
धनगढी – चालु वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यअनुसार राजश्व संकलन गर्ने नसकेको कैलाली भन्सार कार्यालयले दोस्रो चौमासिकमा पनि लक्ष्य अनुसार राजश्व सकंलन गर्न सकेको छैन।
भन्सार कार्यालयले दोस्रो चौमासिक अर्थात मंसिदेखि फागुन मसान्तसम्म लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको हो।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले माल सामान आयात नहुँदा राजश्व संकलन हुन नसकेको बताए।
‘धनगढी आउने मालवस्तु पनि नेपालगन्ज कता–कता बीरगन्जबाट आइरहन्छन्। पारि इन्डियन कस्टममा पनि अवरोध नै छ। रावलले भने, ‘बजार सुनसानै छ नि। पेट्रोलियम पदार्थले गर्दा अलि कति वृद्धि भएको हो।’
चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिकसम्म) कैलाली भन्सार कार्यालयले लक्ष्य भन्दा एक अर्ब नौ करोड ९४ लाख ६७ हजारले कम राजश्व संकलन गरेको थियो। पहिलो चौमासिकमा तीन अर्ब ५१ करोड ३३ लाख ६२ हजार लक्ष्य रहेकोमा कैलाली भन्सारले दुई अर्ब ४१ करोड ३८ लाख ९५ हजार राजश्व संकलन गरेको थियो।
कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य कम छ। तर पनि लक्ष्य अनुसारको राजश्व भने संकलन गर्ने सकेको छैन। कैलाली भन्सार कार्यालय चालु आर्थिक बर्षमा ११ अर्ब १६ करोड २६ लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ।
भन्सार कार्यालयको चालु वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा सात अर्ब १३ करोड ६१ लाख ४७ हजार लक्ष्य रहेकोमा पाँच अर्ब ३४ करोड १९ लाख ४१ हजार मात्रै राजश्व संकलन भएको छ। संकलित राजश्व वार्षिक लक्ष्यको ४७।८६ प्रतिशत हो। भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिकमा पनि लक्ष्य अनुसार राजश्व संकलन गर्ने सकेको थिएन।
गत आर्थिक वर्षको दोस्रो चौमासिकमा सात अर्ब ५६ करोड १६ लाख ५६ हजार लक्ष्य रहेकोमा पाँच अर्ब एक करोड ३० लाख २० हजार मात्रै राजश्व असुली गरेको थियो। भन्सार अधिकृत रावलका अनुसार गत वर्षको भन्दा यस वर्ष लक्ष्य नपुगेको भएपनि राजश्व संकलनमा वृद्धि नै भएको छ। माल वस्तु आयात हुन सकेन भने वार्षिक लक्ष्य अनुसार राजश्व संकलन हुन नसक्ने उनले बताए।
चालु आर्थिक वर्षको राजश्व संकलन लक्ष्य गत वर्षको तुलनामा ४१ अर्ब १९ करोड आठ लाख ४० हजार कम हो। गत आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार मात्रै राजश्व संकलन भएको थियो। जुन लक्ष्य भन्दा झण्डै ३१ दशमलव ६४ प्रतिशत कम अर्थात ६८ दशमलव ३६ प्रतिशत मात्रै राजश्व असुली भएको थियो।