
जनकपुरधाम – सिरहामा स्रोत नखुलेको ७१ लाखभन्दा बढी रकम सहित २४ घण्टामा ३ जना पक्राउ परेका छन्। शुक्रबार साँझ दाजु–बहिनीलाई स्रोत नखुलेको ५५ लाखभन्दा बढी रकम र लागुऔषधसहित र आइतबार दिउँसो १६ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पाशवानका अनुसार शनिबार साँझ करिब साढे ६ बजेको समयमा गोप्य सूचनाको आधारमा लहान नगरपालिका १२ भोटिया टोल स्थित जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटेको संयुक्त टोलीले लहान नगरपालिका २२ बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र उनको बहिनी २६ वर्षीया किरण कुमारी यादवलाई लागूऔषध र स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो।
प्रहरीले को ५ प ६९२७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध खैरो हिरोईन प्लाष्टिकसहित २२।९० ग्राम, नेपाली रु। ५१ ह्जार ४५० रुपैयाँ लिई उनीहरुको लहान स्थित घरमा खानतलासी गर्दा खैरो हिरोईन प्लाष्टिक सहित १८६ ग्राम, नेपाली रु ५४ लाख १४ हजार २८५ रुपैयाँ र भारतीय रु। ३५ हजार ७८० रुपैयाँ तथा ६ थान मोबाइल बरामद गरेको हो।
प्रवक्ता पाशवानका अनुसार पक्राउ परेका यादव यसअघि २०८० साउन १२ गते समेत खैरो हिरोईनसहित पक्राउ परेका थिए। यादव ०८० माघ ५ गतेको जिल्ला अदालतको फैसलाले ६ महिना कैद भुक्तान गरी छुटेका हुन्।
यस्तै, शनिबार दिउँसो गोप्य सूचनाको आधारमा सिरहा नगरपालिका २ स्थित महाबिर चौक देखि अन्दाजी ३० मिटर पश्चिम बसबिट्टा जाने बाटोमा भारतको जयनगरतर्फबाट आइरहेको बिआर ०६ ४६२९ नम्बरको मोटरसाईक रोकी चेकजाँच गर्दा सिरहा–१७ बस्ने ४५ वर्षीय संजय कारकलाई १६ लाख ३८ हजार नेपाली रुपैयाँ र २३० भारतीय रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शनिबार दिउँसो नै बरियारपट्टी गाउँपालिका ३ चमार टोल स्थित दुईजनालाई खैरो हिरोईन सहित पक्राउ गरिएको हो। भारतको लदनियाबाट बरियारपट्टी तर्फ आउँदै गरेको प्र २–०१–००२ प ३०६८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा औरही गाउँपालिका ३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र औरही २ बस्ने १९ वर्षीय निरज रायलाई ७१० मिलिग्राम खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएका छन। तीनवटै घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।