
दाङ– उपप्रधानमन्त्री कृष्णबहादुर महरा यात्रु बनेर दाङ तुलसीपुरस्थित टरीगाउँ एयरपोर्टमा उत्रिए। उनीसँगै साथमा दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हिराचन्द्र केसी, सल्यान जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित एमाले नेता प्रकाश ज्वाला, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे यात्रु बनेर दाङ आइपुगेका हुन्।
‘हाइप्रोफाइल’ यात्रु लिएर समिट एयरले काठमाडौँबाट दाङका लागि उडान भरेको हो। यही उडानले दाङ जिल्लामा हवाई सेवा सुचारु भएको छ। तीन वर्षअघिदेखि हवाई सेवा बन्द भएको तुलसीपुरस्थित टरीगाउँ एयरपोर्टमा आइतबार पुनः प्लेन अवतरण गरेको छ।
तुलसीपुरमा रहेको टरीगाउँ एयरपोर्टबाट समिट एयरले आइतबारदेखि उडान सुरु गरेको हो। तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच भएको सहमतिअनुसार आइतबारदेखि समिट एयरले उडान सुरु गरेको हो। समिट एयरको विमान १ बजेर ९ मिनेट जाँदा टरीगाउँ एयरपोर्टमा अवतरण गरेको थियो।
१८ जना यात्रु लिएर आएको जहाज सिटक्षमता अनुसार १८ जना यात्रु लिएर एक बजेर ४३ मिनेट जाँदा काठमाडौँका लागि उडेको थियो। जहाजबाट ओर्लिने क्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमाले नेता तथा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र सयौँ सर्वसाधारणले पाइलट र कोपाइलटलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए।
समिट एरले हप्तामा दुई दिन आइतबार र शुक्रबार दाङ-काठमाडौँका लागि उडान भर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताए। ‘अब नियमित हवाई सेवा सुरु हुन्छ,’ पाण्डेले भने, ‘दाङको विकास र समृद्धिको ढोका खुलेको छ।’

टरिगाउँ विमानस्थलमा ओर्लँदै उपप्रधानमन्त्री कृष्णबहादुर महरा। तस्बिर: देशसञ्चार