
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। आइतबार दिउँसो करिब २ बजेतिर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रदर्शन गरेका हुन्।
सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देनसहित राप्रपाका ७ जना नेता कार्यक्रता पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा अध्यक्ष तथा सांसद लिङ्देनसहित, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल रहेका छन्।
पक्राउ परेकाहरू मध्ये लिङ्देनसहित शाही र तामाङलाई प्रहरी परिसर काठमाडौँमा राखिएको छ भने अन्य चार जनालाई सिंहदबारमै राखिएको परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।
उनीहरूले प्रदर्शन गर्दै गणतन्त्र मुर्दावाद, तीनकुने घटनामा न्यायीक छानविन आयोग गठन गर, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई रिहाइ गरे नारा लगाएका थिए।
उनीहरूले राप्रपाका समर्थकलाई नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न पठाएर सांसदसहित केहीले सिंहदरबारभित्र प्रदर्शन गरे। यद्यपि राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहिले नै घोषणा गरेको थियो।
सिंहदबारभित्र प्रदर्शन गर्नुपूर्व नेताहरूले प्रहरीले आफूहरूलाई बाहिर निस्कन नदिएको बताएका थिए। तर प्रहरीले आफूहरूले नरोकेको बताएको थियो।