
यसपालि बनवासबाट भरत फर्किँदै थिए – त्यो पनि १४ वर्ष हैन, १७ वर्षपछि, १७ गते। उनी त्यही नागा र अर्जुनवाला जंगलबाट सिधै ठोरी गए। रामराज्य त्यत्तै थियो रे, एकजना पाको विद्धानले भनेको सुनेको- तर पाकोभन्दा बाको कुरा सुन्ने धेरै छन् अहिले। उनी त्यहाँ पुग्दा त दरवार सुनसान खण्डहरमा परिवर्तन भएको रहेछ। आमाबुवा , दाजुभाइ, इष्टमित्र, जनता -जनार्दन कोही देखेनन्। त्यहाँ पहिला ठडिएको देशको झन्डा हैन बरु भिन्न -भिन्न क्षेत्र, धर्म , जाति आदिको झन्डा लठिभद्र देखे। दरवारअगाडिको आफ्नो कुटी पनि भत्काएछन्, क्यान्टिन बनाउन होला। भित्ताभरि गोलीका दाग़ अनि भुइँभरि रगतको आहाल भएको त्यो कारुणिक दृश्य देखेपश्चात उनी त्यहाँ रहिरहन सकेनन् र सिधै टेम्पो चढेर हानिए जनकपुर – राजा जनकलाई भेट्न।
भरत पछाडिको सिटमा बसेका थिए। टेम्पोको आवाजले भन्दा पनि बाटोभरि भेटिएका दिनदुखी गरिब जनताको चित्कारले भरतको कानबाट रगत बग्दै थियो। टेम्पो चालकले कपास दियो र कान थुन्न आग्रह गर्यो। ‘कान थुन्यो आनन्द,’ सारथीले कानभित्र कपासको डल्लो कोच्दै भनेको वाक्य थियो त्यो।
टेम्पोका सारथी बेला -बेला भरतको हुलिया, त्यो पिठ्युँमा भिरेको धनु-बाण आदि लुकिङ ग्लासबाट चिहाउँदै थिए। त्यो दृश्य अनौठो थियो उनका लागि। मनमा अनेक कुरा खेल्न थाल्यो। प्रश्नहरु उब्ज्यो, जस्तै को हो यो मान्छे? राजा हो कि राजाको नाटक गर्ने कलाकार? कि भगवान हो? बिष्णुको अवतार हो त? साँच्चै राजा हो भने, अरु आसे – पासे खै त? हाम्रा गाणेहरुको त एकहुल मान्छे अगाडि पछाडी गर्छन्। गाणे अर्थात गण – गणका छोटे राजाहरु। खै यहाँ येत्रो मान्छेले देखिसके चोक – चोक मा, कसैले आइ लव यु, बा पनि भनेका छैनन्। कतै एलिएन त हैन, बाहिर ग्रहबाट आएको? फेरि बंशजको नागरिकता छ भन्छन्? धेरै बेरको मौनतापछि सारथीको वाक्य निस्कियो। ‘अनि तपाईँ कहाँबाट आउनु भएको हो?’
भरतले आफू १७ वर्षको बनवास काटेर फर्केको तर फर्किँदा सबै परिस्थिति परिवर्तन भएको सुनाए। यो सुनेपछि सारथीलाई चाख लाग्यो र उसले फेरि सोध्यो,’ त्यसो भए रावण बध गरेर फर्किनु भएको होला, हैन?’
भरतले भने, ‘ऊ बेलाको रावण त शिवभक्त थिए, धर्म, वेद, नियम, मर्यादाको पालना गर्थे। अहिले त एउटा हैन अनेकौँ रावण छन्, कोही मार्क्स मान्ने, कोही लेनिनको मन्त्र जप्ने, कसैलाई माओ वेद लेख्नु छ, कोही छिमेकीको नियम मान्ने, कोही रुखमा बसेर ध्यानको नाटक मात्र गर्ने,यहाँ विचित्रको लंका छ। दश टाउके रावण भन्दा यी अहिलेका तीनटाउके रावणसँग मुक्ति पाउन साह्रै गाह्रो रैछ। यहाँ त सुनको महल पनि छैन, सुन ओसार्ने तस्कर मात्र छन्।
‘भनेपछि रावणसँग भेट पनि भएन,’ टेम्पो सारथीले सोधिहाले।
‘खै, लाउडा हो कि वाइड बडी भनिने पुष्पक बिमानमा नेपाल आमालाई हरण गरेर निस्केका रे। यतै छन् भन्ने सुनेको छु। त्यहाँबाट रन्थनिएर हिँडेका, भुटानी शरणार्थीको घरमा भोजन गरेर, झापामा चिया पिउँदै , बुढी गण्डकीमा डुबुल्की मारेर, सहकारीबाट पैसा निकालेर, क्यान्टोमेन्टको हतियार किनेर, घुँडामुनि गोली हान्न ठिक्क परेर बसेका छन् रे। अघि भर्खरै सुराक पाको। अहिले कीर्तिपुरको डाँडामा ल्यापटपबाट लाइभ निगरानी गरिरहेका छन् रे,’ घोकेर कण्ठ पारे जसरी एकै सासमा उनले यो कुरा सुनाए।
अनि तपाईँ नेपाल आमालाई रावणहरुको अधिनबाट छुटाउन आको भन्नु हुन्छ, अरु बानरसेना खै त? सारथीले सोधिहाल्यो।
भरतले गुनासो पोख्दै, ‘नल र निललाई थुनेको छ रे। नललाई चाहिं बिरामी भयो भनेर छोडे क्यार। निल कारागारभित्रै छ। सुग्रिवलाई नजरबन्द गरेको छ। आफ्नै सहोदर भाइ विभिषनले मलाई साथ दियो भन्ने आरोप लगाएर, बिचरा दुर्गापूजा सकेर मार्सी भात खानै लाग्दा समातेर ल्याएर थुनेको छ रे। हनुमानको त अहिलेसम्म अत्तोपत्तो छैन। तर निस्सा बेगर अस्ति १५ गते पुच्छरले आगो लायो भनेर धुइँपताल खोजिराका छन् रे, फरार सूचीमा राखेका छन् रे। अरु बाँकी युवा सिपाहीहरु त बिदेशी नगरी पुगिसके। म बाँकी एउटोले कसरी पार लाउनु खै?
गेटमै रोकिदिउँ कि भित्र आँगनसम्मै पुर्याउनु? सारथीले जनकपुर आइपुगेको संकेत गर्यो। गफको सुरमा कति छिटै जनकपुर पुगियो। पत्तै भएन। ‘यतै रोक्देउ, कति भयो त भाडा ?’ भरतले सोध्यो।
जनकलाई देख्ने बित्तिकै कटाक्ष गर्दै भरतले भने, वाह ! देश त् यु एस ए बनिसकेछ त्। यु एस ए अर्थात युजलेस स्टेट अफ एशिया। जनकले प्रतिउत्तरमा भने, ‘यु एस ए नै त् भैइसकेको छैन ईयू चाहिँ बन्ने दिशा मै छ। ईयू अर्थात् इमर्जिङ यूजलेस।’
खल्तीबाट आशिर्वाद निकालेर तथास्तु भनेर सारथीलाई बिदा गर्यो।
टेम्पोको आवाज सुनेर राजा जनक मुख्य प्रवेशद्वारमै भरतलाई स्वागत गर्न आइपुगे, त्यो पनि हजारौँ समर्थक र देशको झन्डा सहित। यो देखेर गाणेहरुलाई रिस नउठेको हैन, तर प्रतिकार नै गर्ने अवस्थामा उनीहरु थिएनन्।
जनकलाई देख्ने बित्तिकै कटाक्ष गर्दै भरतले भने, वाह ! देश त् यु एस ए बनिसकेछ त्। यु एस ए अर्थात युजलेस स्टेट अफ एशिया।
जनकले प्रतिउत्तरमा भने, ‘यु एस ए नै त् भैइसकेको छैन ईयू चाहिँ बन्ने दिशा मै छ। ईयू अर्थात् इमर्जिङ यूजलेस।’
भरतले थपे, ‘देशमा मैले राजकाज चलाउँदा यु के भयो, यु के अर्थात् युजलेस किङडम, अब हामी गाणे – गाणे मिलेर यु ए ई बनाउँछु भन्थे त्, मलाई जंगल पठाउने बेला। यू ए ई अर्थात् युनियन अफ एसियन इकोनोमी। अझ एउटो चटकीले सिगानपुर बनाउने हो भन्दै ढोल पिटेको थ्यो, के भएछ साँच्ची ? त्यो त नाटकै हो, नौटंकी नै हो।’
जनकले धेरै कुरा लुकाउन सकेनन् र प्रखर शैलीमै भने, ‘भरत यो देश एनजीओ र आईएनजीओ हरुले बर्बाद पारे। एनजीओ अर्थात नेपलिज ग्रुप फर आउटसाइडर्स अनि आई एन जी ओ अर्थात् इन्टरनेसनल नेक्सस अफ गाडेतन्त्रवादी अर्गनाइजेसन। यो भन्दै गर्दा जनकका आँखा रसाएका थिए। राज्यमा जताततै बालेनको समर्थन छ, वालेन अर्थात् वामपन्थी लेकिन नवउदारवादी। राज्यको मूलनीति तगडा नहुँदा रविहरु यत्रतत्र छरपष्ट छन्। रवि अर्थात रंगीविरंगी विचार। के भन्ने खै देशभरि राजा नै राजा छ। राजा अर्थात् राष्ट्रिय जात्रा। तिमी बेकारै फर्किएर आयौ। तिमीलाई चित्रकुट नै ठिक थ्यो , यो बिचित्रकुट बस्न लाउक छैन,’ जनकले यतिभन्दा उनको मन भारी भएको थियो।
अनि जनताले केही भन्दैनन्? सबै चुपचाप सहेर बसेका छन् ?,’ आश्चर्यको भावमा भरतले सोध्यो।
जनतालाइ जति दुख त कसलाई छ र यहाँ। कहिले घरघरमा पाइप भनेर त कहिले हामीलाई दुईतिहाइ देऊ, फ़िउचर इज ब्राइट भनेर चण्डी हान्छन्। अहँ हुँदै-हुँदैन भ्रष्टाचार भन्छन्, जनताले सुइँको पाएपछि कि भ्रष्ट पार हुन्छ कि भ्रष्ट फरार। टारमा जग्गा यिनीहरुकै, सञ्चारमा मनग्गे यिनीहरुकै। यति पनि यिनीहरुकै त्यति पनि यिनीहरुकै। बाल मन्दिर पनि यिनीहरुकै, मन्दिरलाई बाल दिनेपनि यिनीहरु नै। जनता देख्यो कि धुँवा निस्किन्छ यिनीहरुको, त्यो पनि म्याद सक्किएको। कहिले राइट त कैले लेफ्ट भन्दै लेफ्ट राइट, लेफ्ट राइटको परेड गराएर जनतालाई गलाईसके यिनीहरुले,’ उनले भरतलाई बेलिबिस्तार लगाए।
यो सुनेर भरत जंगिए, ‘दिस इज इनफ, अब अत्ति भयो, अब नो लेफ्ट नो राइट जस्ट फरवार्ड।