
दाङ- दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज कर्णाली प्रदेश र बागमती प्रदेश टीम भिड्दै छन् ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई टीमबीच बिहान ९ बजेपछि खेल सुरु हुनेछ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चाैथाे स्थानमा रहेको कर्णाली प्रदेश र छैठौँ स्थानमा रहेको वाग्मती प्रदेश टीम बीच खेल हुन लागेको हो ।
अहिलेसम्म ७ खेल खेलीसकेको कर्णाली प्रदेश ४ मा जीत र ३ मा हार व्यहाेर्दै ८ अंकका साथ चाैथाे स्थानमा रहँदा समान ७ खेल खेलीसकेको वाग्मती प्रदेश ३ खेलमा जीत र ४ खेलमा हार व्यहोर्दै ६ अंकका साथ अंक तालिकाको छैठाैँ स्थानमा छ ।
कर्णाली प्रदेशमा कप्तान पुनसँगै रविन्द्र शाही, सुनिल धमला, निश्चल रावल, विपिन रावल, दीपेन्द्र रावत, अर्जुन घर्ती, हिमांशु जाेशी, दिनेश अधिकारी, प्रकाश जैशी, अनुज चनारालगायत खेलाडी छन् ।
बागमती प्रदेशको कप्तानी पृथु बास्काेटाले सम्हालेका छन् भने कर्णाली प्रदेशको कप्तानी दिवान पुनले सम्हालेका छन् । बागमतीमा कप्तान बास्काेटासँगै आशुतोष घिरैया, ईशान पाण्डे, शुभ कंशाकार, साैरभ सुखाकर्मी, विपिन आचार्य, साेनु देवकोटा, रिजन ढकाल, गाैतम केसी, सूर्य तामाङ, साकार गजुरेललगायत खेलाडी छन् ।
अंक तालिकाकाे चाैथाे स्थानमा रहेको कर्णालीले आजकाे खेलमा जीत निकाल्दै स्थान सुधारलाई निरन्तरता दिन चाहन्छ भने बागमती प्रदेशको टीमले पनि कर्णालीलाई हराउँदै अंक तालिकाकाे माथि उक्लिन चाहन्छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा शनिबारसम्म ३७ वटा खेल भइसकेका छन् ।
यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब अब भाेलि चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।