
पोखरा – तनहुँको छिम्केश्वरी मन्दिरमा फागु पुर्णिमाको दिन दर्शानार्थीको भीड लागेको छ। आँबुखैरेनी गाउँपालिका-५ मा रहेको मन्दिरमा पूजाअर्चना र मेला भर्न आउने भक्तजनको भीड लागेको हो।
बिहानैदेखि दिउँसोसम्म मन्दिरमा भक्तजनको निकै चहलपहल छ। यहाँ भाकल गरेपछि पूरा भएका दर्शनार्थी आउने गर्छन्। भक्तजनले पुजापाठसँगै बोकाको बली दिए। मनोकांक्षा पूरा भएका भक्तजनले जोडी परेवा उडाएका छन्।
तनहुँकै सबैभन्दा अग्लो दुई हजार १३४ मिटर उचाइमा रहेको मन्दिरमा हरेक वर्ष फागु पुर्णिामा र बैशाखे पुर्णिमामा भक्तजनको भीड लाग्छ। यहाँ गोरखाको प्रसिद्ध मनकामना माइको जेठी दिदी बुढिकन्यादेवी माई र माइली दिदिको रुपमा चिनिने छिम्केश्वरी माईको मन्दिर छ। मनकामना दर्शन गरेकाले यहाँ दर्शन गर्नुपर्ने धार्मिक मान्यता रही आएको छ।
फागु पूर्णिमाको मेला भर्नलाई तनहुँका विभिन्न स्थानसँगै गोरखा, लमजुङ र चीतवनबाट समेत भक्तजन आएका थिए।