पोखरा – झांगिएका १५ बढी कफीका बोटहरु राधादेवी पोखरेलले श्रीमान् अफिस गएको बेला पारेर हँसियाले छप्काइदिइन्। भोलिपल्ट विहान बार्दलीमा बसेर चियाँ पिउने बेलामा धर्मानन्दले सर्लक्कै ढलेका कफीका बोट देखे।
हुर्किएर फल दिन थालेका कफीका बोट गिँडिदा उनलाई विघ्नै दुख्यो। २०२८ सालमा कुश्माको सरकारी अड्डामा कार्यरत छँदा उनले बिउ ल्याएर फुटेको हन्डामा विरुवा जमाएका थिए।
कफीको विरुवालाई जतनले हुर्काए। ‘कफीको बोट किन यसरी काटेको?’, धर्मानन्दले श्रीमतीलाई प्रश्न गरे। प्रश्नोत्तरले भनाभनको स्थितिमा पुर्यायो। घरझगडाले श्रीमान्/श्रीमतीको केही समय त बोलचाल नै बन्द गरायो।

विश्वबन्धु पोखरेल
राधादेवीले श्रीमान्सँग दन्तबजान हुने गरेर कफीको बोट गिँड्नुको कारण थियो, ‘न बजार न त महत्व नै!’ कफीलाई छहारी दिइरहेका सुन्तलाका बोटले राम्रो आम्दानी दिइरहेका थिए। ठेकेदार मोलमोलाइ गर्न फेदैमा आइपुग्थे। कफीका बोटले जग्गा मात्रै ओगटेका उनलाई भान हुन्थ्यो। आम्दानी नदिए पनि स्याहार गर्नको दुःखले काटेकी थिइन्। रहरले हुर्काएका कफीका बोट काटिएको घाउ धर्मानन्दको मनमा खाटो बस्न लामै समय लाग्यो।
बुवाआमाबीच बोलचाल नै बन्द गराउने कफीका विरुवालाई हुर्काएर अहिले विश्वबन्धु पोखरेलले दामसँगै पहिचान कमाएका छन्। उनको पौरखले कफी लगाउने किसानलाई हौस्याउँदै छ। विश्व बजारमा नेपाली कफीको गुणस्तरीय छाप छोड्दैछ।

नवराज पोखरेल।
अहिले राधादेवी, विश्वबन्धु र विश्वबन्धुका छोरा नवराज तीन पुस्ता मिलेर कफीका बेर्ना उत्पादनदेखि कपसम्म कफीको स्वाद पुर्याउन तल्लिन छन्। कास्कीको पोखरा महानगरपालिका–२१ कृस्ति वयलीमा नेपाल ब्लु माउण्टेन अर्गानिक फार्म सञ्चालन गरेर पोखरेल परिवारले युरोपसम्म नेपाली कफीको स्वाद चख्याउँछन्। विदेशी विश्वविद्यालयका विद्यार्थीलाई कफीको अध्ययन अनुसन्धान गर्न कृस्तिसम्म डोर्याएको छ।
कानुनका विद्यार्थी विश्वबन्धुले केही वर्ष वकालत गरेको सुनाउँछन्। वकालत गर्दा कहिलेकाहीं झुटलाई सही र सहीलाई झुट भन्नुपर्ने उनलाई फिटिक्कै मन परेन। केही वर्ष विद्यार्थीलाई अक्षर चिनाए। गाउँलेलाई अनौठो लाग्ने गरेर धान फल्ने खेतमा सुन्तलाका विरुवा हुर्काए। पछि सुन्तलाले राम्रो आम्दानी दिएन, बोटहरु मासिदै गए।
त्यसपछि उनले सुरु गरे व्यवसायिक कफी खेती। २०५८ सालमा सुरु गरेको कफी खेतीलाई उनले निरन्तरता दिइरहेका छन्। बाँदरले समेत त्यति क्षति नपुर्याउने कफी खेती गर्नलाई किसानको ‘आइडल’ विश्वबन्धु बन्दै छन्।
‘कफी बोट काटेको विषयले बा र आमाबीच बोलचाल नै भएन। त्यो पीडा कता कता मभित्र लुकिरारच। कफी खेतीतर्फ त्यसले तानिरहेको रहेछ’, कफी खेती सुरुआतको कथा सुनाउँदै उनी भन्छन्, ‘विदेशीहरु यो बाटो हिँडिराख्थे। बाउ कफी भन्दै रमाउने उनीहरु। एक दिन त एक जना जर्मनीले कफी कति विक्छ हाम्रो देशमा भन्यो। त्यसपछि कफी खेतीमा लाग्न झनै प्रेरित गर्यो।’
उनी आफैं पनि कफीका बारेमा अध्ययन गर्न थाले। उनलाई पत्तो भयो, ‘बजार त एकदमै राम्रो रच। पेट्रोलियम पदार्थपछि विश्व बजारमा बिक्री हुने दोस्रो उपज कफी रहेछ।’ भर्खर भर्खर नेपालमा व्यवसायिक कफी खेती सुरु भएको बेला थियो। डलरको भाउ पाइन्छ कफीको भनेपछि उतिखेर मख्ख परेर दिलोज्यान लगाएर लागेको विश्वबन्धु सम्झन्छन्।
अहिले विश्वन्धुको दैलोमा रहेको बगानमा करिब दुई हजार साना ठूला कफीका विरुवा हुर्कदै छन्। केही हुर्कदै त कतिपय बोटमा लटरम्म दाना लागेका छन्। दुई हजार किलो बढी आफ्नै बगानमा कफीको दाना फल्छ। दुई वर्ष पहिले स्याङजामा तीन हजार बिरुवा लगाएका छन्।
वार्षिक १५ हजार किलो अन्य किसानले लगाएको कफीको दाना (चेरी)संकलन गर्छन्। कफीलाई ग्रेडिङ, प्रशोधन, रोष्टिङ गरेर गुणस्तर कायम गर्दै बजारसम्म पर्याउँछन्। कफीका बिरुवा चाहिने किसानको सहजतालाई ध्यानमा राखेर नर्सरी पनि चलाएका छन्। पोखराका क्याफेहरुलाई ‘बिन्स’ उपलब्ध गराउछन्।
विश्वबन्धु र छोरा नवराज मिलेर मन्त्र बनाएका छन्, ‘सिड्स टु कप।’ २३ वर्षदेखि निरन्तरता दिइरहेका उनले तितो कफीबाट गुलियो सन्तुष्टि लिएका छन्। स्वादमा तितो लाग्ने कफीको चरित्र गुलियो रहेको विश्वबन्धु बताउँछन्। त्यसैले त अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको सम्भावना निकै रहेको उनको ठम्याइ छ।
‘कहिले दुध बिकेन भनेर पोखेको तपाईं हामीले देखेको हुन्छौं। तरकारी सडकमा गाडीले कुल्चाएको फ्याँकेका घटनाहरु छन्। तर, कफीमा त्यो खालको पीडा अहिलेसम्म छैन। मलाई लाग्छ अझै १० वर्ष नेपालीले जति उत्पादन गरेपनि त्यस्तो समस्या आउदैन। मेहनपूर्वक लाग्न आवश्यक छ’, उनको भनाइ छ।
कृषि पेशामा मिहिनेत अपरिहार्य रहेको उनको अनुभवले बोल्छ। विश्वबन्धु जिकिरका साथ भन्छन्, ‘मिहिनेतको साथ लागियो भने किसान भोको रहदैन। कफी खेती घाटा छैन।’
विश्वबन्धुको परिवारले निकै मिहिनेतका साथ कफीको काम गर्छन्। आमा राधादेवी र श्रीमती इन्दिरासँग मिलेर विश्वबन्धुले कफीको बोटको स्याहारसुसार गर्छन्। कफीको ग्रेडिङ र प्रशोधनमा राधादेवी र इन्दिरा पोख्त छन्। रोष्टिङ गर्ने, बिन्स र कफीको धूलो तयार पार्न विश्वबन्धु जाँगर निकाल्छन्। गुणस्तरीयता कायम र बजारीकरणमा तेस्रो पुस्ता नवराजको दौडधूप निकै छ। बुवाले उत्पादन गरेको कफी डेलिभरी मात्रै गर्ने नवराज अचेत यसैमा भविष्य देखेर तल्लिन छन्।
पासपोर्ट बोकेर विदेश उड्ने सपना उनीसँगै छैन। ‘सुरुमा बुवाले तयार गरेको कफी डेलिभरी गर्थें। विस्तारै ग्राहकले कसरी रोष्ट भा हो। पक्रिया कसरी गर्यो हो भनेर सोध्न थाल्नुभो। विस्तारै के रहेछ त यो सब जिज्ञासा बढ्न थाल्यो’, उनले भने, ‘विस्तारै कफीभित्र छिर्न थालेपछि यसको प्रक्रिया, स्वाद निकै बृहत र मज्जा लाग्दै जान थाल्यो। त्यसपछि आफूलाई पनि यसैमा संग्लन गराए।’
अहिले उनी बजार व्यवस्थापन, लेखा व्यवस्थापन, कफीको गुणस्तर कायम, कफी उत्पादनका नयाँ प्रविधिसँगै प्रक्रियाबारे उनी पोख्त भएका छन्। विदेशसम्म कफी पुर्याउने जिम्मेवारी पनि उनैको काँधमा छ। विदेशी ग्राहकले रुचाएको नेपाली कफीको स्वादले झनै प्रेरित गरेको उनले सुनाए।
कफी पारखीको संख्या दिनानुदिन बढेकाले बजारमा मागसमेत बढेको उनको विश्लेषण छ। ‘तत्कालै आम्दानी खोज्ने हो भने अर्कै पेशामा लाग्नुपर्छ होला। तर, समय दिएर निरन्तर मिहिनेत गर्ने हो भने कफीमा सम्भावना छ’, कफी खेती गर्न चाहनेलाई उनको सुझाव छ, ‘एकैचोटीमा त कफीको फल लिन मिल्दैन। कम्तीमा पनि तीन वर्ष कुर्नुपर्छ। बजार नभाको या बिक्री नहुने हो कि भन्ने छैन।’