
भक्तपुर– नासुमनाका श्याम कृष्ण त्वाना। भक्तपुरको यो सानो चोकबाट हरेक बिहान १० बजे भक्तपुर दरबार क्षेत्र पुग्छन्, दिन त्यहीँ गुज्रिन्छ, बेलुका पाँच बजेपछि घर फर्कन्छन्। पेशाले कालिगढ हुन्।
नाम, श्याम कृष्ण त्वाना
उमेर, ४७ वर्ष
पेशा, कालीगढी, (२४ वर्षदेखि सक्रिय)
‘घरमा पैसाको दुःख थियो, पुर्खौली सम्पत्ति पनि धेरै थिएन, ज्याला गर्न जान थाले यसरी नै काम सिकेँ’ श्यामकृष्ण सम्झना थाले, ‘पहिलो पटक कमाएको तलब ५० रुपैयाँ थियो। अहिले सालाखाला ३० हजार पुग्छ ।’
त्वाना बुवाआमाका माइला सन्तान, एक दाजु र दुई बहिनी । भक्तपुर, राममन्दिरको शान्ति निकेतन माविमा कक्षा १० सम्म पढे। भक्तपुर बहुमुखी क्याम्पसमा ११ पढ्दै थिए, कमाइमा स्वाद बस्यो, अनि छोडे पढाइ। त्यसपछि जे सिक्नु, जे जान्नु छ, यहीँ छ, यतै छ।
अहिले परिवारमा उनका बुढाबुढी दुई छोरी, एक छोरा छन्।
उनलाई ढुंगामा बुट्टा कोर्न आउँछ, घर तथा मन्दिरलाई आकार दिन पनि। वि.सं २०७२ सालको भूकम्पमा भक्तपुर दरबार क्षेत्रका सम्पदा पनि ढले। त्यही भत्किएको संरचना मध्ये राष्ट्रिय कला संग्रहालय अगाडिको केदारनाथको मन्दिर र ५५ झ्याले दरबार अगाडिको वत्सला दुर्गा देवी मन्दिरलाई उनी फेरि ठड्याउँदैछन्। दुवै शिखर शैलीमा।
पसिना पुच्छदै लगाएको क्याप निकाले अनि टक्टक्याउँदै भने, ‘धुलै धेरै।’
उनको हातले केदारनाथको गजुर मात्र राख्न बाँकी मन्दिरलाई इंगित गर्यो, ‘त्यो मन्दिर बनाउँदा त चिन्न नै नसकिनी धुलो।’
उनले लगाएको सर्ट सुकिला थिएनन्, हात पनि धुलै धुलो, मुखमा माक्सचाहिँ कटिङ्गको काम गर्दा मात्र लगाउछन् रे। तर उनका कुरा कपडाभन्दा पनि सुकिला। उनी आफ्नै ठाउँ बनाउन लागिपरेका छन्। कामको सिलसिलामा धेरै जिल्ला घुमिसकेका छन्। ‘काठमाडौँको पनि धेरै ठाउँमा काम गर्न गएको छु’ श्याम भन्छन्, ‘भुईँचालो पछि यतै छु।’
साना पाटीपौवादेखि घर बनाउने काम सम्मको ठेक्का लिन्छन् उनी। कामको त दुःख नै छैन। कमाउन पनि मञ्जाले सकिन्छ। तर उनी अहिले भक्तपुर नगरपालिकाले निर्माण गरिरहेको सम्पदा पुन निर्माणमा लागि परेका छन्।
‘एक दिनको १२ सय ज्याला आउँछ।, मैले निजी काम गरेर कमाउने भन्दा त कमै हो तर मलाई गरेर देखाउनु नै छ।’ उनी आँट सुनाउन थाले। नसा फुलेको हातले गारो बढाउन मिल्ने साइजको ढुंगा खोज्न थाले। अलि लामो रहेछ, ह्याम्मरले फुटाए ‘ट्वाङ्ग, ट्वाङ्ग’।
‘यो मन्दिरको काम अरु काम जस्तो सजिलो हुँदैन, डिजाइन गर्दागर्दै धेरै समय लाग्छ।’ छिटो छिटो काम गर्ने मानिसले यहाँ काम गर्न गारो हुने बताउँदै उनले भने, ‘यो एउटा नियममा बाँधिएर गर्नुपर्ने हुन्छ, प्रक्रियामा चल्नुपर्ने भएकोले कहिलेकाहिँ सामान ल्याउन ढिला हुन्छ। धैर्य गर्नुपर्छ।’
निधारमा आएको पसिना पुछ्दै उनी आधा बनेको वत्सला दुर्गा मन्दिरमा फेरि ढुंगाको सल थप्न थाले। दुईवटा ढुंगा टाँस्न सिमेन्ट र बालुवाको घोल हैन, सुर्की (इट्टाको धुलो) चुन बालुवाको मिश्रण जसलाई ‘बज्र’ भनिन्छ, त्यहि लगाउँदैछन्। ज्यावल सर्याक सर्याक आवाज निकाल्दै छ। ‘उपभोक्ता समितिले तपाईँले हेरेर गरिदिनुस् भने, मैले पनि हुन्छ भनेँ।’
आम्दानी कम हुने भो भन्ने उनलाई चिन्ता पनि छैन, ‘आफ्नो ठाउँ राम्रो हुनु पर्यो नि, यता भद्रगोल छोडेर अन्त बनाउन जान मन लागेन।’ केही जिम्मेवारी महशुस भएजस्तै भाव पोखियो। उनी भन्छन्, ‘पुरै मन्दिर बनिसक्न अर्को असार कुर्नुपर्छ।’
भक्तपुर नगरपालिकाले नगरभित्रका सबैजसो काम उपभोक्ता समितिको मार्फत गर्ने गरेको छ। बाटोमा ढुंगा छाप्ने होस्, पाटि पौवा बनाउने, धारा बनाउने, सम्पदा बनाउने आदी कामहरु जो सार्वजनिक चासोका हुन्छन्, जुन टोलमा बनाउने हो, त्यहि टोलका मानिसको सहभागिता हुन्छ, कालिगढहरु मात्रै छानिन्छन्।
वत्सला दुर्गा मन्दिरको पुन निर्माणको लागि २०७२ साल देखि श्री वत्सलादेवी पुन निर्माण उपभोक्ता समितिले काम गरिरहेको छ। समितिका अध्यक्ष भन्छन्, नगरपालिकाले आफ्नो ठाउँमा भएको सीप र क्षमताको उपयोग गर्छ, तालिमप्राप्त दक्ष बनाउँछ र आफ्नै ठाउँमा रोजगारी दिलाउँछ।
‘आफ्नो ठाउँमा आफैले बनाए भनि त्यसको माया धेरै हुन्छ, संरक्षण हुन्छ।’ अध्यक्ष रामहरि गोरा भन्छन्, जसजसले काम गरिरहनु भएको छ पैसालाई कम महत्व दिनुभएको छ। कम्तिमा पनि उहाँहरुले १५ सय ज्याला लिनुपर्ने तर ११ सय, १२ सयमा मानिरहनुभएको छ। कस्ले बनाएको भन्दा, ‘नाम’ पनि आउँछ नि त।’
तर काम गर्ने मान्छेको भने सर्टेज छ।
अध्यक्ष गोरा भन्छन्, ‘हिजोआज जताततै पुनर्निर्माणको काम भइरहेको छ, पाटन, डालेश्वर। ढुंगाको काम गर्ने मान्छे नै छैनन् अनि धेरै पैसा खोज्नेले समाज सेवा गर्दैनन्।’
श्याम कामको पछाडि दौडनुको दुईवटा प्रमुख कारण भन्न थाले, ‘दाम अनि नाम।’
अहिले उनले गरेको काम दाम कम प्राथमिकतामा परेको मान्छन्। भक्तपुरमा कालिगढको राम्रो छाप बनाइसकेको भएर पनि उनलाई यो काम सक्काउनै पर्ने जिम्मेवारी छ। अनि जो दामको पछि लागेर आफ्नै ठाउँको काम त्यागेर हिँडेका छन्, उनीहरुलाई देखाउनु छ। ‘पैसा नै ठूलो हैन, आफूनै बस्ने ठाउँ राम्रो नभई अन्त गएर जति सिंगारे पनि त्यसको अर्थ हुँदैन।’