
सिमकोट- हुम्लाका बेरोजगार युवायुवती सदाझैं चीनको पुराङ काउण्टीको ताक्लाकोट जान थालेका छन् । व्यापार-व्यवसाय र रोजगारीका लागि बेरोजगार युवायुवती ताक्लाकोट गएका हुन्।
सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी ( बिओपी)बाट प्राप्त विवरण अनुसार २०८२ बैशाख १ गतेयता हुम्लाबाट काम र व्यापार गर्नका लगि एक हजार दुई जना हुम्लाका बेरोजगार युवायुवती चीनको ताक्लाकोट हिल्सा नाकाबाट गएका छन् ।
यसमा २९९ जना महिला रहेका छन् भने ७०३ पुरुष रहेका छन् । ताक्लाकोटमा हालसम्मकै बढी महिला कामका लागि त्यहाँ पुगेका हुन् । हालसम्म ताक्लाकोट गएकामध्ये अधिकाँश रोजगारीका लागि गएको र केही भने फुरु व्यापारका लागि गएका छन् ।
ताक्लाकोटमा नेपालीहरू होटेल रेष्टुरेण्टमा काम गर्नुका साथै अन्य ज्याला मजदुरीको पनि काम गर्ने गर्छन् । उनीहरू अब छ देखि आठ महिना ताक्लकोटमा बसेर काम गर्नेछन् ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका स्थानीयमध्ये ७० प्रतिशतले ताक्लाकोट पुगेर काम गर्ने गरेका छन् । रोजगारीका लागि ताक्लाकोट मुख्य गन्तव्य भएका कारण लिमीबाट धेरै पहिलेबाट मानिस त्यहाँ काम गर्न जाने गर्छन्।
अन्य देशमा जान नसक्ने लिमीका बेरोजगारहरू ताक्लाकोट गएर काम गरेर कमाउने र त्यसैबाट घरव्यवहार चलाउने गर्छन् । त्यहाँ कामदारले एक दिनमा एक सय बीस युआनदेखि तीन सय युआनसम्म कमाउँछन् ।
ताक्लाकोट जान सुरु भएपछि जिल्ला प्रशासन कार्यालयबाट नयाँ सीमा पास लिनेको सङ्ख्या पाँच सय पुगेको छो । यो अवधिमा नवीकरण गर्ने सङ्ख्या ३०० बढी छ । चार सय भन्दा बढीलाई घुम्ती शिबिरमा प्रमुख जिल्ल अधिकारी नारायण पाण्डेयले सीमा पास बितरण गरेका थिए ।
चीनको ताक्लाकोट जाने समय सुरु भएका कारण सीमा पास लिनेको घुइँचो लाग्ने गरेको हो । चीनले सीमा जोडिएका जिल्लाका स्थायी बासिन्दालाई सीमानाबाट ३० किलोमिटरसम्म सो पासका आधारमा प्रवेश गर्न दिने गरिन्छ ।