
वेदशास्त्रप्रभादज्ञःसिद्धिचित्तश्च कोमलः
सुकुमारो नृपैः पुज्यः कविःसिद्धार्थिजो नरः
वेदवेदांग धर्म संस्कार संस्कृतिको रक्षा विद्वान्हरूको जमघट राष्ट्र/राष्ट्रियताबारे एकता, सद्भाव सहकार्यमा अग्रसर गराउने काम गर्नेछ। वैरभाव अन्त्य गर्दै मेलमिलापमा बल पुर्याउनेछ।
यस वर्ष सिद्धार्थीनाम संवत्सर परेको छ। संवत्सरको फल भने शुभ रहनेछ। यष वर्षको राजा सूर्य हुने, मन्त्री पदमा चन्द्रमा छन्। सूर्य र चन्द्र परस्पर मित्रग्रह हुन्। राजा र मन्त्रीको मित्रभावमा गठित ग्रहरूले आ–आफ्नो जिम्वेवारीमा दत्तचित्त भएर काम गर्नेछन्। यो नेपालका लागि ऐतिहासिक वर्ष यसकारण बन्नेछ कि दुवै ग्रह नेपाल र नेपालीको हितमा काम गर्न तत्पर रहनेछन्। नेपालको राशिदेखि नवौं र दशम घरको मालिक नै राजा र मन्त्री बनेका छन्।
अर्को महत्वपूर्ण कुरा के छ भने हाम्रो राष्ट्रिय झण्डा चन्द्रसूर्य अंकित छ जो यस वर्षको राजा र मन्त्री छन्। अग्नि तत्व ग्रह र जल तत्व संयोगले वर्षामा खण्डवृष्टि, अतिवृष्टि देखिए पनि वर्षाको अवस्था राम्रो रहनेछ। वर्षफल बनाउँदा वर्षको राजा मन्त्री वर्षारम्भको लग्न, लग्नको मालिकको अवस्था पनि महत्वपूर्ण हुन्छ। यी सबैलाई हेर्दा यस वर्ष वर्षारम्भ मेष लग्नमा भएको छ। लग्नमा पञ्चमेश सूर्य उच्च भई बसेको छ।
भाग्येश तथा द्वादशेश गुरु द्वितीय भावमा, सप्तममा चतुर्थेश चन्द्रमाको शुभ प्रभाव छ। सूर्य, वृहस्पति नेपाल देशको द्वितीय पञ्चमाधिपति गुरु दशमाधिपति सूर्य शक्तिशाली लग्नमा छन्। देशको राशिको द्वितीय पञ्चको भावको मालिक वर्ष लग्नदेखि नवौँभावको मालिक गुरु द्वितीय भावमा बसेको हुँदा देशका बौद्घिक व्यक्तिहरू मिलेर वैज्ञानिक कार्यमा अग्रसर हुनेछन्। वैज्ञानिक कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग पर्याप्त मिल्नेछ।
ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ। कृषि क्षेत्रको अवस्था सन्तोषप्रद रहला, फलफूल तथा तरकारी, दूध एवं रस पदार्थ उत्पादनमा वृद्धि हुनेछ। दशमको मालिक सेनापति ग्रह मंगल निच भई चतुर्थमा गुरुको नक्षत्रमा बसी दशममा उच्च दृष्टि दिएको छ। सप्तम एकादशमा समेत दृष्टि रहने हुँदा देशको बेथिति र विसंगतिले बढाउने भएकाले द्वन्द्व समाधानका निमित्त समन्वयका खातिर सुरक्षा संयन्त्र सक्रिय हुने सम्भावना छ।
यो योग आगामी जेठ २२ साँझसम्म रहनेछ। बुध, शनि, राहु तथा शुक्रसमेत वर्ष लग्नदेखि बाह्रौँ बसेकाले वैदेशिक व्यापारमा प्रशस्तै घाट हुने देखिन्छ।
राजस्वमा पनि गिरावट आउने योग छ। अलि अलि ब्यापार भए पनि आयातमुखी भएकाले सामान्य आर्थिक वृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पुँजी निकै कमजोर हुनेछ। आर्थिक अवस्था जटिल हुनेछ। लग्नेश सुरक्षाको अधिपति देशको चतुर्थ भावमा बसेको मंगलको वर्ष लग्नको चतुर्थ भावमा २०८२ जेठ २२ गते साँझ ७ः३० बजेसम्म कायम हुन्छ।
वैशाख २३ गतेसम्म बुध निच भई मीन राशिमा जेठ ४ गतेसम्म राहु र शनि पनि वर्ष लग्नदेखि बाह्रौँ रहने हुँदा समय अत्यन्तै प्रतिकूल हुनेछ।
यो समयमा घरेलु राजनीतिक शक्तिबीच चरम द्वन्द्व हुने, मूल राजनीति तरल हुने, अराजक समूह हावी हुने, राष्ट्र असफलतातिर उन्मुख हुँदै गर्दा विदेशी चलखेल बढ्ने अवस्था सिर्जना होला। देशमा आर्थिक कठिनाइका कारण आन्तरिक कलह चरम हुनेछ। यसैलाई बहाना बनाएर पश्चिमा शक्तिको सशक्त उपस्थिति बढ्दै जानेछ। त्यो कुरा उत्तर र दक्षिणतर्फ सैह्य नहुँदा उनीहरू पनि त्यसको विरुद्धमा खुलेरै अघि बढ्नेछन्। बाह्य शक्तिको घुसपैठमा राष्ट्रिय शक्ति कमजोर हुने सम्भावना बढ्नेछ।
यस्तो स्थितिमा आन्तरिक सेनाको अनुरोधमा बाह्य सेना सूक्ष्म तरिकाले प्रवेश हुने सम्भावना बढ्नेछ। धर्माधिकारी गुरु अष्टम रहँदाको समय बाह्य विपरीत धर्महरूले राष्ट्रिय धर्मलाई निस्तेज गर्ने गरी घुसपैठ हुँदै गर्दा स्वधर्म बचाउको लागि समान धर्मावलम्वीहरू सशक्त रूपले प्रतिकारमा उत्रने हुँदा धर्म बचाउन युद्ध हुन सक्छ।
अन्ततः २०७१ साउनमै धर्मयुग आरम्भ भइसकेकोले सनातनी शक्तिले विजय हासिल गरी जनचाहनाअनुरूप कार्य गरी देश र प्रजातन्त्रलार्ई अघि बढाउनेछन्। यस वर्ष प्रतिकूल प्रभाव पर्ने देशमा वैशाख ३१ बाट गुरू मिथुन राशिमा प्रवेश हुने र मीनमा शनि पुग्नेछन्।
यो समय अमेरिका तथा हामी र हाम्रा निकट देश भारत, भुटान, चीनमा आन्तरिक कलह बढ्नेछ। यदि क्षेत्रीय शक्ति एकबद्ध नभएमा बाह्य आक्रमले संकटग्रस्त बनाउनेछ। शक्तिशाली देश रसिया, बेलायत, जर्मन, जापान आर्थिक उन्नति र आन्तरिक एकताले बलियो हुने योग छ।
चीन, भारत, फ्रान्स शत्रुबाट घेरिनेछ। चीनको कूटनीतिक अवस्था कमजोर, खर्च वृद्घि हुने अवस्था रहन्छ। संंकटका साथै दैवीप्रकोपको सम्भावना, भुटान, भारत, श्रीलंका दैवीप्रकोपको र आन्तरिक कलहबाट संकटमा पर्न सक्छन्।
अमेरिका, अष्ट्रेलिया राजनीतिक समस्यामा परे पनि आर्थिक वृद्घि राम्रै हुनेछ। युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक संकटमा पर्न सक्छन्। यस वर्षको ग्रहस्थितिले धर्म–धर्मबीच र शक्ति–शक्तिबीचको द्वन्द्व हुनेछ। मानव विनाश गराउने क्रियाकलाप बढ्न सक्छ। अन्ततः प्राचीन सभ्यता र आधुनिकताको प्रतिस्पर्धामा प्राचीन नै सर्वमान्य हुने संकेत ग्रहले गरेको छ।
यो वर्ष सत्यको जय र असत्यको पराजय सुनिश्चित हुने ग्रहगोचर छ। राजा सूर्य नेपालको राशिदेखि दशम स्थानको मालिक वर्षलग्नको पञ्चमाधिपति वर्ष लग्नमा, मन्त्री चन्द्रमा मन्त्री देशको राशिदेखि नवाँै स्थानको मालिक जो वर्षलग्नदेखि सप्तम भावमा रहेको ग्रहले राज्य सञ्चालन गर्नेछ।
देशको झण्डा चन्द्र सूर्यअंकित भएकाले अवस्थामा विकृति, विसंगतिलगायत अमानवीय कार्य ध्वस्त भई राष्ट्रलाई शक्तिशाली रुपमा विश्वसामु उभ्याउन सक्ने देखिन्छ। यहाँ मुख्य बुझ्नुपर्ने कुरा के छ भने पहिलो वर्षाधिपति, दोस्रो जग लग्न र तेस्रो देशको राशि यी तिनैलाई मिलाउँदा २०८२ खासै नराम्रो देखिन्न। वर्षारम्भमा लग्नमा ग्रहगोचर प्रतिकूल सैन्य कारक ग्रह मंगल वर्षारम्भमा देशको चतुर्थ भावमा निच भइरहने भएकोले राजनीति जटिल बन्दै जानेछ। विविध समस्या र संकट असारमा भइरहनेछ। वर्षलग्न मेषको मालिक मंगल साथै नेपाल देशलार्ई विचार गर्दा राजा मन्त्री बलवान् र देशको राशिमा बलियो देखिएको छ, राजनीतिक शक्ति विचार र विकासमा भन्दा विनाशतिर जानेहरूलाई।
सेवाग्राही सचेत भई समन्वय गर्दै सत्य र शक्ति नै अघि बढ्नेछन्। सूर्य र चन्द्र राज्यको मुख्य पदमा भएकाले राजनीतिक देशमा शान्ति र अमनचैनका लागि सैन्य शक्ति प्रयोग हुने प्रवल सम्भावना छ। नेपाल यो वर्ष अत्यन्त दुःखद क्षणलाई सुखद स्थितिमा पुर्याउन निर्णायक अवस्थामा पुग्नेछ। दैवीशक्तिको प्रभाले गर्दा विदेशी शक्ति आफ्नो अनुकूल नहुँदा पनि बाध्यताले जनचाहनाअनुरूप सहज सरल र सुखद मार्गमा जाने वातावरण यसै वर्ष बन्नेछ।
अज्ञात रोग सिर्जना हुन सक्छन्। आँधी, हुरी, समुद्री तुफान, भूकम्प, बाढी पहिरोले जनधनको विनाश वर्षारम्भमै हुन सक्छ। शनि र राहु मीन राशिमै भएकाले वायुमण्डलीय अवस्था प्रतिकूल हुने भएकाले विमान दुर्घटना हुन सक्छ।
दुर्घटनामा वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावना छ। धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका निस्तेज हुनेछ। सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दासमेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भई हुने दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस वर्ष पुनः स्थापित हुने अवसर प्राप्त गर्नेछन्।
यस वर्ष शनि अढैया दशा कर्कट, वृश्चिक राशिलाइ समाप्त हुनेछ। मकर राशिको साढेसाती सकिनेछ। मेष राशिलाई साढेसाती आरम्भ हुनेछ कुम्भ, मीनमा साढेसाती दशा रहनेछन्। अढैया शनिको प्रभाव सिंह र धनुराशिलार्ई रहनेछ।
साढेसातीको प्रभाव जन्मकालमा शनि बलियो हुनेका लागि अनुकूल र कमजोर हुनेका लागि शनिको प्रभाव प्रतिकूल रहनेछ। अढैया भने कसैलाई पनि अनुकूल हुँदैन। शनि प्रभावित मानिसले शनिबार बिहान काल भैरवमा गएर भैरवको पूजा गरी मेरो शनि दोष नाश होस् भनेर दायाँ हातमा २ मिटर कालो कपडा राखी दश कदम पछि हटेर फरक्क फर्केर हिँड्नु। यदि यो असम्भव भएमा नदीमा गएर पूजा गरी शनि दोष जाओस् भनेर २ मिटर कालो कपडा आफू उँभोतिर फर्केर बगाउने र उता नहेर्ने शनि दोष कम हुन्छ।
मेष
यष वर्ष समय अनुकूल नभएकाले संयम रहनु उचित हुन्छ। वर्ष आरम्भमै साढेसाती लाग्नेछ। वर्षारम्भमा वर्षलग्नबाट राहु र शनि बाह्रौँमा प्रतिकूल हुनाले खर्च बढ्ने, विवाद बढ्ने, झुटा आरोपको सामना गर्नुपर्दा मन खिन्न हुनेछ। बौद्धिक कार्यमा अपमान सामना गर्नुपर्ला। राज्यले महत्व नबुझेर औकातअनुसारको स्थान र मान मिल्ने छैन। पाएको जिम्मेवारी पूरा गर्न पूर्णरूपमा असफल हुनुहोला। गुरुको अनुकूलताले सन्तानबाट सुख हुने योग छ। छात्रवृत्ति हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठनपाठन गर्न पाउने बलियो सम्भावना छ।
अन्तर्राष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईँ स्वयंलार्ई र देशलार्ई सम्मान प्राप्त हुनेछ। धार्मिक कार्यमा वैज्ञानिक माध्यमले अघि बढाउन सफल हुनुहोला।
लगानीको परिणामले व्यापारमा सफलता पाउन धन कमाउन गाह्रो छ। प्रेम सम्बन्धमा ह्रास आउनेछ। नयाँ प्रेम हुने तर प्रेमले अशान्त बनाउने भएकाले प्रेममा जोड नदिनु राम्रो हुनेछ।
वैवाहिक कुरामा अवरोध आउनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिने छैन। नोकरीमा एकपछि अर्को समस्याले महत्वपूर्ण स्थान गुमाउनुपर्ने असहज स्थानमा स्थानान्तरण हुने योग छ। साउन २ बाट शनि वक्र भएकाले मंसिर ७ गते मात्र मार्ग हुनेछन्। त्यतिन्जेलसम्म मुद्दामामिलामा खर्च बढ्ने, स्वास्थ्यमा बाधा आउनेछ। शत्रु बढ्ने, नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सिर्जना गर्ने भएकाले गोपनीयता अपनाउनुहोला। चिन्ता बढ्ने भएकाले धैर्यमा जोड दिनुहोला। राशिको बाह्राँै शनिले गोचर गरिरहेकाले संयम हुनु राम्रो हुनेछ।
जेठ ४ गतेदेखि एकादश राहुको प्रवेश, भाग्येश गुरु तृतीयमा अनुकूल भएकाले धार्मिक पक्षलाई अँगाल्दै अघि बढेमा शत्रुमाथि विजय हासिल गरी अगाडि बढ्ने अवसर मिल्नेछ।
दशमेश शनिको प्रतिकूलताले काममा झैझमेला आउनेछन्। असारमा पराक्रम वृद्धि र काममा सफलता, असोजमा शत्रु पराजय र धन लाभ, माघ फागुनमा धन र मान प्राप्त हुने भएकाले महत्वपूर्ण काम गर्न यो समय राम्रो हुनेछ। जेठ, मंसिर र चैतमा खर्च बढ्नेछ। विवाद बढ्ने र स्वास्थ्यमा बाधा आउनेछ। चिन्ता बढ्ने भएकाले संयमित भएर काम गर्नु राम्रो हुन्छ। ॐ भाष्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात्।। यो मन्त्र वर्षारम्भदेखि नै जप्नुहोला।
वृष
यो वर्ष ग्रहगोचर अत्यधिक राम्रो छ। आँटेको काममा सफलता मिल्नेछ। अरुको विश्वास सजिलै जित्न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोशजाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ।
नयाँ काम पनि पाउने योग छ। गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ। अरुको मन जितेर महत्वपूर्ण काम हात पार्न सकिनेछ। सभासम्मेलनमा उपस्थित भएर वक्तव्य दिँदा ठूलो प्रशंसा पाउनुहोला।
भाग्य बलियो छ। धार्मिक कार्यमा धेरै प्रगति देखिन्छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय वर्षभरि नै अनुकूल रहनेछ। व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्य सुचारु भएर अघि बढनेछन्। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। प्ति÷पत्नीबीचको सम्बन्ध सुमधुर हुनुका साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ।
नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ। आम्दानीका अवसर प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरूले सम्झनेछन्। विद्यार्थी जीवनमा प्रेम प्रसंग अघि बढ्दा खर्चमा बढोत्तरी हुन सक्ने भएकाले संयमित हुनुहोला। चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघि बढ्नेछ। जेठ ४ गतेदेखि राहु दशममा हुने भएकाले नोकरी तथा राजनीतिमा अरुबाट तीव्र आलोचित हुने, काममा बाधा आउने चतुर्थ केतुले घरेलु समस्या र मित्रहरूको धोका दिने भएकाले गोपनियता अपनाउनु, बोल्न विचार पुर् याउनु होला। टाउकोमा राहु बसेकाले पीडा हुने हातका नसा कमजोर हुनेछन्। दाजुभाइ र सन्तान सहयोगीहरूसँग विमति रहन सक्ने भएकाले अरुको विश्वास गरिहाल्नु उचित नहोला। साउन, कात्तिक, फागुन र चैतमा महत्वपूर्ण काम सकेसम्म नगर्नु राम्रो देखिन्छ। वैशाख, जेठ, पुसमा आँटेका काम पूरा गर्न धेरै कठिन हुनेछ। समग्रमा हेर्दा यो वर्ष ऐतिहासिक वर्ष बन्नेछ।
मिथुन
यो वर्षको ग्रहगोचर समग्रमा अनुकूल छैनन्। आय र व्ययलाई हेर्दा अवस्था राम्रो रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने भए पनि आम्दानीको मार्ग बन्द भएकाले आर्थिक कठिनाइ आउनेछ।
वर्षको शुरुमा दशममा शनि र राहु, बाह्रौँ गुरुको प्रतिकूलताले नोकरी र राजनीतिमा लाग्नेहरूका लागि नराम्रा लक्षण देखापर्नेछन्। गुरू मिथुनमा प्रवेश गर्दा केन्द्रादि दोषले चिन्ता बढाए पनि गुरूको दृष्टि पाचौँ, सातौँ र नवौँ रहने हुँदा केही लाभजस्तो भए पनि शनि दशमा बक्र रहेको छ।
शनिको प्रतिकूलताले सार्थक तथा प्रशस्तै हानि हुने यात्रामा संकट आउने योग छ। शनिको दृष्टि बाह्रौँ, चौथो, सप्तम रहनेछ। शनिको दृष्टि नै प्रबल हुने हुँदा प्रेममा खटपट भइरहने, पति÷पत्नीबीच विवाद हुने, घरेलु समस्याले सताउने, मित्र तथा आफन्तले धोका दिन सक्ने भएकाले संयमित हुनुहोला।
माता, पिता र सन्तानसँगको मतभेद थप बढ्नेछ। गुरूको दृष्टि अनुकूलताले शिक्षामा सन्तानबाट सम्मान र पढाइमा सुधार आउनुको साथै सोचेर निर्णय गर्दा बौद्धिकताबाट ठूलो सफलता प्राप्त हुनेछ।
अवसरलार्ई समेट्नु राम्रो होला। नोकरी तथा राजनीतिमा गरेका प्रयास सकारात्मक रहने छैनन्। राज्यबाट पाउने सहयोग सबैजसो बन्द हुनेछ। कूटनीतिक क्षेत्र कमजोर रहनेछ। शत्रु प्रशस्त सक्रिय हुने भएकाले संयमित हुनुपर्ला। हड्डी, नसा र पेटको समस्या बढी हुने भएकाले खानपानलार्ई वर्षभरि नै ध्यान दिनुहोला।
गोपनियतामा निरन्तर रहनु उचित छ। चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकाले विपरीतलिंगीबाट टाढा रहनु वेश हुन्छ। वैशाखमा धन र मान पाउने योग छ। पराक्रम बढ्ने, अधुरा काम पूरा हुने, नयाँ कामको आरम्भ हुने, मंसिरमा शत्रु नाश र धन लाभ, चैतमा सामाजिक र राष्ट्रिय सम्मान, चैतमा प्रयास गर्दा धेरै धन कमाउन सफलता मिल्नेछ।
जेठ, असोज र माघमा खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मन चिन्तित हुने भएकाले संयमित हुनुपर्ला। नयाँ वर्ष शुभदिनमा आरम्भ भएकाले प्रयासमा सफलता पाउने योग छ। ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते। यो मन्त्र वर्षभरि बिहान–बिहान जप गर्नुहोला।
कर्कट
समग्रमा यस वर्ष ग्रह गोचर मध्यम छ। अढैया शनिको प्रकोपबाट मुक्ति मिलेको छ। वर्षारम्भको समयमा एकादश गुरू, भाग्य भावको शनि अनुकूल भएकाले वाक्सिद्धिका साथै शत्रु पराजय हुने योग छ।
बोलीको प्रभावमा अरुलार्ई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ। राज्यबाट सम्मान हुने र वैदेशिक कार्य तीब्र गतिमा अगाडि बढ्नेछन्। कूटनीतिक कार्यमा आफूलार्ई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ। कर्मभन्दा भाग्यलार्ई जोड दिनु यस वर्ष राम्रो होला।
व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ। यो सफलताको योग जेठ १ गतेसम्म मात्र रहनेछ। सबै निर्णय यसै समयमा गर्नु उचित हुनेछ। तत्पश्चात् आठाँै राहु, बाह्रौँ गुरूको प्रतिकूल प्रभावले पति/पत्नीबीचको सम्बन्धमा विग्रह हुनुका साथै नयाँ प्रेमका छाया परेर प्रेम दुस्मनीमा परिणत हुने योग छ।
चतुर्थ केतुको प्रतिकूल प्रभावले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने र विश्वासघात हुने भएकाले गोपनियता वर्षभरि नै अपनाउनुपर्ला। पेटमा समस्या भइरहने भएकाले खानपानमा ध्यान दिनु जरुरी छ। आर्थिक कारोबार अति आवश्यक अवस्थामा पनि विचार पुर् याएर गर्नु उचित हुनेछ।
नोकरीमा मुद्दा–मामिला र स्थानान्तरण हुने सम्भावना छ। ठूला व्यक्तिको सहयोग र सहानुभूतिभन्दा पनि धोका, प्रतिशोध साध्य गर्दै स–साना कुरालार्ई कोट्याएर बेलाबेला दुःख दिने प्रयत्न भइरहने हुँदा संयमित भएर काम गर्नु उचित हुनेछ।
राजनीतिमा पाएको सुविधा गुमाउनुपर्ने अवस्थासम्म आउन सक्छ। राजकाजसम्बन्धी मुद्दाले राजबन्दी बन्नुपर्ने अवस्था आउन सक्छ। असार, कात्तिक र फागुनमा व्यापारीलार्ई नोक्सानी, कूटनीतिक कार्य प्रतिकूल रहनेछ। घरेलु समस्या बढ्नेछ। वैशाख, जेठ, असोज र पुसमा प्रयास गर्दा धेरै काममा सफलता मिल्ने सम्भावना भएकाले काम गर्दा सोचेर गर्नुहोला। ॐ भाष्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात्।
सिंह
ग्रह गोचर यष वर्ष मध्यम रहनेछ। अढैयाशनिको प्रतिकूल प्रभाव वर्षभरि नै रहनेछ। बाह्रौँ निच मंगल कर्मेश शनि, राहु, बुध अष्टम स्थानमा रहेकाले राजनीतिककर्मीहरूका लागि राजकाज सम्बन्धी मुद्दामा राजबन्धी बन्नुपर्ने सम्भावनाका साथै आर्थिक रूपमा अवस्था अनुकूल देखिन्न। लेनदेनमा समस्याले चिन्तितः बन्नुपर्ने अवस्था आउनुको साथै स्वास्थ्यको अवस्था पनि राम्रो देखिन्न।
हाडजोर्नीको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ। धार्मिक कार्यमा खासै रुचि देखिन्न। बेलाबेला मन विचलित हुनेछ। जेठ १ गतेबाट गुरू अनुकूल हुने भएकाले परिश्रमबाट काममा सफलता मिल्नुको साथै शत्रु पराजय हुने, मित्रको सहयोग पाउने योग छ।
पढाइमा रुचि बढ्ने, लेखन मार्गमा सफलता मिल्ने र बौद्धिक क्षेत्र बलियो हुनेछ। नोकरी तथा राजनीतिमा बौद्धिकता उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ। राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ।
सन्तानबाट सुख मिल्नेछ। शैक्षिक उन्नतिका अवसर प्रशस्तै मिल्नेछन्। छात्रवृत्ति हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ। नयाँ घर, सवारी जोड्ने अवसर मिल्नेछ। व्यापारमा उच्च प्रगतिको योग छ। प्रेम प्रसंगले वैवाहिक मार्ग अबलम्वन गर्नेछ। विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ। जेठ, असार, कात्तिक र माघमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने र धन मनग्य कमाउने अवसर मिल्नेछ।
यो समय महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने साउन, मंसिर र चैतमा धेरै समस्या झेल्नुपर्नेछ। स्वास्थ्य सन्तुलित राख्न अलि धेरै हिँड्ने प्रयास गर्नुहोला। खानपानमा विचार पुर् याउनुहोला। नगद सहयोग गर्न बन्द गर्नुहोला। बलको काममा भन्दा वुद्धिको काममा जोड दिनुहोला। वर्षभरि नै बिहान उठेर ॐ नमः शिवाय यो मन्त्र १०८ चोटि जप गर्नु वेश हुनेछ।
कन्या
वर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ। शुरुका दिनमा गुरूको अनुकूलताले आँटेका काममा सजिलै सफलता पाउनुहोला। नयाँ कामको अवसर पनि मिल्नेछ। अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ। भाग्यले साथ दिने, धार्मिक कीर्तिका काम गर्ने÷गराउने अवसर मिल्ने र सामाजिक प्रतिष्ठा बढ्ने योग छ। कुल–कुटुम्बलाई सेवा सत्कार गरी मन जित्न सकिनेछ । कुरा काट्नेहरू आफँै निस्तेज हुनेछन्। आम्दानीका अवसर पर्याप्त मिल्नेछन्। प्रेम गर्नेहरूका लागि समय अवसर अनुकूल रहनेछ। वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको पनि सम्भावना छ।
घर–सम्पत्ति जोड्ने अवसर मिल्नेछ। बौद्धिक कार्यलाई तीव्र रूपले अघि बढाउन सकिनेछ। पढाइमा गरेका प्रयास सकारात्मक रहनेछन्। राज्यबाट सम्मान पाउने योग छ। जेठ १ गते चतुर्थ र सप्तम गुरू केन्द्रादि दोष बनाएर दशमा भावमा रहने भएकोले संयम रहनु राम्रो। मनमा चिन्ता बढ्ने, काममा अवरोध आउने, स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले खानपानमा ध्यान दिनु उचित होला। विश्वास गरेकाले धोका दिने भएकोले संयम हुनुहोला। काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन्। सहयोगी र दाजुभाइबाट समेत धोका हुन सक्ने भएकाले गोपनियतामा जोड दिनुहोला।
सप्तममा शनि स्वगृही भएकोले प्रयत्न गर्दा वैदेशिक कार्यमा सफल भए पनि अरुबाट धोका र षड्यन्त्र हुने भएकाले सबै काममा आफैँले ध्यान दिनुहोला। राजनीतिमा पाएको सुविधा जोगाउन अलि कसरत गर्नुपर्ला। असार, साउन र फागुन महिना अनुकूल हुने काममा सफलता मिल्ने शत्रु पराजय हुनेछन्। धन मनग्य कमाउने अवसर मिल्नेछ। वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन्। स्वास्थ्यमा अवरोध आउनेछ। घरेलु समस्याले सताउने र चिन्ता बढ्ने योग छ। ॐ नमो भगवते वासुदेवाय नमः यो मन्त्र बिहान–बिहान जप गर्नुहोला।
तुला
वर्षको आरम्भमा ग्रह प्रतिकूल रहे पनि जेठ १ गतेपछि गुरु मिथुन राशिमा प्रवेश गर्ने हुँदा समय अनुकूल हुँदै गर्दा परिणाम भने असारबाट मात्र हात पर्नेछ। शुरुमा अष्टम गुरूको प्रतिकूलताले स्वास्थ्य हानि, शत्रु बाधा र आर्थिक संकटले मन बिचलित बनाए पनि जेठ १ गतेदेखि भाग्यभावमा गुरू, षष्ट शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पूरा हुनेछन्।
नयाँ कामको अवसर पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। यात्रामा लाभ मिल्ने, वैदेशिक कार्यमा सफलता मिल्नेछ। विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने योग छ। व्यापारमा गरेका प्रयास सकारात्मक रहनेछन्। आफन्तको उचित सहयोग मिल्नेछ। ठूला व्यक्तिले विश्वास गर्नेछन्। परिवारबाट पनि सहयोग पाउनुहोला। घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ।
पढाइमा उन्नति सोचेजस्तै हुनेछ। वर्षारम्भमा राशिमा चन्द्रमा भएकाले स्वास्थ्यमा सुधार आउने, उच्च बौद्धिकता र मनोबल बढ्ने, मन प्रफुल्ल हुनेछ। सिर्जनशील काममा सफलता मिल्नेछ। रिस बढ्न सक्ने भएकाले संयमित हुनुपर्ला। खानपानमा विशेष ध्यान दिनुपर्ला। मित्रहरूका लागि धन खर्च हुनेछ। आफन्तलार्ई कुरा बुझाउन गाह्रो पर्ने भएकाले विचार गर्नुपर्ला। प्रेममा असफलता मिल्नेछ। नयाँ व्यापारको प्रस्ताव आउने, वैदेशिक व्यापारमा सफलता पाउने अवस्था रहेकाले त्यसमै जोड दिनुहोला।
यस वर्षको ग्रहगोचरअनुसार जेठ १ गतेपछि सफलतै सफलता प्राप्त हुनेछ। जेठ, असोज र माघमा स्वास्थ्यमा बाधा, आर्थिक संकट, मनमा चिन्ता बढ्नेछ।
असार, साउन, भदौ पुस र चैतमा अधुरा काम बन्नेछ। नयाँ काम पाउने र धन मनग्य कमाउने योग छ। आँटे सोचेका काम धेरै बन्नेछन्। ॐ नमो भगवते वासुदेवाय नमः यो मन्त्र वर्षभरि नै जप गर्नुहोला।
वृश्चिक
वर्षका ग्रह शुरुमा अनुकूल रहनेछन्। अढैया शनि समाप्त भएको अवस्था छ। शुरुमा सप्तम गुरू, कुम्भको राहु र शनि पञ्चमको अनुकूल प्रभावले गर्दा एकपछि अर्काे सफलता हात पार्न सकिनेछ। प्राविधिक कार्यमा र प्राविधीक शिक्षामा फड्को मार्न सकिनेछ।
शत्रु पराजय हुनुको साथै मित्रको पूर्ण सहयोग मिल्नेछ। नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ। सताउनेहरू क्षमा माग्न थाल्नेछन्। वौद्धिक तीब्रतामा कुटनैतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग छ। आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ। पढाइमा अरु प्रगति हुनेछ। जोश र जाँगर बढ्नेछ। अधुरा काम पूरा हुनुको साथै नयाँ काम पाउने योग छ। व्यापारमा प्रगति हुनेछ। प्रेम सफल रूपमा अघि बढ्नेछ।
वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ। आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन्। जेठ १ गतेबाट द्वितीय गुरू, अष्टम स्थानमा प्रवेश गर्दा स्वस्थ्यमा समस्या आउनेछ। मानसिक तनाव अनियन्त्रित हुने भएकाले अध्यात्ममा जोड दिनुहोला। शत्रुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। सत्य र असत्यलार्ई छुट्याउन अलि कसरत गर्नु पर्नेछ। कुरा काट्नेहरू सक्रिय हुनेछन्।
धन माल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडा राख्नुहोला। कामको मध्यमा संकट आउने भएकोले सतर्क भएर निर्णय गर्नु उचित होला।
आर्थिक लेनदेनमा विवाद बढेर मुद्दामामलाको अवस्था सिर्जना हुने भएकोले नगद कारोबार सोचेर गर्नुहोला। गोपनियता भने वर्षभरि नै अपनाउनु पर्नेछ। वैशाख भदौ, असोज, माघमा स्वास्थ्यको ख्याल गर्दै शत्रुसँग बचेर काम गरे धेरै सफलता मिल्नेछ। आषढ, कार्तिक, फाल्गुनमा स्वास्थ्य कमजोर हुने, पारिवारिक समस्या बढ्ने र आर्थिक संकट बढ्न भएकोले संयम रहनुहोला। ॐ भाष्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात्।।
धनु
यो वर्ष ग्रह स्थिति मध्यम रहनेछन्। अढैया शनिको प्रवेशले वर्षारम्भमा गुरु प्रतिकूल रहने र वर्षभरि नै एकपछि अर्को समस्याले सताउने, गरेका काममा सफलता नमिल्ने, मन अशान्त भइरहने योग छ। विवाद बढ्ने, सञ्चित धनको नास हुने, अरुबाट तीब्र आलोचना हुने योग भएकोले संयम हुनुपर्ला।
मित्रहरूले धोका दिने परिवारले साथ नदिने भएकोले समस्या अरु जटिल बन्नेछ। दाँत, मुखमा पीडा हुनेछ। अरुको काम धेरै गर्नुपर्ने तर जश नपाउने अवस्था छ। खर्च बढ्ने, आम्दानी नहुने, झुटा आरोपको सामना गर्नुपर्ने बाध्यताहरू आइपर्नेछन्। स्वास्थ्य निकै कमजोर हुनेछ। व्यापारमा संकट आउने, यात्रामा अवरोध आउने, पतिपत्नीबीच राम्रो सम्बन्ध नहुने भएकोले मन उदास रहनेछ। सन्तान तथा मातापिताबीचकोे सम्बन्धसमेत नराम्रो हुने भएकोले सबैतिरबाट एक्लिने अवस्थाले मनस्थिति बिग्रने अवस्था आउन सक्छ। पढाइमा रुचि पनि देखिन्न।
गरेका प्रयास पनि सन्तोषप्रद रहने छैन। शत्रु प्रशस्त मात्रामा बढ्नेछन्। नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना छ। राजनीतिमा प्रशस्त संकट सामना गर्नुपर्नेछ।
धर्मतिर मन नजाने, भाग्यले समेत साथ नदिने भएकोले संयम भएर अगाडि बढ्नुपर्ला। जेठ १ देखि गुरू सप्तम स्थानमा प्रवेश गर्ने, पञ्चम दृष्टि एकादशमा, तृतीयमा रहने हुँदा अवस्था परिवर्तन हुनेछ। वैदेशिक कार्यमा सफलता मिल्ने योग छ। व्यापारमा सफलता मिल्नेछ। कूटनैतिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ।
छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ। सन्तान नहुनेहरूको लागि सन्तान प्राप्ति हुने योग छ। बोलीको प्रभावमा महत्वपूर्ण व्यक्तिलार्ई आफ्नो वर्षमा लिँदै अगाडि बढ्न सकिनेछ। कुटनैतिक कार्यमा चमत्कारिक सफलता हासिल गर्दै देशका निमित्त कििर्तमान कायम गर्ने अवसर पनि मिल्नेछ।
आम्दानीका अवसरहरू धेरै मिल्नेछन्। प्रेम गर्ने अवसर मिल्नुको साथै वैवाहिक बन्धनमा बाँधिने योग छ। भुलेका विदेशका प्रेम पात्रहरूले क्षमा मागेर पुनरमिलनको प्रस्ताव राख्नेछन्। सबै काम जेठ १ पछि शुरु गर्नुहोला।
जेठ, भदौ, असोज, फाल्गुनमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ। साउन, मार्ग, चैतमा घरेलु समस्याले सताउने, मन विचलित हुने, प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनियता अपनाउनु वेस हुनेछ। ॐ नमः शिवाय मृत्युञ्जयमहादेवाय नमोऽस्तुते। यो मन्त्रको जप बिहान बिहान गरे केही लाभ मिल्न सक्छ।
मकर
ग्रह गोचर वर्षको आरम्भमा अनुकूल रहे पनि वर्षभरिकै ग्रह मध्यम रहनेछ। शुरुमा पञ्चम गुरू, तृतीय शनि र राहुको अनुकूलताले भाग्य बलियो हुने, शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानसँगको सम्बन्धमा सुधार आउने भएकोले मनोबल बढ्नेछ।
धार्मिक कार्यमा रुचि बढ्ने र व्यापारमा सुधार आउनेछ। छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ। नोकरीमा आउने अवरोध हटेर जानेछन्। राजनीतिमा आउने समस्या हटेर जानेछन्, पराक्रम बढ्ने क्रम भने यो सालभरि कायम रहने भएकाले मन बलियो बनाएर काम गर्नुहोला।
जेठ १ देखि गुरू कमजोर हुने र राहु द्वितीय भावमा, अष्टम केतुको प्रतिकूल प्रभाव हुँदा प्रेम प्रसंगतर्फ ध्यान नदिँदा राम्रो। आफूले निकट मानेका व्यक्तिहरुबाट धोखा पाइनेछ।
घरेलु समस्या घरैमा मिलाउने प्रयास गर्नुहोला। गोपनियतामा सधैँ ध्यान दिनुहोला। खानपानमा ध्यान दिनुहोला। उच्च रक्तचाप बढ्ने र खर्च धेरै हुने अवस्था आउन सक्छ।
सरकारी नोकरी प्राप्त हुन सक्छ। राजनीतिमा चारैतिरबाट आक्रमण हुनेछ। सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ। मातापिता, दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ। सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन्। पतिपत्नीबीच विवाद बढ्ने भएकाले सजग हुनुपर्ला। असार, कात्तिक, मंसिर र चैत महिनामा गरेका प्रयास सकारात्मक हुनेछ। वैशाख, भदौ र पुसमा समस्या देखा परे पनि सजिलै सामना गर्न सकिनेछ। ॐ हँ हनुमते रुद्रात्मकाय हुँ फट्। यो मन्त्रको जप बिहान–बिहान कम्तीमा १०८ पटक गर्नु राम्रो हुनेछ।
कुम्भ
समग्रमा यो वर्ष यो राशिलार्ई राम्रो रहनेछ। शुरुमा केन्द्रादि दोषयुक्त गुरु द्वितीय राहु र शनि विवाद बढ्ने, धन नाश हुने, अरुको तिब्र आलोचना हुने छ। दाँत मुखमा पीडा हुने भयोग भएपनि। जेष्ठ ४ गतेदेखि राहु राशिमा अनि जेष्ठ १ गतेबाट पञ्चम गुरूको प्रवेशले कामहरू सफलता पूर्वक अघि बढ्नेछन। द्वितीय शनिको प्रतिकूल प्रभाव परिरहेको हुँदा विवाद बढ्न सक्छ, बोल्दा विचार पुर् याउनु होला। संयम भएर काम गर्दा राहु, गुरूको अनुकूलताले जोश र जाँगर बढ्नेछ। आफ्नै प्रयासले नयाँ काम प्राप्त हुनेछन्।
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। व्यापारमा सफलता सोचेभन्दा बढी नै मिल्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेशयात्रा पनि छात्रवृत्ति हासिल गरी पढ्न जाने योग छ। कुटनैतिक क्षेत्रमा ऐतिहासिक काम गरेर आफूलार्ई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला। नोकरीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ।
राजनीतिमा आफ्नो वर्चस्व चारैतिर फैलाउन सफल भई उच्च स्थान हासिल गर्ने अवसर मिल्नेछ। बिदेसिएका र भुलेका आफन्तहरूले पुनः याद गर्नेछन्। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवसर प्राप्त होला। ठूला व्यक्तिको विश्वास पात्र हुने अवसरका साथै राजनीतिक नियुक्तिको सम्भावना बलियो रहनेछ। पतिपत्नीबिच सुमधुर सम्बन्ध हुनेछ। असल मान्छेले प्रेम प्रस्ताव राख्ने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ। साउन २ देखि द्वितीय भावमा वक्र हुने शनिले स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने र काममा अरुले अवरोध सिर्जना गर्न सक्ने भएकोले खानपानमा र अर्थिक कारोबारमा सजग हुनुपर्ला।
गोपनियतामा जोड दिनु वेश हुन्छ। बैशाख, साउन, पुस महिना राम्रो भएकोले काममा अग्रसर हुनुहोला। जेठ, असोज, माघ, चैत राम्रो नभएकोले महत्वपूर्ण काम यो समयमा नगर्नु उचित होला।
मीन
वर्ष आरम्भमा तृतीय गुरुको अनुकूल प्रभावले पराक्रम बढ्ने अधुरा काम बन्ने, नयाँकाम बन्ने, नोकरी पाउने योग छ। राजनीतिमा राशिमा एकादशेस शनि आर्थिक लाभ राम्रै होला। जेठ ४ गतेदेखि बाह्रौँ राहुको प्रतिकूलताले स्वास्थ्य सम्बन्धी कठिनाईका साथै अर्थिक कठिनाईसमेतले चिन्तित बनाउनेछ।
लेनदेनको विवाद चर्किँदा कानुनी रूपमा समेत पुग्न सक्छ। शत्रुले पाइला पाइलामा खेदो गर्नेछन्। असफलता धेरै हुँदा मनोवल कमजोर हुनेछ। परिवारको सहयोग नपाउँदा काम गर्ने आँट नआउने हुँदा सबै काम अधुरा रहनेछन्। आम्दानीका मार्ग बन्द हुने, खर्च गर्नुपर्ने बाध्यताहरूले चिन्ता बढाउने हुँदा निद्रा कम हुने भएकोले पानी धेरै पिउनुपर्ला।
विश्वास दिलाएर फसाउनेहरू प्रसस्तै हुने भएकोले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनै पनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँच आउन सक्छ। जेठ १ गते देखि केन्द्रादि दोषयुक्त गुरू चतुर्थ स्थानमा प्रवेश गर्ने र साउन २ गतेदेखि राशिमा शनि वक्र हुँदा समय झन नराम्रो हुनेछ। व्यापारमा संकट आउनुको साथै वैदेशिक कार्यमा समेत समस्या आउनेछ। राज्यको प्रतिनिधित्व गरेर असल काम गर्दा समेत दुःख पाउने, विदेश जाने प्रयास गर्दा धन नाश हुने, कुटनैतिक कार्यमा लगनशील भएर काम गर्दा पनि राज्यबाट धोका पाउनु होला। नोकरीमा संयम भएमा गुरूको दृष्टिले केही सहज, राजनीतिमा र वैदेशिक कार्यमा सफलता पाउने, धार्मिक कार्यले सहज हुने हुँदा धर्ममा संलग्न भई काम गर्नु होला। घर तथा सवारी साधनमा अनेकन समस्या आउनेछन्।
अरुसँग गरेको विश्वासले अप्ठ्यारो वातावरण निर्माण गर्नेछ। पढाइमा सफलता मिल्ने छैन। सन्तानहरूबाट सहयोग पाउने सम्भावना कम हुनुको साथै सन्तान प्राप्ति समेत समस्या आउने योग छ। पतिपत्नीबिच मतभेद, प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला। जेठ, भदौ, पुस, माघमा सूर्यको अनुकूलताले प्रयत्न गर्दा केही काम बन्ने भएकोले राम्रो काममा प्रयत्न गर्दै गोपनियताका साथ अग्रसर हुनुहोला। असार, कार्तिक, फाल्गुन प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला। ॐ नमः शिवाय।। यो मन्त्रको जप सधैँ गर्नुहोला। ॐ भाष्कराय विद्महे महातेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात्।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला।