
चिया धेरैका लागि लत पनि हुन सक्छ। चिया कसैका लागि बाहाना। झनै युवा युवतीका लागि त सब थोक। तर, कहिले कहि मेरा लागि एक कप चिया बाध्यता बन्छ। मनले नचाहेरै पनि चिया पिउनु पर्ने। जुन दिन धेरै चिया पिउछु अनि मेरी आमाले म सानो छँदा बिहान बिहानै भन्ने गरेको त्यो कुरा सम्झिनछु अनी सोच्छु।म पनि ठूलो मान्छे भएछु।
तपाईलाई अचम्म लाग्ला मैले कसरी आफूलाई ठूलो मान्छे भएको महसुस गरे भनेर। मेरी आमाले म सानो हुँदा चिया पिउने बानि राम्रो हैन भन्दै चिया नपिउँन भन्ने उदेश्येले, हामीले सधै चियाका लागि कर गर्दा बोल्ने यो वाक्याङ्स हो। तर, आज त्यो सत्य जस्तै लाग्छ।म पनि ठूलो भएछु की ?
चियाको यती महत्व बढ्न थाल्यो की घरमा आएको पाहुनाई स्वागत स्तकार गर्नु परेमा पहिलो रोजाई चिया।हरेकले पहुनालाई चियाले स्वागत गर्छन्। कुनै पार्टी, सेमिनार, मिटिङ वा अन्ये कुनै पनि प्रकारका कार्यक्रम भएपनि चियाको व्यावस्था गरिएको हुन्छ। त्यसैले पनि चियाको महत्व बढेको हो। यिनै कारणले गर्दा म पनि कहिलेकाही चिया चाहेभन्दा बढी पिउन बाध्ये हुन्छु।अनि सम्झिन्छु म पनि ठूलो मान्छे भएछु।
तर, आजभोलि युवा युवतीका लागि चिया पिउनु एक बाहना बनेको छ। कफी सप वा चिया पसल एक डेट स्थल बनेको छ। जहाँ बसेर कैयौ मायालु जोडीले आफ्ना मनका कुरा गर्ने गर्दछन्। कसैसँग भेट्यो की के खाने ? भनेर सोध्दा सहज उत्तर हुन्छ-चिया। तलतल मेटाउने बहाना हो– चिया। चुस्की लगाउँदै एक–अर्काका कथा साट्ने बहाना हो– चिया। अनि त्यो ठाउँ बन्यो चिया पसल।
विश्वमा चिया सबै स्थानमा लोकप्रिय छ। चियाको प्रचलन बढदै गएकोले परम्पराभन्दा केही फरक किसिमको चिया पसलको व्यवसायको सम्भावना जहाँ पनि छ। विश्वमा चियाको प्रयोग २० प्रतिशतले बढिरहेको छ।त्यसैले आजाभोलि युवा युवतीहरु विभिन्न किसिमको चिया खाँदै गफगाफको थलो बनाउन उचित चिया पसलको खोजीमा हुन्छन्।जो नियमीत चिया पिउने मध्ये ६० प्रतिशत मानिसको संख्या हो।
तसर्थ काठमाण्डौंमा चिया पसलका नाममा थरीथरीका पसलहरु खुलेका छन्। यिनै चिया पसलले आज भोलि खुल्ला आकाशमुनिको एक अर्काबीचको भेटलाई पातलिदो बनाइ दिएको छ अनि त्यसलाई सारेर चिया पसल वा कफी सपलाई डेटिङ स्थल जस्तै बनाई दिएको छ।
उस्तै सजावट, उस्तै बनावट अनि उस्तै मायाका कुरा गर्ने वातावरणको सृजना गरिदिएको छ। त्यही ठाउँमा जब चिया पियक्कडहरु अर्थात चियाको चुस्कीसँग गफमा तल्लिन पात्र–पात्रहरु आफ्नो मायाको पत्र खोल्छन्। अनि तिनै मायाका मिठा-गसिप पत्र हाम्रा लागि सुन्दर कथा बन्छन्।
साँझतिर चिया पिउन भनी बानेश्वर नजिकैको एक चिया पसलमा पसेँ। कुरा साँझ ६ बजे तिरको हो। चिया पसल भित्र पसिसकेपछि मेरो आँखाले आफ्नो लागि बस्ने ठाउँ खोज्यो। पसल भित्र चारवटा टेबल थिए। तर, सबै टेबल चिया पिउने ग्रहाक भनौ या मेरा कथाका पात्र। त्यो चारै टेवल भरिएका थिए। त्यही पनि मलाई चिया पिउनु थियो। म त्यही चिया पसलमा चिया पिउन बस्ने निधो गरे।
एउटाबीचको टेबलमा एक कुर्सी खाली थियो। म त्यही गएर बसे अनि पसले दाईलाई एक कप चियाको लागि अग्रह गरे। चिया पाक्दै गर्दा मेरो कानले धेरै कुरा सुन्ने मौका पायो। सायद म त्यति बेला एक्लै भएर होला। किनकी मसँग कुरा गर्ने कुनै सहकर्मी थिएन, अनि मेरा कान ती मेरा वरिपरीका मिठा बात सुन्न थाले। सायदै तिनीहरु मायाका कुरा गर्दै थिए।
एउटा आवाज आयो अनि मेरो कान भित्र पस्यो ‘ ओइ, तेरो ब्वाइफ्रेन्डसँग झगडा परिरहन्छ है ? छोडी दे न यार अर्को केटा खोज…! ’ अर्कीले प्रतिउत्तर दिइन्, ‘छ्या ! त्यस्तो नभन यार। उसले मलाई कत्ति माया गर्छ। मात्र झगडा धेरै गर्छ।’ अर्को टेबलमा एक जोडी बसेका थिए। उनीहरु यसै बिषयलाई लिएर कानेखुसी गर्दै थिए, ‘ तिमीलाई पनि मैले झगडा गरेको दिन मलाई छोडि दिऊ जस्तो लाग्थो कि लाग्थेन? ‘
युवती आँखा तर्दै भन्दै थिइन्, ‘कस्तो कुरा गर्स्या के हजुरले ? सुन्नु भएन उस्को उत्तर ! विचराले उुले माया पनि गर्छ क्या ! राम्रो कुरा त सुन्दै नसुन्सिने है….!’ यसै बिषय उनीहरुको दोहोरी चलिरहेको थियो। तर, अर्को पट्टी एउटा समूह केटाहरुको थियो। झनै यस्ता कुरा केटाहरुले सुन्नै नहुने, सुन्यो की के बाकीँ राख्नु ! एक जना केटाले भनिहाले, ‘हो त साथीले कस्तो राम्रो कुरा सिकाइरहेको छ। मान्देऊ यार न मान्देऊ, हामी पनि त सिङ्गल छौ..?’
उनीहरुको हाँसो छुट्यो..
हा.. हा.. हा..
हास्दै जिस्काई रहेका केटाहरुमध्ये फेरि अर्कोले इसारा गर्दै भनिहाले,‘ यार, आफ्नो त गर्लफ्रेन्ड नि नै छैन। भएको भए कति माया गर्थे, कस्सम ! साथी हो कहिल्यै नि झगडा गर्ने थिएन । झनै यस्ती सुन्दरी यार ! ’ हा… हा.. हा.. गर्दै जिस्कीइरहेका केटाहरु अनि उताका केटीहरु झन के कम। दुवै टोलीको निकैबेर साथी साथीबीच कुरा गरेझै गरी माया-पिरतीको ‘दोहोरी ब्याटल’ नै चल्यो।
साायद यही मज्जा छ आज भोलिको कफि सपमा। कसैको मिलन हुन्छ त कसैको बिछोड अनि कसैले आफ्ना मनका कुरा राख्ने चौतारी बनेको छ कफी काठमाडौंका सपहरु। त्यति मात्रै होइन, युगल जोडीले पनि आफ्ना मनका कुरा र भावनाहरु पोख्ने थलोको रुपमा कफी सपको यात्रालाई निरन्तरता दिइरहेका भेटिन्छन्।
भेटगाट गर्ने डेटिङ्ग स्थल बने र नयाँ पिँढीको पार्क बन्यो कफी सप। त्यसैले पनि होला पहिले पहिले वृद्धवृद्धाहरुरुका लागि खोलिने स-साना चिया पसलहरु आजभोलि युवा पिँढीलाई मनको बह बिसाउने बिसौनी बन्दै छन् कफी सप। जय कफी सप !