
पोखरा – शुक्लागण्डकीको शीरैमा भूमे भैरमकोट। डाँडाको थाप्लोमा सल्लेरी। सात सय दुरुङचुङ कोटको रुपमा चिनिने तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थानथोकको भूमे भैरमकोटमा सोमबार दिउँसो स्थानीय कौराह मज्जैले घन्कियो।
मगर समुदायमा प्रख्यात कौराहा गाउँदैनाच्दै यहाँका स्थानीयले नयाँ वर्षको उत्सव मनाएका छन्। एकअर्कालाई अंकमाल गरेर शुभकामना आदानप्रदान गरे।
भूमे भैरमलगायत भुजिकोट क्षेत्रलाई चिनाउने उदेश्यले राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता आयोजना गरिएको थियो। दौडमा सहभागी धावक र पाहुनालाई स्थानीय कौराहाले मनोरञ्जन प्रदान गरियो। तन्नेरीहरुले स्वरमा स्वर मिलाएर भाका हाले। युवतीहरुले खुट्टाको ताल मिलाउदै कम्मर मर्काए।
दुलेगौंडा, कोत्रे, र खैरेनीटारको शीरैमा पर्ने स्थानथोकको भूमे भैरमकोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि गणेश हिमालसम्मको लामो फेरो देखिन्छ।
कोट मुन्तिरको गाउँमा गुरुङ र दगाम गाउँमा मगर समुदायको बसोबास छ। भुजिकोट, दगाम क्षेत्रका चार गाउँमा होमस्टे रहेका छन्। यो क्षेत्र मौरी पालनका लागि निकै प्रख्यात छ।