
धनगढी – सुदूरपश्चिम प्रदेशमा ५० करोड ६ लाख ९३ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनले जनाएको छ। ती मध्ये प्रदेश सरकारी कार्यालयको ४४ करोड ९४ लाख ६८ हजार तथा समिति र अन्य संस्थाको ५ करोड १२ लाख २५ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
शुक्रबार महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँ समक्ष पेस गरेको छ। महालेखा परीक्षक तोयम रायाले प्रदेश प्रमुखसमक्ष सातौँ वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम संवैधानिक निकायहरूले प्रत्येक प्रदेशका सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्नु पर्ने व्यवस्था रहेको छ। सोही अनुसार महालेखा परीक्षक राया तथा नायब महालेखा परीक्षक पशुपति काफ्लेले संयुक्त रूपमा प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मियाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अनिवार्य रहेको धारणा राखे। प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गर्नु पूर्व महालेखा परीक्षक रायाले सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षमा लेखा परीक्षण गरिएका निकायको विवरण, लेखा परीक्षणबाट देखिएका बेरुजुको स्थिति, लेखा परीक्षण कार्यान्वयनको स्थिति र भविष्यमा गर्नु पर्ने सुधारलाई विवरण सहित सुनाएका थिए।
उनले १६२ निकाय तथा कार्यालयहरू ,८८ वटै स्थानीय तहको लेखा परीक्षण सम्पन्न भएको बताए। प्रतिवेदनमा सबैभन्दा धेरै नियमित गर्नुपर्ने बेरुजु रहेको छ। त्यसपछि असुल गर्नुपर्ने देखिन्छ। २६ लाख भन्दा बढी नियमित गर्नुपर्ने रकम देखिँदा २१ लाख बढी असुल गर्नुपर्ने तथा २१ लाख बढी प्रमाण कागजात पेश नभएको देखिएको छ।