
अ
+
अ
अ
-
काठमाडौँ- सरकारले ५२ वर्ष पुरानो शिक्षा ऐनलाई प्रतिस्थापन गर्न विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेपछि कतिपय प्रावधानका विरोधमा देशैभरका शिक्षक आन्दोलनमा उत्रिएका छन्।
विभिन्न स्थानका महिला शिक्षकहरू पनि आन्दोलनमा काठमाडौँ आइपुगेका छन्। बालबालिका हेर्नुपर्ने जिम्मेवारीमा भएका कतिपय आमा शिक्षकहरू आफ्ना बालबालिका लिएरै आन्दोलनमा उत्रन काठमाडौँ आइपुगेका छन्।
शिक्षामन्त्री अशोक राईले भदौ २७ गते ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए। विद्यालय शिक्षा (कक्षा १ देखि १२ सम्म) लाई स्थानीय तह मातहत राख्ने विधेयकको प्रस्तावमा शिक्षकहरूले गम्भीर रूपमा असन्तुष्टि जनाएका छन्।
स्थायी, अस्थायी, अनुदान, करार, प्राविधिक धार र विशेष शिक्षाका शिक्षकहरूका आन्दोलनमा विद्यालय कर्मचारीको पनि साथ छ।
आमा शिक्षकहरू बिहीबारको आन्दोलनमा पनि आफ्ना बालबच्चा च्यापेरै आएका देखिए। देशसञ्चारका फोटो पत्रकार बर्षा शाहले आफ्ना बालबालिका लिएरै आन्दोलनमा आइपुगेका आमा शिक्षकहरूको केही तस्बिर खिचेकी छन्। सिन्धुली, सुदुरपश्चिम, ललितपुर, इटरीलगायतको स्थानबाट आन्दोलनका लागि काठमाडौँ आएको बताएका छन्।