दुलेगौंडा–लिलाचोक सडकमा ठेकेदारको ढिलासुस्ती

दुलेगौंडा–लिलाचोक सडकमा ठेकेदारको ढिलासुस्ती
+
-

पोखरा – शुक्लागण्डकी नगरपालिकाको केन्द्र आउने मुख्य सडक हेल्थपोष्ट चोकदेखि पुल्चोकसम्मको खण्ड पुस ६ गतेदेखि बन्द छ। दुलेगौंडा–गाछेपानी–पूरानो पुल–तिब्बतियन क्याम्प हुँदै सवारी साधान आउजाउ गर्छन्।

निकै जोखिमपूर्ण मानिएको हेल्थपोष्टदेखि पुल्चोकसम्मको सडक वैशाख अन्तिमसम्म सकाएर पूर्वपत् अवस्थामै सञ्चालन हुने शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले सार्वजनिक कार्यक्रममा दोहोर्‍याइरहे। ठेकेदारको चरम ढिलासुस्तीले मेयर पण्डितको बोली आफैंलाई गलपासो भएको छ।

विश्व बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत निर्माणधीन दुलेगौंडा– लिलाचोक सडकको सम्झौता अवधि सकिन अब दुई महिना मात्रै बाँकी छ। तर, कामको प्रगति टिठलाग्दो देखिन्छ।

यही सडकखण्ड हुँदै शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी, राइपुर र फिरफिरेका सर्वसाधारण दुलेगौंडा बजार आउजाउ गर्छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका, हरिनास र विरुवा गाउँपालिकाको पनि पृथ्वि राजमार्गसम्म निस्कने प्रमुख सडक हो।

७.१ किलोमिटर सडक निर्माणको ठेक्का आगमी जुलाई ७ मा सकिँदै छ। म्याद सकिने दुई महिना बाँकी हुदाँ एक चौंथाइ काम पनि सकिएको छैन। कार्यस्थलमा कामदार निकै कम देखिन्छन्।

एमएस बानियाँ निर्माण सेवा हेटौंडाले सडक निर्माणको ठेक्का लिएको हो। ३७ करोड १८ लाख ३६ हजार २६ रुपैयाँ २४ पैसा अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा बानियाँले २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँ ९९ पैसामा ठेक्का लिएको छ।

शुक्लागण्डकी नगरपालिकाका सहरी पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर तारापति भट्टराईका अनुसार हालसम्म २३ प्रतिशत काम भएको छ। अहिले हेल्थपोष्टमुनि ‘रिटर्निङ वाल’ को काम भइरहेको छ। ‘रिर्टनिङ वालकै काम २५ प्रतिशत बाँकी छ। ढलान र नालाको काम पनि हुनुपर्ने हो’, उनी भन्छन्, ‘डेडिकेटेड रुपमा यहाँको मात्रै काम गर्ने हो भने पनि दुई तीन महिना अझै लाग्ने देखिन्छ।’

बर्खा लागेपछि अहिले वैकल्पिक प्रयोग गरिएको दुलेगौंडा–गाछेपानी–पूरानो पुल हुँदै तिब्बतियन क्याम्प निस्कने बाटोमा सेती नदी पुलमाथि नै बग्ने कारण सवारी आउजाउ ठप्प हुने जोखिम छ।

मालेबगरमा ‘ड्रेन’ को काम भएको छ भने लिलाचोकतर्फ कटिङको काम र नालाको काम भइरहेको इञ्जिनियर भट्टराईले बताए। ‘पाइप कल्भर्ट र कल्भर्ट राख्ने काम पनि भइरहेको छ’, उनले भने।

लिलाचोक क्षेत्रको रातोमाटो भएको सडक कटिङ मात्रै गरेर राख्दा पानी पर्दा सवारी चलाउनै मुस्किल भएको स्थानीयको गुनासो छ। घाम लागेको बेला बुङबुङ्ती धुलोले आजित बनाएको उनीहरुले आइतबार निरीक्षणका लागि पुगेका शुक्लागण्डकीका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र निर्माण व्यवसायीसमक्ष गुनासो पोखे।

मेयर पण्डितका अनुसार डेढ महिनाभित्र सक्ने गरेर काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। ठूला पूर्वाधार निर्माणको काम सकिएकाले बाँकी काम छिट्टै सकिने उनको विश्वास छ।

‘हामीलाई बाटो जतिसुकै काम गरे पनि कालोपत्रे भएर सरर नदेखिएसम्म बनेको देखिन्न भन्ने हाम्रो सोच हो। तर, काम अगाडि बढेको छ’, मेयर पण्डित भन्छन्, ‘केही ठाउँमा कालोपत्रे गर्न अगाडि बढेको छ। कही कल्भर्टहरु बनेर फिलिङको अवस्थामा छन्। अरु पूर्वाधारका कामहरु करिब करिब सम्पन्न भइसकेका छन्।’

लामो समय लाग्ने काम सम्पन्न भइसकेको उनले बताए। मेयर पण्डितले भनेजसरी कामको गति छैन। बानियाँ निर्माण सेवाले निकै कम कामदार खटाएर काम गरिरहेको छ।

बानियाँ निर्माण सेवाका प्रमुख ऋषि बानियाँ निर्माण सामाग्री र कामदारको अभावले गति लिन नसकेको दाबी गर्छन्। ‘ढुंगा, गिट्टी, बालुवा भर्खरै उहाँहरुले खोल्दिनु भाको हो। निर्माण समाग्रीको चरम अभाव नै थियो नि यहाँनेर’, उनी भन्छन्, ‘हामी लागिराछौं काम सिध्याउनलाई। कार्ययोजना बनाइरहेका छौं।’

केही ठाउँमा विद्युतका पोल सार्न र सडक चक्ल्याउनलाई स्थानीयले अवरोध गरेकाले पनि समस्या रहेको उनले सुनाए। हेल्थपोष्टमुनि काम गर्ने बेलामा भने कामदार प्रशस्त खटाएको उनले बताए।

बानियाँ निर्माण सेवाले हालसम्म २ करोड १९ लाख ४५ हजार ५२३ रुपैयाँ भुक्तानी लिइसकेको छ। कामको ढिलाइका कारण सडक निर्माणको आर्थिक भार नगरपालिकामा थपिन सक्ने शुक्लागण्डकीका उमपेयर खुमबहादुर विक ‘राजु’ बताउँछन्। ऋण अनुदानमा काम भएकाले समयमै नसकिएमा नगरपालिकालाई भार थपिने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?