
काठमाडौँ- २०८१ मा खेलाडीहरूले दिलाएका केही यस्ता सफलताहरु छन् जसले आगामी भविष्यमा नेपालको अन्तर्राष्ट्रिय सफलताको बाटो कोरेको छ। विश्व खेलकुदको सर्वाधिक ठूलो मञ्चका रुपमा रहेको ओलम्पिक नेपालले इतिहासमै पहिलो पटक पदक जितेर आगामी वर्षहरूमा नेपालको सहभागिता मात्र होइन अब पदक जित्ने मञ्चका रुपमा स्थापित हुने यात्रामा अघि बढ्ने प्रेरणा प्राप्त भएको छ।
खेलकुद मन्त्रालय, राखेप र ओलम्पिक कमिटीमा बढ्दो राजनीतिक अस्थिरताबीच खेलाडीले पाएका केही सफलताले वर्ष २०८१ का लागि स्वर्णीम छापहरू छोड्न सफल भएको छ। खेलाडीका केही कीर्तिमान र सफलताहरु यस्ता छन्:
छनोटबाटै ओलम्पिकसम्म
नेपालका लागि ओलम्पिक सहभागिता हरेकजसो खेलाडीको लक्ष्य हुन्छ। तर त्यो लक्ष्य छनोटबाट पार गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ। यस्तोमा गत जेठ २ मा श्यान्टु श्रेष्ठ टेबल टेनिसबाट पहिलो पटक छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडी बने।
दक्षिण एसियाली टेबलटेनिस छनोटको पुरुष एकलको फाइनल खेल जित्दै स्यान्टुले ओलम्पिकका लागि स्थान पक्का गरेका हुन्। यसअघि तेक्वान्दोका संगिना बैद्य र दीपक विष्टले छनोट पार गरेर ओलम्पिक खेलेका थिए। पारा ओलम्पिक तर्फ भने पलेसा गोवर्धनले पनि छनोट चरण पार गरेकी थिइन्।
त्यस्तै विश्व ब्याडमिन्टन महासंघले युनिभार्सलिटी कोटाबाट नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पेरिस ओलम्पिकका लागि छनोट गर्यो। उनी ब्याडमिनन्टनबाट ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रच्न सफल भए।
ओलम्पिकमा ऐतिहासिक सफलता
नेपालले ओलम्पिक इतिहासमा पहिलो पटक मेडल जितेर कीर्तिमान बनाउन सफल भयो। १४ भदौमा भएको पारा ओलम्पिकमा नेपाली पारा खेलाडी पलेशा गोर्वर्धनले काश्य पदक जितेर ऐतिहासिक उपलब्धि दिलाइन। फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा उनले के-४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा रिपाचेज तर्फ सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन्।
त्यसअघि ११ साउनबाट सुरु भएको पेरिस ओलम्पिकमा भने नेपाली खेलाडीको प्रदर्शन निरासाजनक रह्यो। नेपालबाट ६ खेलका ७ खेलाडीले सहभागिता जनाए। तर कुनै पनि खेलाडीले पहिलो चरण पार गर्न सकेनन्।
पौडीमा एलेक्जेन्डर शाह र डुवाना लामा हिटचरणबाटै बाहिरिँदा ब्याडमिन्टनमा प्रिन्स दाहालले प्रारम्भिक चरणबाट बाहिरिए। त्यस्तै जुडोमा मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजी मुनिको तौल समूहमा पहिलो खेलबाटै आउट हुँदा छनोट चरण पार गरेर टेबलटेनिसमा सहभागी श्यान्टु श्रेष्ठले र सुटिङमा सुस्मिता नेपाल पनि १० मिटर एयर राइफलमा प्रतिस्पर्धाको पहिलो चरणबाटै बाहिरिइन।
एरिकाको कीर्तिमान
४ असोजमा भएको स्पर्धामा नेपालकी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथिको तौल समूहमा रजत जित्दै इतिहास बनाउन सफल। चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाइ खेल १–१ को बराबरी भएपछि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भएकी थिइन्।
सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३-० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। तर एरियका ६ असोजमा भएको फाइनलमा भने भियतनामकी एनगोवान नुगेनसँग पराजित हुँदा ऐतिहासिक स्वर्ण पदकबाट चुकिन्। यद्यपि एरिकाले एतिहासिक उपलब्धि सँगै नेपाली खेलाडीका लागि एउटा आदर्श पात्रका रुपमा आफूलाई उभ्यान सफल भइन्।
महिला भलिबलमा कीर्तिमान
यो वर्ष नेपालको राष्ट्रिय खेल भलिबलले पनि आफ्नो गतिविधिबाट सन्तुष्टि हात पार्यो। नेपालको लोकप्रिय महिला भलिबलले इतिहासमा पहिलो पटक भारतलाई हराएर कीर्तिमान बनाउन सफल भयो। १९ साउनमा काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषको कभर्डहलमा सम्पन्न भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबलमा नेपालले भारतलाई लिगचरणमा ३-२ को सेटमा पराजित गर्दै इतिहासमै पहिलो पटक भारतलाई हरायो। तर सोही प्रतियोगिताको फाइनलमा भने २३ साउनमा नेपाल भारतसँग पाँच सेटमै पुगेको खेलमा ३-२ ले हार्दै उपाधि गुमाउन बाध्य भएको थियो।
एतिहासिक रुपमा यु-१९ महिला विश्वकप छनोट र पुजाको कीर्तिमान
कार्तिक २८ मा नेपाल आइसीसी महिला यू-१९ टी-२० विश्वकपमा इतिहासमै पहिलो पटक छनोट भयो। एसियाली क्षेत्र छनोटको निर्णायक खेलमा युएइलाई ८ विकेटले हराएर विश्वकपमा स्थान बनायो। उक्त प्रतियोगितामा नेपालकी कप्तान पूजा महतो प्लेयर अफ द टुर्नामेन्ट घोषित भएकी थिइन्। साथै उनी उमेर समूहमा शतक प्रहार गर्ने पहिलो नेपाली खलाडी बनिन्। उनले ५७ बलमै कुवेत विरुद्ध शतक प्रहार गरेकी थिइन् भने उनी १ सय ३० रनमा अविजित इनिङ खेल्न सफल भइन्। नेपाल, युएइ, थाइल्यान्ड र कुवेत सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहेर नेपाल विश्वकपमा छनोट भएको हो। तर माघमा भएको यु-१९ विश्वकपमा भने नेपाल सुपर सिक्स पुग्ने अवसरबाट बञ्चित हुँदै समूहचरणबाटै बाहिरियो।
दिपेन्द्रको कीर्तिमान
वर्षको सुरुवात अर्थात ०८१ को १ वैशाखमा नेपाली ब्याटर दिपेन्द्र सिंह ऐरीले एसीसी प्रिमियर कप अन्तर्गत नेपालको दोस्रो खेलमा कतार विरुद्धको आफ्नो पहिलो इनिङको अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ इतिहास बनाए। उनले कतारका बलर कम्रान खानलाई अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। उनले वर्षको अन्त अर्थात चैतमा पनि अर्को कीर्तिमान सहित वर्षको अन्त गरे। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक धेरै इनिङमा डकआउट नहुने खेलाडीका रुपमा आफूलाई स्थापित गर्न सफल भए। उनले वेस्टइन्डिजका मार्लोन सामुइल्सको कीर्तिमान तोडे। सामुइल्स लगातार ६५ इनिङमा डकआउट भएका थिएनन् भने ऐरी लगातार ६६ इनिङमा डकआउट नभएर कीर्तिमान बनाए।
क्रिकेट र खोखो विश्वकप
यो पटक पुरुष क्रेकट टिमले दोस्रो पटक टी-२० विश्वकप खेल्दै इतिहास रच्यो। उपविजेता बनेको दक्षिण अफ्रिका विरुद्ध समूहचरणमा १ रनको हार नेपाली क्रिकेटमा संधै सम्झिने दिनका रुपमा स्थापित भयो। अर्को तर्फ नेपालको पुरुष र महिला टिमले खोखो विश्वकपमा उपस्थित मात्र जनाएन फाइनल खेल्यो।
पहिलो पटक आयोजना भएको खोखो विश्वकपमा नेपालको दुवै टोली उपविजेता बन्न सफल भए। नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा माघमा भएको विश्वकपमा नेपाल भारतसँग पराजित भएको थियो।