोकेर बिहान अवतरण गर्ने तय भएको छ। दुई घण्टापश्चात १२७ जना नेपाली पर्यटन व्यवसायीलाई लिएर जहाज छेङदु प्रस्थान गर्नेछ।
सिचुवानले यसअघि पुस ११ गते १२६ यात्रु लिएर पोखरा विमानस्थल अवतरण गरेको थियो। यो नै पोखरा विमानस्थलमा यात्रु लिएर अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो जहाज हो।
२०८० असार ६ गते चीनको छेङदुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।
पोखरा पर्यटन परिषद्, चिनियाँ दूतावास र सिचुवान एयरलाइन्सको सहकार्यमा उडान सुरू हुन लागेको हो। सुरुआतको उडान चार्टड हुने पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। ‘विस्तारै नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ’, उनले भने ।
उनका अनुसार तीन महिनाको अवधिमा एक हजार २५० चिनियाँ पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको छ।
२०७९ पुस १७ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टड, डेमो उडान र राहत लिएर आएकोसहित गरेर जम्मा ११ वटा अन्तर्राष्ट्रिय उडान भएको छ।
हिमालय एयरलाइन्सले पनि चीनको ल्हासासँग जोड्नलाई हप्तामा एक उडान भर्ने तयारीमा छ। चैत १८ गते हिमालय एयरलाइन्सको विमानले ल्हासाबाट पोखरा उडान भर्ने प्रारम्भिक योजना छ।
ल्हासाबाट उडेको हिमालय एयरलाइन्सको विमान दिउँसो १२ बजेर ४५ मिनेटमा पोखरा अवतरण गर्नेछन्। चैत १९ गते पोखराबाट विहान ८ बजेर २० मिनेटमा ल्हासाको गोङ्ग्वर विमानस्थलका लागि उडान गर्ने जनाइएको छ।
चीनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो।
सन् २०१४ मे ३१ मा नागरिक उड्यन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो। २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि पूरा नभएपछि २०७९ पुस १७ गते उद्घाटन भएर सञ्चालनमा आएको थियो।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण सुरु भएको थियो। झन्डै पाँच दशकमा पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चहाना पूरा भएपनि नियमित उडान नहुँदा निराश छन्।