
पोखरा – तपाईं काम गर्नुपर्यो भने कत्तिको खुशी हुनुहुन्छ? अझ माटोसँग पैठेजोरी खेल्दै धुलोमैलो हुनुपर्दा कस्तो महसुस गर्नुहुन्छ?
हिराबहादुर थापा भने माटोसँग खेल्ने भने हुरुक्कै हुन्छन्। बिहानदेखि साँझ घाम नढल्दासम्म उनी मितेरी गाँस्दै माटोको सुगन्धमा रमाउँछन्, हराउँछन्। अंकुराएका तरकारीका बिरुवालाई सन्तानलाई जस्तै माया गरे हुर्काउँछन्। लहरामा फूलेका/फलेका बालीलाई सुम्सुम्याएर थाक्दैनन्। फलेका तरकारी टिपेर बजार पुर्याएर थाक्दैनन्।
चैत वैशाखको बेला तनहुँको भीमाद नगरपालिका–९ पाइमीवासीलाई खानेपानीको जोहो गर्नलाई सकस नै हुन्छ। दुई तीन दिन बिराएर आएको पानी नपुर्याए पँधेरीमा जानुपर्छ। हिराबहादुरले त्यही गाउँमा जुकुने फर्सी र गोलभेंडा फलाएर बजारमा पुर्याइसके। काँक्रो, करेला, अकबरे खुर्सानी, फर्सी सिंचाइ पाएर मख्ख हुँदै फूल्दै छन्।
घिरौला, बोडी, सिमी, चिप्ले भिन्डीका बिरुवा हर्लक्क बढ्दै छन्। खानेपानीको जोहो गर्नै धौं हुने गाउँमा तरकारी खेती गर्न कसरी सम्भव भयो होला? तपाईंलाई पक्कै लाग्न सक्छ। हो, हिराबहादुरलाई चैतमासको खडेरीमा पनि माटोलाई सिञ्चित गर्न पानीको समस्या छैन।
४० हजार लिटर पानी अट्ने क्षमताको प्लाष्टिकको पोखरी निर्माण गरेका छन्। वर्षातको पानी पोखरीमा संकलन हुन्छ। र खडेरीमा पनि निरन्तर सिंचाइ गरेर उनले तरकारी फलाउन सफल भएका हुन्। बेमौसममा फलेका तरकारीले बजार नपाउने चिन्ता हुँदैन। गाउँबाट बजारसम्म पनि झर्नु पर्दैन। त्यसलै त उनी भन्छन्, ‘माटोमा खेल्न एकदम खुशी लाग्छ। घण्टा, दिन गएको थाहै हुँदैन। जिन्दगीमा एकदम खुशी छु।’
५८ वर्षीय हिराबहादुर काठमाडौँ, शुक्लागण्डकी हुँदै गाउँ उक्लिएका छन् खेती गर्नलाई नै। पहिला उनी धन कमाउन परिवार छाडेर विदेशिए। मरुभूमि उनलाई ‘फापेन’। भनेजस्तो कमाई गर्न नसकेपछि उनी देशमै फर्किए।
विदेश छाडेर देश फिरेका उनले २५ वर्ष पहिले काठमाडौँको थानकोटमा परिवार पाल्नकै लागि खेती किसानी सुरु गरे। न अनुभव थियो न त पर्याप्त लगानी। श्रवणशक्ति कमजोर भए पनि हिराबहादुरले इच्छाशक्तिको पहाड अग्लाए। माटोमा पानी र मल मिसाएर जिन्दगीलाई फूलाउने प्रण गरे।
तीन दिने कृषि तालिम लिएर गोलभेंडा खेती सुरु गरेका उनको कृषि गुरु रेडियोमा बज्ने ‘कृषि कार्यक्रम’ बन्यो। ‘अहिले त युट्युबमा आउँछ। पहिला रेडियोमा कार्यक्रमहरु आउँथे। रेडियो सुनेर काउली, बन्दा, केराउ लगाउन थालेँ’, उनी भन्छन्, ‘पछि त सिक्दै करेला, घिरौंला फलाएँ। मेरा बालबच्चाहरुलाई यसैबाट पढाउन सकेँ।’
चार छोराछोरीलाई तरकारी बेचेर पढाएका उनी अहिले गाउँ उक्लिएका हुन्। दुई छोराछोरी विदेशमा छन्। बिरामी श्रीमती र एक छोरा काठमाडौँमै बस्छन्। राजधानीमा जग्गा भाडा चर्को भएपछि उनी तनहुँकै शुक्लागण्डकीमा आएर ४ वर्ष खेती गरे। त्यहाँ अत्याधिक गर्मीका कारण गोलभेंडा राम्रो नफलेको कारण गाउँ आएको हिराबहादुर सुनाउँछन्। पहिला गाउँमा परीक्षण गरे, गोलभेंडा राम्रो फल्यो। त्यसपछि उक्लिए सीप र इच्छाशक्ति बोकेर।
एक्लै गाउँ उक्लिएका उनी बाँझिएको ७ रोपनी जग्गामा दुई वर्षदेखि तरकारी फलाइरहेका छन्। पोहोर साल तरकारीमा हाल्ने पानीको अभाव निकै खेपेका उनले पाठ सिके। लाग्यो पोखरी त चाहिन्छ। भर्खर गाउँमा लगानी सुरु गरेका उनले छोरीछोरीसँग पोखरी बनाउने पैसा मागे।
‘बच्चाहरुलाई भनेँ एउटा पोखरी बनाउन पर्छ कि पैसा चाहियो। पोखरी बनाएको छु प्लाष्टिक राखेर’, उनी भन्छन्, ‘माघसम्म धाराको सदुपयोग गरेर खपत भइराथ्यो। फागुन लाएपछि मौज्दात गरेको पानी प्रयोग गरेको छु।’
तरकारीलाई सिंचाइसँगै चाहिने मलका लागि आफैंले बस्तुभाउ पालेका छन्। अपुग भए गाउँबाट ल्याउने उनले सुनाए। गाउँ फर्केर सुरुआतमा उनले तरकारी खेती गर्न डेढ लाख रुपैयाँ लगानी गरेको जानकारी दिए। यो वर्ष उनले तरकारी बेचेर तीन लाख रुपैयाँ बढी कमाएका छन्। खर्च निकै कम छ। मल बोक्नबाहेक ज्यालामा काम नलगाउने उनले उल्लेख गरे।
कमाइभन्दा पनि उनले आफूलाई खुशी बनाएका छन्। ‘मेरो बच्चाहरुले पनि बाबा माटोमै खुशी छ। त्यै भएर माटोमै खेलिराखेको छ, जिन्दगी गुजारिरहेको छ भन्छन्’, मुस्कुराउँदै हिराबहादुर सुनाउँछन्, ‘माटोमा खेल्दा एकदम खुशी लाग्छ। किनभने समय, दिन महिना गाको थाहा हुँदैन। आफ्नो जिन्दगीसँग एकदम खुशी छु।’
उनकै शब्दमा भन्दा काम गर्न नपाए उनलाई टेन्सन हुन्छ। जब माटोसँग खेल्छन् तब टेन्सन दूर हुने हिराबहादुरले सुनाए।
कुराकानीकै क्रममा विदेशको दुख र स्वदेशमा गरेको दुखलाई दाँज्छन्। निष्कर्ष निकाल्छन्ः ‘देशमा त कति हो कति सुख छ।’ किन? ‘यहाँ सुख छ। किनकि त्यहाँ अर्काको अधिनमा हिँड्नुपर्छ। यहाँ आफ्नो अधिनमा बाँच्न पाइन्छ’, वार्तालापमा उनको जवाफ थियो, ‘त्यस्तो गर्मी ठाममा काम नगरी भएन। गरेन भने भोलिपल्ट नै टिकट काटेर पठाइदिन्छ। यहाँ त आफ्नो खुशी भयो। कसैको लक्काझक्का छैन।’
तरकारी खेतीलाई बढाउने सोंचमा रहेका हिराबहादुरले बंगुर पालन पनि सुरु गरेका छन्। ‘कुहिने, छिप्पिएको तरकारी खेर जाँदैन। त्यो बंगुरले खान्छ। बंगुरको मल हुन्छ’, उनले सुनाए।
तरकारी खेतीको क्षेत्रफल विस्तारमा हौसिएका हिराबहादुर बजारको अभाव देख्दैनन्। ६ वर्षमा उनले बजारमा सम्बन्ध बढाएको बताउँछन्।
‘भीमाद नभए दुलेगौंडा। दुलेगौंडा नभए खैरेनीमा बिक्छ’, उनी भन्छन्, ‘गोलभेंडा र केही तरकारी त गाउँमा खपत हुन्छ। किनकि बजारबाट किनेर ल्याउनुपर्ने हुन्छ। उताबाट ल्याउनुभन्दा १० रुपैयाँ कम लियो भने आफैंलाई नाफा हुन्छ।’
गाउँमा सबैले एउटै खेती गर्न थाले मात्रै बजारको समस्या आउन सक्ने उनको अनुमान छ। बजारको चक्र मिल्ने गरेर गाउँमा कृषि कर्म अपनाउनुपर्नेमा उनको जोड छ। सबै किसान सबै उपभोक्ता हुँदा समस्या नहुने उनको तर्क हो।