
धनगढी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमकाे विकास गणतन्त्र आइसकेपछि आफ्नाे नेतृत्वमा मात्र गरेकाे दाबी गरेका छन्।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत मंगलबार धनगढीमा आयाेजित अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सुदूरपश्चिमकाे विकास गणतन्त्र आइसकेपछि मात्र भएकाे र त्यसकाे नेतृत्व आफूले गरेकाे बताए।
‘जनयुद्धका बेला पनि सुदूरपश्चिमकाे विशेष याेगदान रहेकाले गणतन्त्र आएपछि मेराे ध्यान सुदूरपश्चिम र कर्णालीमा फाेकस थियाे,’ उनले भने,’म प्रधानमन्त्री हुँदा पनि सबैभन्दा बढी सुदूरपश्चिम नै आएकाे छु, रेकर्ड हेर्नुहाेला।’
उनले थपे, ‘मेराे ध्यान बढी सुदूरपश्चिम र कर्णालीतिर रह्याे, किनभने हिजाेका राज्यले उपेक्षित गरेकाे पछाडि पारिएकाे ठाउँ हाे।’
प्रचण्डले दाेधारा चाँदनीमा सुख्खा बन्दरगाहा, पन्चेश्वर परियाेजना, कञ्चनपुरकाे पुनर्बासमा टेक्निकल कलेज बनाउने कुरा अघि बढेकाे, गेटामा स्वास्थ्य विश्वविद्यालयलगायत दर्जनभन्दा बढी विकास निर्माणका परियाेजना केही आफ्नै नेतृत्वमा सम्पन्न गरेकाे र केही आफ्नै नेतृत्वकाे सरकारले अघि बढाएकाे दाबी गरे।
अध्यक्ष प्रचण्डले पार्टीमा गम्भीर आत्मसमीक्षासहित जनतामाझ आएकाे बताए। उनले भने, ‘अब हाम्राभन्दा पनि विभिन्न क्षेत्रका प्रतिनिधिका कुरा सुनेर नीति बनाउने छाैँ।’
उनले राम्राे गर्न खाेज्ने पनि उस्तै, नराम्राे गर्ने पनि उस्तै भन्ने भाष्य बनाइएकाे भन्दै दुखेसाे गरे। उनले भने, ‘सामाजिक सञ्जालमा राम्रा नराम्रा सबैलाई एउटै बनाउने गरिएकाे छ, यसलाई विचार गर्न अनुराेध गर्दछु।’
साेमबार कैलालीकाे टिकापुरबाट दलबलसहित सुदूरपश्चिम प्रवेश गरेका प्रचण्ड भाेलि कञ्चनपुरकाे महेन्द्रनगर पुगेर अभियान समापन गर्नेछन्।