
धनगढी – सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको नतिजामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो स्थानमा आएको छ।
१४ क्याम्पसमध्ये नेविसंघले ९ क्याम्पसमा जित हासिल गरेको छ। नेकपा एमाले निकटको अनेरास्ववियुले ५ क्याम्पसमा जितेकाे छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले भने कुनै पनि क्याम्पसमा जित हासिल गर्न सकेन।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो। तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन।
शुक्रबार दिउँसाे मतगणना सकिएकाे सुदूरपश्चिमकै सबैभन्दा ठूलाे कैलाली बहुमुखी क्याम्पसमा काेषाध्यक्षबाहेक सबै पदमा नेविसंघले विजय प्राप्त गरेकाे छ। केएमसीमा ३४ वर्षपछि नेविसंघले विजय प्राप्त गरेकाे हाे। यसअघि लगातार अनेराश्ववियुले जित्दै आएकाे थियाे।
निर्वाचन समितिका अनुसार सभापति पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार सन्तोष पन्त ८२७ मतसहित विजयी भएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका पवन सुनार (अखिल क्रान्तिकारी) ले ५५८ मत प्राप्त गर्दा अनेरास्ववियुका यमराज जोशी ४२७ मतमा सीमित भए।
सचिव पदमा नेपाल विद्यार्थी संघका ओमप्रकाश वस्ती ६९७ मत प्राप्त गर्दै विजयी भए। उनका नजिकका प्रतिस्पर्धी अनेरास्ववियुका किरणप्रकाश उपाध्यायले ४९८ मत ल्याएका थिए । क्रान्तिकारीका लोकेन्द्र चौधरीले ४६६, अनेरास्ववियुका खगेन्द्रप्रसाद अवस्थीले १०९, प्राज्ञिक विद्यार्थी परिषद्का लवदेव धामीले ६५ र स्वतन्त्र उम्मेदवार किशोरप्रसाद जोशीले ६८ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा भने अखिल (क्रान्तिकारी) का धर्मराज तिमिल्सिना ६०८ मतसहित विजयी भएका छन्। नेविसंघकी प्रमिला शाह ६०४ मत ल्याएर निकै नजिकको प्रतिस्पर्धामा पराजित भइन्। अनेरास्ववियुका प्रकाश भट्टले ४९२, अनेरास्ववियुकी अंगिता चौधरीले १६३ र विद्यार्थी एकता समूहका खेमराज भट्टराईले ४३ मत प्राप्त गरे। अन्य सबै सदस्यहरु पनि नेविसंघले नै जितेकाे छ।
बिहीबार बेलुका सार्वजनिक भएकाे परिणामअनुसार टीकापुर बहुमुखी क्याम्पसमा पनि नेविसंघकाे पुरै प्यानल विजयी भएकाे छ।
त्यसबाहेक कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन्। महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी संयुक्त अखिल प्यानलका बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरेका छन्।
बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ। स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका मनोजदत्त ओझा विजयी भएका छन्। ओझा ४८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए।
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका रोशन भट्ट प्यानलसहित विजयी भएका छन्। १०१ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए।
बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन्। अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलका उम्मेदवार रहेका भण्डारी १०५ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए।
डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ। सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत पाए।
दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू विजयी भएका छन्। बडू २२२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका खडक ठगुन्नाले १९१ मत प्राप्त गरेका छन्।
दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन्। डाँगा १०५ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नरेश विष्टले १०२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार दिनेशराज पन्तले ११ मत प्राप्त गरे।
डोटीको सीताराम बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को प्यानलै निर्विरोध निर्वाचित भएको थियो। स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर निर्वाचित भएका थिए। बाजुरामा बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा भने नेविसंघका सविन रावत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। अनेरास्ववियुका सुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भए। उनका प्रतिस्पर्धी नेविसंघका मोहनसिंह पालीले ३४ प्राप्त गरे।
बझाङको जयपृथ्वी क्याम्पसमा भने सभापतिमा अनेरास्ववियुका तिलकचन्द्र बोहरा विजयी भएका छन्। उनले नेविसंघका विवेकबहादुर बोहरालाई ३ मतले पराजित गरे। बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया यसअघि नै सर्वसम्मत सभापतिमा चयन भइसकेका हुन्।