
मोरङ – विराटनगरमा भारतीय नागरिकको साथबाट प्रहरीले ७ लाख नेपाली रूपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो भारतको जोगबनीका ५० वर्षीय सुधीर श्रीवास्तवलाई विराटनगरको वडा नम्बर १५ बाट पक्राउ गरेको हो।
नेपाली नम्बर प्लेटको १८ प ४१७९ को मोटरसाइकलमा सवार श्रीवास्तवलाई शंका लागेर खानतलासी गर्दा स्रोत खुल्न नसकेको सो रकम भेटिएको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
भारतबाट नेपाल आउने क्रममा पक्राउ परेका उनको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट रहेको जोशीले बताए।
अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।
श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ। प्रहरीले श्रीवास्तवबाट बरामद गरिएको रकम हुन्डी कारोबारको हुन सक्ने अनुमान गरेको छ।