काठमाडौं- वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पनि पारेको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियारले छापा हान्दै अनुसन्धान सुरु गरेपछि विभागको यस्तो चेतावनी आएको हो।
विभागको विज्ञप्तिमा कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको उल्लेख छ। विज्ञप्तिमा राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने काममा संलग्न भएको भन्दै उजुरी र जनगुनासो आएको पनि बताइएको छ।
विभागले गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा नपठाउन सचेत गराउँदै टोली खटाई नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ। अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्दै सेटिङमा विदेश पठाउने कार्यमा संलग्न रहेको प्रमाण भेटिएको भन्दै गृहका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ।